सुध्रेन मानवअधिकारको अवस्था,  बलात्कारकै ७४ घटना

सुध्रेन मानवअधिकारको अवस्था, बलात्कारकै ७४ घटना

०२ माघ (धनगढी)
सुदूरपश्चिमको मानवअधिकारको अवस्था अझै सुधार हुन नसकेको अध्ययनले देखाएको छ । बलात्कार, बलात्कार प्रयास, महिला हिंसा यो प्रदेशमा अत्यधिक रहेको पाइएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले गत बर्ष सन् २०१९ मा गरेको मानवअधिकार उलंघन अवस्थाको अध्ययन अभिलेखअनुसार यस प्रदेशमा ७४ जना महिला माथि बलात्कार भएको छ । ती मध्ये ५१ जना बालिका छन् । १७ जनामाथि बलात्कार प्रयास भएको पाइएको छ । ‘७५ बर्षीया बृद्धादेखि ३ बर्षीया बालिकामाथि पनि बलात्कार भएको पाइएको छ’ इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयको प्रतिवेदनमा भनिएको छ ।
इन्सेकको अभिलेख अनुसार ९ वटा बहुविवाहका घटना भएका छन् । ४६१ महिलाहरु घरेलु हिंसाबाट पीडित भएको उल्लेख छ । जातिय विभेदका ९ वटा घटना जानकारीमा आएर अध्ययन गरिएको इन्सेकका प्रलेख अधिकृत कृष्ण बिकले बताए । गत बर्ष १२ जना महिला बेचविखनमा परेका छन् ।


नागरिक तथा राजनीतिक अधिकार उलंघनको अवस्था पनि अघिल्लो बर्ष भन्दा बिग्रेको इन्सकको तथ्यांक छ । अघिल्लो बर्ष राज्य पक्षबाट नागरिक तथा राजनीतिक अधिकार उलंघनका घटनाबाट ४४ जना पीडित भएकामा गत बर्ष १ सय ६ जना पीडित भएको प्रलेख अधिकृत बिकले बताए । कैलालीमा सबैभन्दा धेरै मानवअधिकार उलंघनका घटना भएको उल्लेख गरिएको छ ।
इन्सेकका प्रदेश संयोजक खडकराज जोशीले आथिक, सामाजिक तथा सांस्कृति अधिकार प्राप्तिको अवस्था झन दयनीय रहेको बताएका छन् । ‘नागरिक तथा राजनीतिक अधिकारको अवस्थामा पहिलापहिलाका बर्षभन्दा केही सुधार देखिएको भएपनि आर्थिक अधिकार, सुशासन, शिक्षा, स्वास्थ्यलगायत मानवअधिकारका पक्षहरु यस प्रदेशमा कमजोर देखिएका छन् ।’
इन्सेकले हरेकबर्ष झै यस बर्ष पनि प्रकाशन गर्न लागेको नेपाल मानवअधिकार बर्ष पुस्तक २०२० का लागि अध्ययन अभिलेख गरिएका मानवअधिकार उलंघनका घटनाहरुको समीक्षा गर्न धनगढीमा एक कार्यक्रमको आयोजना गरि अवस्था विश्लेषण गरेको हो । प्रदेश संयोजक जोशीको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा प्रदेशसभा विधायन समितिका सभापति नेपालु चौधरीको प्रमुख आतिथ्यता रहेको थियो । सुरकक्षाकर्मी, मानवअधिकारकर्मी, नागरिक समाजका प्रतिनिधि, कानुन व्यवसायी, पत्रकार लगायतको पनि कार्यक्रमा सहभागिता थियो ।