सेनाले गाड्यो मृतक बालिकाको शव

सेनाले गाड्यो मृतक बालिकाको शव

१९ जेठ (बाजुरा)
बाजुराको जिल्ला अस्पतालले जिल्ला समन्वय समितिको हलमा बनाएको आइसोलेसनमा शनिबार राति मृत्यु भएकी बालिकाको शब नेपाली सेनाको टोलीले गाडेको छ । कोरोना संक्रमणबाट मृत्यु भएकी बालिका बुढिगंगा नगरपालिका वडा नम्बर १ की हुन् ।
सरकारले जारी गरेको शव व्यवस्थापन निर्दे्शिका बमोजिम समरजित गुम्लका नेपाली सेनाको टोलीले बालिकाको शव गाडेको सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले जानकारी दिए। उनको शव बडिमालिका नगरपालिका वडा नम्बर ६ को नुनेपानीमा गाडिएको सहायक प्रजिअ भण्डारीले बताए।
जिल्ला अस्पतालको आइसोलेसन कक्षबाट बडिमालिका नगरपालिकाको टिप्परमा बालिकाको शव लगिएको थियो। डोजरले खाल्डो खनेर मृतक बालिकालाई गाडिएको बडिमालिका नगरपालिका नगर प्रमुख पदम बढुवालले वताए।
आठ दिन पहिले आमाबुवासँगै भारतबाट फर्किएकी दुई वर्षीया बालिकाको स्वास्थ्य अवस्था गम्भीर भएपछि धुरालसैन मावीको क्वारेन्टाईनबाट उपचारका लागि जिल्ला अस्पतालको आईसोलेसन भर्ना गरिएको थियो। बालिकाको गएराती अस्पतालमै मृत्यु भएको हो।
बालिकाको कोरोना परीक्षणको रिर्पोट भने मृत्यु भएपछि मात्र आएको थियो। उनीसँगै २३ वर्षीया आमामा पनि कोरोना संक्रमण देखिएको छ। आमाको अहिले जिल्ला अस्पतालकै आईसोलेसनमा उपचार भईरहेको छ।
संक्रमित बसेको धुरालसैन मावीको क्वारेन्टाईन भने सिल गर्ने निर्णय गरिएको स्थानीय प्रशासनले जनाएको छ।