रोगबाट बचाऔं, भोकबाट बचाऔं

रोगबाट बचाऔं, भोकबाट बचाऔं

सुदूरपश्‍चिम प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

१९ जेठ (धनगढी)
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष ०७७,०७८को नीती तथा कार्यक्रम प्रस्तुत गरेको छ । बजेट पेश गर्नुभन्दा दश दिनअघि सोमबार प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम केही परम्परागत तथा केही महत्वाकांक्षी योजनाहरु अघि सारिएका छन् ।
प्रदेश प्रमुख शर्मिला कुमारी पन्तले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सरकारले आगामी आर्थिक वर्षमा कोभिड १९ को असरले थला परेको अर्थतन्त्रलाई पूर्ववत अवस्थामा फर्काउने कार्यक्रममा जोड दिएको उल्लेख गरिएको छ ।
नीति तथा कार्यक्रममा कोरोना भाइरसको संक्रमण र लकडाउनबाट परेको असर घटाउन विशेष आर्थिक कार्यक्रम ‘रोगबाट बचाऔं, भोकबाट बचाऔं’, ’मेरो विशेष योग्यता मेरै प्रदेशका लागि’, कामका लागि खाद्यान्न कार्यक्रम, बालिका विमा कार्यक्रम, रोजगार गुमाएकालाई कृषि कार्य गर्न विना धितो कर्जालगायतका केही नयाँ कार्यक्रमलाई नीति तथा कार्यक्रमा समेटेको छ ।
यस्तै, सेती र महाकालीलाई विशिष्ट सेवा दिने अस्पतालमा विकास, जलस्रोतमा लगानी नागरिकको आम्दानी, प्रदेश विश्वविद्यालयको स्थापना गरी कृषि शिक्षा तथा अनुसन्धानलाई महत्वका साथ अघि बढाउने सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । धनगढी, महेन्द्रगर र डडेलधुरामा कोभिड संक्रमणको उपचारका लागि पूर्वाधार विकास गर्ने उल्लेख गरिएको छ ।
प्रादेशिक यातायात गुरु योजना निर्माण गरेर आगामी वर्ष २१४ किलोमिटर सडक निर्माण गने सरकोको कार्यक्रम छ । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान स्थापना, योजना आयोगलगायत अन्य संरचनाहरुको गठनमा जोड दिने नीति प्रदेश सरकारले लिएको छ ।
प्रमुख प्रतिपक्षी दलका प्रदेशसदस्यहरुले भने नीति तथा कार्यक्रम परम्परागत रहेको बताएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले कोभिड १९ को असर न्यूनिकरण अहिलेको मुख्य सवाल भएपनि त्यसतर्फ दुरदर्शिता प्रकट नभएको बताए । ईकान्तिपुरबाट