चुनावको रिमोट कन्ट्रोल अन्त कतै जाँदैछ  महरा

चुनावको रिमोट कन्ट्रोल अन्त कतै जाँदैछ महरा

दाङ — पूर्वसभामुख एवं माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले चुनावको रिमोट कन्ट्रोल अन्यत्र कतै जान थालेको दाबी गरेका छन् । स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिका लगायत केही पालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहेको प्रसंग उल्लेख गर्दै उनले दलहरूलाई बाइपास गर्ने काम हुन थालेको बताएका छन् । उनले अन्यत्रु भनेर दलबाहिरका शक्ति समूहलाई लक्षित गरे पनि यसबारे केही व्याख्या गरेनन् । घोराहीस्थित रेडियो मध्यपश्चिमको १६ औं स्थापना दिवसका अवसरमा आइतबार बिहान घोराहीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महराले यस्तो बताएका हुन् । उनले अनपेक्षित निर्वाचन परिणाम आउन थालेको पनि बताए । यसले निर्वाचन कताबाट सन्चालन भएको छ भन्ने कुरामा प्रश्न उठाएको समेत बताए । यसपटकको स्थानीय तह निर्वाचनको जारी मतगणनामा महराको पार्टी नेकपा माओवादी केन्द्रले २ स्थानीय तहमा जितेको छ भने १०७ स्थानीय तहमा अग्रस्थानमा छ ।