सचिवालय बैठक टार्न प्रधानमन्त्रीको चाल

सचिवालय बैठक टार्न प्रधानमन्त्रीको चाल

३ म‌ंसिर काठमाण्डौं
प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएका छन् । एक मन्त्रीले दिएको जानकारीअनुसार आज मन्त्रिपरिषद बैठक बस्ने खबर आएको छ।
सातामा प्रायः सोमबार र बिहीबार मन्त्रिपरिषद बैठक बस्ने गरेको छ। यसपटक सोमबार तिहार परेको थियो।
आजै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको पनि सचिवालय बैठक बस्दैछ। दिउँसो १ बजे नेकपा बैठक बस्ने भनिएका बेला प्रधानमन्त्री ओलीले त्यही समय मिल्ने गरी मन्त्रिपरिषद बैठक राख्न लागेका हुन्।
नेकपाभित्र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पछिल्लो समय सम्बन्ध चिसिएको छ । कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको आलोचना गर्दै १९ पेजको प्रस्ताव पेश गरेका थिए ।
प्रचण्डको उक्त प्रस्ताव फिर्ता गरिनुपर्ने प्रधानमन्त्री ओली पक्षका नेताको भनाइ छ । तर प्रचण्डसहित सचिवालयका पाँच जना सदस्यहरूले त्यो प्रस्ताव प्रचण्डको एकल नभएकोले सचिवालय बैठकमै छलफल हुनुपर्ने बताएका छन् ।
नेकपाभित्र विवाद बढ्दै गएका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार फरकफरक समयमा अध्यक्षद्वय ओली र प्रचण्डसँग छलफल गरेकी थिइन् । गत शुक्रबार नेकपा सचिवालय बैठकमा प्रचण्डले पेश गरेका प्रस्तावमाथि आज छलफल गर्ने सहमति थियो । तर आजको सचिवालय बैठक सार्नुपर्ने पक्षमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र उनीनिकटका सचिवालय सदस्य छन् ।
सचिवालय सदस्यसमेत रहेका अर्थमन्त्री विष्णु पौडेलले मंगलबार अर्का अध्यक्ष प्रचण्डसँग भेटेका थिए। पौडेलले सचिवालय बैठक सार्न आग्रह गरेको स्रोतको दावी छ ।
अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ आज सचिवालय बैठक बस्ने पक्षमा छन् । तर अर्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली सचिवालय बैठक सार्ने पक्षमा छन्। प्रचण्डलगायत पाँच सचिवालय सदस्यहरूले प्रचण्डले पेश गरेको प्रस्ताव फिर्ता होइन त्यसमै छलफल हुनुपर्ने अडान राखेका छन् ।
पछिल्लोपटक बसेको स्थायी कमिटी बैठकका निर्णय मान्न प्रधानमन्त्री ओली तयार नभएकोजस्ता विषयमा प्रचण्डसहित पाँच सचिवालय सदस्य असन्तुष्ट छन् ।