पेट्रोलियम पदार्थको हिस्सा बढ्दो

पेट्रोलियम पदार्थको हिस्सा बढ्दो

साउनदेखि चैत मसान्तसम्म मुलुकमा कुल १४ खर्ब ६६ अर्ब रुपैयाँको वस्तु भित्रियो । जसमध्ये पेट्रोलियम पदार्थ मात्रै २ खर्ब १८ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । ९ महिनाको अवधिमा कुल आयातमा पेट्रोलियम पदार्थको हिस्सा १४.९ प्रतिशत हो ।

आर्थिक वर्षको पहिलो महिना साउनमा कुल आयातमा पेट्रोलियम पदार्थको हिस्सा १०।८ प्रतिशत मात्रै थियो । क्रमिक रुपमा बढ्दै कात्तिक मसान्तसम्म १२ प्रतिशत, माघ मसान्तसम्म आउँदा १३. ६ प्रतिशत र फागुन मसान्तसम्म १४.१ प्रतिशत पुग्यो । गत वर्षको तुलनामा ८२ प्रतिशतले यसको आयात बढेको छ । गत आर्थिक वर्षको ९ महिनामा जम्मा १ खर्ब १९ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले पनि पेट्रोलियम पदार्थको आयात उच्च देखिएको हो । २०७८ साउन महिनामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ५६ डलर आसपास रहेकोमा चैत मसान्तसम्म आउँदा यो १०८ डलर आसपास रहन पुग्यो ।