‘युवाहरु चर्चित हुने नाममा बिना अध्ययन बोल्छन्’

‘युवाहरु चर्चित हुने नाममा बिना अध्ययन बोल्छन्’

काठमाण्डाै – नेपाली युवाहरुलाई सामाजिक सञ्जालमा चर्चित हुने नाममा बिना अध्ययन बोल्ने गरेकाे आराेप लाग्ने गरेकाे छ । ग्लोबल युथ पार्लियामेन्टले शुक्रबार साँझ आयोजना गरेको भर्चुअल अन्तक्र्रियामा वक्ताले युवाले कतिपय मुद्दामा बिना अध्ययन र तथ्य बोल्ने तथा अफवाह फैलाउने गरेको बताएका छन् । 

राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले युवालाई भ्रमबाट जोगाउन शिक्षामा लगानी गर्नुपर्ने बताउनुभयो । “बिना अध्ययन युवा बोल्दा समाजमा गलत सूचना प्रभाव भइरहेको छ, यसलाई रोक्नु जरुरी छ”, उहाँले भन्नुभयो ।

वरिष्ठ पत्रकार टीकाराम यात्रीले अभियानकर्मीले प्राप्तिको आकांक्षा नराखी काम गर्न सक्दा समाजले उनीहरुबाट लाभ लिन सक्ने बताउनुभयो । समाजमा अफवाह फैलाएर नयाँ पुस्तालाई गलत बाटोतिर तानिरहेको उहाँको भनाइ थियो । मानवअधिकारवादी एवं पत्रकार राजन कुइँकेलले सामाजिक अभियानका नाममा अभियानकर्मीले आफू लोकप्रिय हुन गलत सूचनाको सहारा लिने गर्दा समाजमा बिग्रह ल्याउने सुनाउनुभयो । संसारमा आपत्विपत्, प्रकोप र महामारीजस्ता समयमा ल्याइने गलत सूचनाको बाढीले युवासहित समाजको तप्कालाई भ्रममा राख्ने गरेको उहाँको भनाइ थियो । 

नायिका रेखा थापाले विगत लामो समयदेखि युवालाई राजनीतिक दलले प्रयोग मात्र गरेको र उनीहरुको व्यक्तित्व निर्माणमा बेवास्ता गरेकाले आज समाजमा त्यसको असर देखिएको बताउनुभयो । ग्लोबल युथ पार्लियामेन्टका अध्यक्ष दिवाकार अर्यालले विषयवस्तु माथि राम्रो ज्ञान नराखी प्रचारको लागि मात्र गरिने कामले समाजलाई गलत बाटोमा हिँडाउने सुनाउनुभयो ।

कार्यक्रमका अन्य वक्ताले विरोधको पछाडि प्रमाणित तर्क, त्यसको विकल्प र समाधन दिनेभन्दा पनि आफू लोकप्रिय बन्न चर्को विरोध गर्ने र कुतर्क पेश गर्नेहरु नै अभियानकर्मीका रुपमा चर्चामा रहेको बताउनुभएको थियो ।