भजनी नगरपालिकामा सर्पदंशको जोखिम र यसको उपचार

भजनी नगरपालिकामा सर्पदंशको जोखिम र यसको उपचार

नेपालमा ८९ प्रजातीका सर्पहरु पाइन्छन् जसमध्ये १७ प्रजातीका सर्पहरु मात्र बिषालु हुन्छन् । त्यसमध्ये पनि कैलालीमा धेरै जसो पाइने विषालु सर्पहरु करेत (krait) र गोमन ( cobra) हुन। बर्षामा सर्पको बासस्थान(दुलो) भित्र पानी छिरेपछी र आफ्नो आहारको खोजीमा सर्पहरु बाहिर निस्किन्छन। करेत (krait) प्रजातीका सर्पहरु घर भित्र अथवा घरको वरिपरि आहाराको खोजीमा आउँछन भने गोमन (cobra) प्रजातीको सर्पहरु खेत, बारी, झारी तथा जङ्गल अथवा घर वरिपरि आफ्नो आहाराको खोजीमा निस्किन्छन। भजनी नगरबासीहरु असुरक्षित बसोबासको कारण र धेरै जसो किसानहरु भएको र खेत, बारी तथा जङ्गलमा काम गर्न जानू पर्ने भएकाले सर्पको टोकाईको उच्च जोखिममा छन र अब सर्पदंशको उपचार भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा डा. सुरेश ताम्राकार, डा. नवीन शर्मा (म स्वयं ), डा.एलिना विश्वकर्मा तथा अन्य स्वास्थ्यकर्मीहरुको टिमले सुरु गरिसकेका छौं।

सर्पको टोकाईबाट कसरी बच्ने?

सर्पको टोकाईबाट बच्न खेतबारी, झारी तथा जङ्गलमा काम गर्न जादा पूरा बाउला भएको लुगा र लामो बुट लगाउने, घर वरिपरि सफा राख्ने, मुसाको प्वालहरु छनभने त्यसलाई पुरिदिने, खानेकुराहरु जताततै नफाल्नेगर्नुपर्छ। त्यसैगरी घरमा दाउरा, खाद्यान्न, लुगा आदि राख्नु परे अलिकता उच्चो ठाउँ पारेर राख्ने गर्नुपर्छ। झारीमा अथवा कतै अध्यारो ठाउँमा सिधै हात नहाल्ने र त्यस्तो ठाँउमा लौरोले पन्छाएर सतर्क रहेर मात्र काम गर्ने गर्नुपर्छ। यस्ता ठाउँहरुमा काम गर्न जादा एक्लै नजाने, राती अध्यारोमा जानू परे सधैं बत्ति बालेर अथवा टर्च लिएर मात्र जाने गर्नुपर्छ।

सकेसम्म भुईमा नसुत्ने र सधैं झुल लगाएर त्यसलाई बिस्तारामा राम्रो संग च्यापेर मात्र झुलभित्र सुत्ने गर्नुपर्छ। घरको झ्याल ढोकामा जाली हाल्ने र मुसा, भ्यागुता जस्ता सर्पका आहारहरुलाई सकेसम्म घर भित्र आउन दिनु हुदैन। बालबालिकाको खेल्ने ठाउँ सुरक्षित बनाईदिनुपर्छ। सर्पहरुले प्रायः मानिसलाई यत्तिकै टोक्दैन, आफ्नो जीवनरक्षाका लागि मात्र टोक्ने गर्छ। त्यसैले सर्पसंग खेल्ने, जिस्किने, मार्ने , समाउन खोज्ने जस्ता कार्य गर्नु हुदैन। बालबालिका र अन्य घरका सदस्यहरुलाई सर्पको टोकाईबाट कसरी बच्न सकिन्छ र यसको टोकाईमा गरिने प्राथमिक उपचारबारे जानकारि दिनुपर्छ र प्रतिविष पाइने नजिकको स्वास्थ्य संस्था वा अस्पतालका बारेमा पनि जानकारी राख्नुपर्छ।

सर्पले टोकेपछी के गर्ने के नगर्ने ?

नेपालमा पाईने ८९ प्रजातीका सर्प मध्ये १७ प्रजातीका मात्र बिषालु हुनु र बिषालु सर्पले टोक्दा पनि ३३५ लाई बिष नलाग्नाले (ड्राई बाइट) गर्दा बिष नलागेका बिरामीको धामी (झाक्री, गुरुवा, झारफुक, जडिबुटी अथवा परम्परागत पद्धतिबाट सर्पको टोकाईको उपचार हुने भ्रम छ। बिष लागेको बिरामीको यस्ता पद्धतिबाट उपचार असम्भव हुनेभएकाले त्यस्तो भ्रममा नपरी आधुनिक प्रतिबिष सहितको उपचार पाउन अस्पताल लैजानुपर्छ।

कुनै पनि सर्पले टोकेमा मरिहाल्ने भन्ने हुदैन। त्यसैले नआत्तिकन टोकेको भागलाई नचलाईकन जुन सवारी साधन चाडैं पाइन्छ त्यसैमा छिटो भन्दा छिटो अस्पताल पुर्याउनु पर्छ। मोटरसाइकल अथवा साइकलमा एक जनाले पछाडीबाट बिरामीलाई समातेर अस्पताल पुर्याउन पनि सकिन्छ।

सर्पले टोक्दा सर्प पहिचान गर्यो भने उपचारमा सहज हुन्छ तर त्यो सर्पलाई मार्नु भने हुँदैन टोकेको ठाउँ (जस्तै हात,खुट्टा) धेरै चलाउनु हुदैन। फोहोर, हिलो लागेको छ भने सफा पानीले धुन सकिन्छ। रगत बगिराखेको छ भने कपडाको पट्टि जस्तो बनाई हल्कासंग बध्न सकिन्छ। टोकेको ठाउँ वरिपरि डोरी अथवा कपडाले कस्सेर बाध्नु हुदैन। यस्तो गर्दा रक्तसञ्चार रोकिने र पछी हात अथवा खुट्टा नै काट्नु पर्ने अवस्था आउन सक्छ। त्यसैगरि टोकेको अंगमा ब्लेडले काट्ने अथवा चुस्ने , निचोर्ने काम गर्नु हुदैन। त्यसैगरी अन्य कुनै औषधि अथवा घरेलुु जडिबुटी लगाउने, धामीझाँक्री, गुरुवा अथवा झारफुकको नाममा समय खेर फाल्नु हुदैन। सर्पको टोकाईबाट बिरामीको मृत्यु हुनुको प्रमुख कारण नै अस्पताल ढिलो पुग्ने भएकाले बिरामीलाई तुरुन्तै अस्पताल लैजानुपर्छ ।

सर्पको टोकाईका लक्षणहरुः

सर्पले टोकेपछि जोसुकैलाई पनि अत्याधिक डर लाग्ने भएकाले बिषालु सर्प नभएपनि सामान्य लक्षणहरु देखिन सक्छन। चिडचिड पसिना आउने, छिटोछिटो सास फेर्ने, चक्कर लाग्ने,शरीर कमजोर भएको महसुस हुने, हातखुट्टा झमझमाउने, पेट र सम्पूर्ण शरीर दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, मुटुको धड्कन बढ्ने आदि सामान्य लक्षण हुन।

टोकेको भाग दुख्ने, सुन्निने, घाउ हुने, रगत बग्ने, फोका उठ्ने, निलडाम बस्ने, नजिकैका लिम्फ ग्रन्थि सुन्निने, गाँठागुठी बढ्ने साथै वाकवाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने त्यसै गरि गिजा, नाक, मुखबाट रगत बग्ने, छालामा मसिना र ठूल्ठूला राता दागहरु देखिने, रगत वान्ता हुने, खोकीमा रगत देखिने, पिसाबमा रगत देखिने आदिमध्ये कुनै पनि लक्षण देखिन सक्छन। हातखुट्टा झमझमाउने, आँखाको ढकनी भारी हुने, धमिलो देखिने, एउटा बस्तु दुइटा देखिने, टाउको भारी हुने, टाउको उठाउन नसक्ने, स्वर परिवर्तन हुँदै जाने, बोल्न नसक्ने हुने, थुक निल्न गाह्रो हुने, जिब्रो बाहिर निकाल्न नसक्ने, मुखबाट र्‍याल बगिरहने, स्वास फेर्न गाह्रो हुने, हातखुट्टा लुलो हुने र पूरै शरीरको प्यारालाइसिस हुनेजस्ता लक्षणहरु देखिन सक्छन।

सर्पदंशको उपचारः

बिषालु सर्पले टोकि बिषको असर देखिएमा प्रतिबिष(anti snake-asv)को प्रयोग गरि उपचार गरिन्छ। सर्पको विषको असर नदेखिएसम्म प्रतिविषको प्रयोग गरिँदैन। त्यसैले कुन बिरामीलाई ASV प्रयोग गर्ने र कुनलाई नगर्ने भन्ने महत्वपूर्ण कुरा हुन्छ। यो औषधिको आफ्नो छुट्टै नकारात्मक असरहरु पनि आउन सक्ने भएकाले तालिम प्राप्त चिकित्सकको प्रत्यक्ष निगरानीमा मात्र प्रयोग गरिन्छ। यो प्रतिबिष (anti snake venom) सर्पदंश उपचार केन्द्रहरुमा निस्शुल्क पाइन्छ। र हाल यो प्रतिबिष भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा पाईने र हामी चिकित्सकहरुपनि तालिम प्राप्त भएकाले सर्पदंशको उपचार तपाईं हाम्रै भजनी नगरपालिकाको प्रा. स्वा.केन्द्रमा हुनेकुरा पनि जानकारी गराउछु।

डा. नविन शर्मा
मेडिकल अधिकृत
भजनी प्रा.स्वा. केन्द्र