शताब्दी पुरुष सत्यमोहन जोशीको  १ सय ३ वर्षको उमेरमा निधन

शताब्दी पुरुष सत्यमोहन जोशीको १ सय ३ वर्षको उमेरमा निधन

काठमाडौं । नेपाली इतिहास र संस्कृतिका ज्ञाता शताब्दीपुरुष संस्कृतिविद् सत्यमोहन जोशीको निधन भएको छ ।

ग्वार्को स्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत जोशीको आइतबार बिहान १०३ वर्षको उमेरमा निधन भएको हो ।

असोज ७ गतेदेखि अस्पालमा भर्ना भएर उपचाररत जोशीको स्वास्थ्यमा थप प्रतिकूलता देखिएपछि सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार भैरहेको थियो ।पछिल्लो पटक डेंगीको संक्रमणका सथै पिसाबमा पनि संक्रमण देखिएका कारण अस्पताल भर्ना गरिएको थियो । उहाँ मुटु र फोक्सो पनि दीर्घरोगी हुनुहुन्थ्यो ।

वि.सं. १९७७ वैशाख ३० गते ललितपुरमा बाबु शंकरराज जोशी र आमा नुगल देवीका जेठा छोराको रुपमा जन्मिनु भएका सत्यमोहन जोशी जीवन पर्यन्त साहित्य, कला र संस्कृतिका क्षेत्रमा समर्पित रहनु भएको थियो।

जहानियाँ राणा शासनदेखि २००७ सालमा आएको प्रजातन्त्रसम्म र २०१७ देखि सुरु भएको पञ्चायतदेखि २०४६ मा आएको प्रजातन्त्रसम्मका सबै उथलपुथल पूर्ण इतिहासका साक्षी रहनुभएका जोशी नेपाली र नेवारी भाषाका नाटककार र त्यसमा अभिनय गरेका कलाकार पनि हुनुहुन्थ्यो ।उहाँका अनुसन्धानात्मक कृति नेपालीमा दश, नाटक पाँच, काव्य दुई, कथा सङ्ग्रह पाँच तथा नेवारी भाषाका गरी करिब ५० भन्दा बढी कृति प्रकाशित छन्।

संस्कृतिविद् जोशी २०१२ सालमा स्थापित मदन पुरस्कार २०१३ सालमा पहिलोपटक र तीनपटकसम्म पाउने एक मात्र व्यक्तित्व हुनुहुन्छ ।

उहाँले उज्ज्वल कीर्तिमान राष्ट्रदीप, सुप्रबल गोर्खा दक्षिणबाहु, विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार लगायतका पदवी तथा पुरस्कार पाउनुका साथै काठमाडौँ विश्वविद्यालयले मानार्थ विद्यावारिधीको सम्मान पनि दिएको छ । नेपाल भाषा एकेडेमीका कुलपति समेत रहनु भएका उहाँ लाई एक सय वर्ष पुगेको अवसरमा नेपाल राष्ट्र बैंकले जोशीको तस्बिर अंकित चाँदीको सिक्का निकालेको थियो र उहाँलाई शताब्दी पुरुषको सम्मान दिइएको थियो।