नेकपा किचलो कसको के गल्ती ?

नेकपा किचलो कसको के गल्ती ?

२४ साउन (काठमाण्डौं)
नेकपाका नेताहरूका अनुसार पार्टीभित्र विवादको लामो शृंखला चल्नुमा दुवै पक्षका नेताहरूले विगतमा गरेका गल्ती र कमजोरी कारक छन् । समयमै ती कमजोरी नसच्याउँदा अहिले दुर्घटनाको अवस्था सिर्जना भएको हो । ओली पक्षका बुझाइमा दाहालसहितका नेताहरूको समूहले सुरुदेखि नै असहयोग ग¥यो । सरकार बनेको एक वर्षमै दाहालले आधा–आधा कार्यकाल प्रधानमन्त्री हुने कुरा बाहिर ल्याइदिए । नियुक्ति, सरुवा–बढुवामा दाहाल, नेपाल, खनाल, श्रेष्ठसहितका नेताले हरेकपटक आफ्ना मान्छे राख्न चाहे । त्यस्तै सरकारले गरेका राम्रा कामको कहिल्यै प्रशंसा गरेनन् । विपक्षी नेताहरूले समेत प्रशंसा गरेका विषयमा आफ्नै पार्टीकाले असहयोग गरे ।
यस्तै गुनासो ओलीमाथि पनि छ । दाहाललगायत नेताहरूका अनुसार ओलीले आफू प्रधानमन्त्री बनेपछि पार्टीलाई वास्ता गरेनन् । सुरुमै मन्त्रिपरिषद् आफूखुसी एकलौटी गठन गरे, दर्जनौं नियुक्तिमा सल्लाह गरेनन्, सरकारका तीनवटा नीति तथा कार्यक्रम र बजेट आए, त्यसबारे कहिल्यै पार्टीका नेताहरूसँग छलफल गरेनन् । त्यति मात्र होइन, आफ्नै सहयोद्धाहरूलाई तेजोवध गरे । दुई पक्षका नेताहरूबीच यस्तै आपसी गल्ती र मनमुटावका कारण अहिले एकले अर्कालाई सिध्याउने बिन्दुमा नेकपाका नेताहरू आइपुगेका छन् ।