व्यासमा हिमपात, बेंसी झर्दै गाउँले

व्यासमा हिमपात, बेंसी झर्दै गाउँले

१३ मंसिर (दार्चुला)
व्यास र अपीहिमालका उच्च भेकमा हिमपात सुरु भएको छ । मंसिर पहिलो सातादेखि मौसम बदली हुँदा हिमाली क्षेत्रमा चिसो बढेको हो । हिमपात सुरु भएपछि स्थानीयको जनजीवन कष्टकर भएको छ । ५ गाउँपालिकाका लेकहरू अहिले हिउँले ढाकिएका छन् ।
नौगाड, मार्मा, दुहु गाउँपालिकाका लेकाली भेकमा पनि हिमपात र वर्षा भएको स्थानीय बताउँछन् । अपीहिमालको घुसा, खण्डेश्वरी, सितोला, गुल्जर तथा व्यास गाउँपालिकाका छाङरु, तिंकर, बुदी तथा राप्लालगायत ठाउँमा हिमपात हुँदा यहाँको जनजीवन कष्टकर भएको अपीहिमाल गाउँपालिका ४ का कल्यानसिंह बोहराले बताए । उनले भने, ‘बिहानैदेखि पानी परिरहेको र उच्च भागमा हिउँ पर्दै छ ।’ गाउँमाथिका उच्च डाँडाहरूमा यसअघि नै हिमपात भएको थियो । जिल्लाका तल्लो भेकमा फाट्टफुट्ट वर्षा भएको स्थानीयले बताए ।
छाङरु र तिंकर गाउँका केही सर्वसाधारण कुञ्चा (बसाइसराइ) सरिसकेका छन् । केही अझै सर्ने तयारीमै छन् । आधा बढी स्थानीय बासिन्दा कुञ्चा लिएर सदरमुकामका लागि हिँडिसके पनि केही तयारीमै रहेको व्यास गाउँपालिका १ का वडाध्यक्ष अशोकसिंह बोहराले बताए । ‘तिंकर गाउँका एकरदुई परिवारबाहेक सबै झरिसकेका छन्,’ उनले भने, ‘छाङरुका केही परिवार गाउँमै छन् ।’
यसअघिका वर्षमा व्यासका कुञ्चा मंसिरको पहिलो साता नै बेंसी (सदरमुकाम) झरिसक्थे । यसपालि कालापानी क्षेत्रमा देखिएको समस्याले ढिला गरी कुञ्चा सारिएको उनले बताए । स्वदेशबाट बाटो नहुँदा यहाँका स्थानीय भारतीय बाटो प्रयोग गरी बसाइ सर्नुपर्ने बाध्यता रहेको बोहराको भनाइ छ । हिमपातपछि चिसो बढे पनि आकाशे पानीको भरमा खेती गर्नुपर्ने पाखोबारी भएका कृषक भने खुसी छन् । थोरै मात्रामा पानी नपरे पनि हिउँदे खेतीलाई राहत पुग्ने उनीहरूको भनाइ छ । कान्तिपुरबाट