पत्रकार सिंहले जसको नामबाट पुुरस्कार पाए उसकै परिवारलाइ हस्तान्तरण

पत्रकार सिंहले जसको नामबाट पुुरस्कार पाए उसकै परिवारलाइ हस्तान्तरण

धनगढी : आफूले प्राप्त गरेको पुरस्कार रकमबाट असहायलाई सहयोग गर्ने अभियान चलाएका बाजुराका पत्रकार प्रकाशबहादुर सिंहले जेपी जोशी स्मृति पत्रकारिता पुरस्कारवाफ्त प्राप्त गरेको नगद जोशीकै परिवारलाई सहयोग गरेका छन् ।


उनले शनिबार जोशीकै घरमा गएर नेपाल पत्रकार महासंघको सुदूरपश्चिम प्रदेश समितको दोस्रो साधारण सभामा प्राप्त गरेको सो पुरस्कारवाफते १२ हजार रुपैयाँ जोशीकी श्रीमति बसन्ती जोशीलाई सहयोग गरेका हुन् । महासंघका पुर्वअध्यक्ष शिब गाँउलेले सो रकम जोशी परिवारलाई हस्तान्तरण गरेका थिए ।


पत्रकार सिंहले जेपी जोशीका नाममा स्थापना भएको पत्रकारिता पुुरस्कारवाफतको रकम उनको परिवार थोरै भएपनि सहायता मिलोस् भनेर सहयोग गरेको बताए । जोशी परिवारलाई सो रकम हस्तान्तरण गर्न र उनीहरुको अवस्था बुझ्न महासंघका पूर्वअध्यक्ष गाउँले, सुदूरपश्चिम प्रदेश अध्यक्ष अर्जुन शाह र पत्रकार सिंह जोशीको घर पुगेका थिए ।

आर्थिक रुपमा निकै कमजोर रहेको स्वर्गीय जोशीका छोरीहरुको विद्यालय शुल्क दुई वर्षदेखि तिर्न सकेका छैनन् । रकम अभावमा छोरीले परीक्षा समेत दिन नपाउने भएको बसन्तीले बताइन् । ५ बर्षसम्म पत्रकार महासंघ केन्द्रले उनीहरुको पढाईमा सहयोग गरेको भएपनि डेढ वर्ष यता कतैबाट सहयोग नपाएकाले विद्यालयलाई शुल्क तिर्न नसकेको बसन्तीले बताइन् । उनले न श्रीमान हत्यारा पत्ता लागेको न त परिवार पाल्न सक्ने अबस्था रहेको बताइन् । उनले छोरीहरु पढ्ने विद्यालयबाट पटक पटक शुल्क माग्ने गरेको बताइन् ।


जोशी परिवालाई कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३, मालाखेती बस्दै आएका छन् । २०६५ असोज २२ गते बेपत्ता भएका पत्रकार जेपी जोशीको शव मंसिर १३ गते मालाखेती जंगलमा फेला परेको थियो । स्वर्गीय जोशीकी श्रीमती र दुई छोरी छन् । छोरी पुजा कक्षा १० मा र गीता कक्षा ६ मा अत्तरीयामा रहेको एभरेष्ट बोडिङ स्कुलमा अध्ययनरत रहेका छन् ।

महासंघका पूर्व अध्यक्ष शिब गाँउलेले छोरीहरु पढाउनका लागि पत्रकार महासंघ तथा अन्य निकायसंग पहल गर्ने बताए ।