रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किदा तीन जनाको मृत्यु
१३ वैशाख, जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित भित्री सडक खण्डमा रोकिराखेको ना. २ ख ८६२४ नम्बरको ट्रकमा तीन जना सवार लु ८३ प ८६५२ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको धनुषा प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिएका छन् । तीनै जनाको घट्नास्थलमै मृत्यु भएको हो ।
उनका अनुसार मृतकमध्ये जनकपुरधाम उपमहानगरपालिका ४ का २० वर्षीय सुमित भिण्डेबालको मात्रै सनाखत भएको छ ।मृतक तीनै जनाको शवलाई पोष्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।