धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै

धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै

धनगढी । धनगढी उपमहानगरपालिकाको मेयरमा मतगणनाको सुरुवातदेखि अग्रता लिइरहेका स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर बढाउँदै लगेका छन् । धनगढी उपमहानगरपालिका(१ को सकिएर वडा नम्बर २, ३, १८ र १९ को मतगणना भइरहेका बेला निकटतम् प्रतिद्वन्दीभन्दा हमालले झण्डै दोब्बर मतले अग्रता लिएका छन् । पछिल्लो मत परिणाम अनुसार १० हजार ३२९ मतको गणना सकिंदा हमालले चार हजार ५३८ मत प्राप्त गरेर आफ्नो अग्रतालाई कायमै राखेका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका नृपबहादुर वडले दुई हजार ११० मत कम ल्याएका छन् । वडले दुई हजार चार सय २८ मत ल्याएका छन् । नेकपा एमालेका रणबहादुर चन्दले भने एक हजार १४० मत प्राप्त गरेका छन् । मतगणनाको सुरुदेखि नै अग्रता लिएका हमाल सत्तारुढ पाँच दलीय गठबन्धनका लागि चुनौती बनेका छन् । खासगरी नेपाली कांग्रेसको गढका रुपमा चिनिने धनगढी बजार क्षेत्रको १, २ र ३ नम्बर वडामा हमालले वड र चन्दको तुलनामा धेरै मत प्राप्त गरिरहेका छन् ।