जनप्रतिनिधि, शिक्षिका र स्वयंसेविका नै छाउगोठमा

जनप्रतिनिधि, शिक्षिका र स्वयंसेविका नै छाउगोठमा

२९ पुस (धनगढी)
यतिबेला सुदूरपश्चिम र कर्णालीका विभिन्न स्थानीय तहमा छाउगोठ भत्काउने अभियान जोडतोडले चलिरहेको छ । जनप्रतिनिधिहरुसमेत छाउगोठ भत्काउन प्रहरीसँगै गाउँगाउँ हिँडेका छन् । तर, समाजका यिनै अगुवा महिला आफै भने छाउगोठमै बस्न बाध्य छन् भन्दा कतिपयलाई अनौठो पनि लाग्न सक्छ । तर अछामको बान्नीगढी–जयगढ गाउँ कार्यपालिका सदस्य यशोदा बोहरा भने अहिले छाउगोठमा बस्छिन् ।
बान्नीगढी–जयगढ गाउँपालिका–५, स्थित आदर्श आधारभूत विद्यालयकी शिक्षिका मिठु बोहराको घरनजिकै छाउगोठ छ । उनी महिनावारी हुँदा कहिल्यै घरभित्र पस्नसमेत पाएकी छैनन् । छाउपडीजस्ता सामाजिक कुसंस्कारविरुद्ध शिक्षा दिनुपर्ने उनी आफैँ महिनावारी हुँदा छाउगोठमा बस्छिन् । ‘भित्रै बस्न पाउनुपर्ने हो, तर परिवार र समाजले अवरोध गर्छ,’ बोहराले भनिन्, ‘समाजका सबै महिला छाउगोठमै बस्छन्, म मात्रै भित्र बस्दा समाजले के भन्ला भन्ने डर लाग्छ ।’
जनप्रतिनिधि, शिक्षिका, स्वयंसेविका आफैँले छाउप्रथा मान्दा यो कुसंस्कारविरुद्धको अभियानमा चुनौती रहेको अगुवा महिला बताउँछन् । ‘कुसंस्कारविरुद्ध लड्न नसक्दा कतिपय महिला जनप्रतिनिधि, शिक्षिका आफैँ छाउगोठमा बसिरहेका छन्,’ छाउपडी अन्त्यको अभियानमा सक्रिय पशुपति कुँवर भन्छिन्, ‘अब उहाँहरू नै अघि आउनुपर्छ । छाउपडी कुसंस्कार हो भनेर बुझेकाहरू नै गोठमा बस्दा चेतनाको कमी भएकालाई के भनेर बुझाउने ?’
तुर्माखाँद–८ को सरस्वती प्राविकी शिक्षिका जमुना रावल पहिले–पहिले छाउ भएका वेला पनि विद्यालय जान्थिन् । ‘म सुरुसुरुमा महिनावारी भएका वेला विद्यालय पनि गएको हो । तर, विद्यालयनजिकै देउताको मन्दिर भएकाले त्यहाँ जान मिल्दैन भनेर विरोध भयो । त्यसैले अहिले महिनावारी भएका वेला म बिदा लिएर बस्छु,’ उनले भनिन्, ‘हाम्रो गाउँमा छाउ नबार्ने एकजना वडा सदस्य थिइन् । उनले सुरुमा महिनावारी बारिनन् । त्यसपछि कसको छोरी हो ? कहाँबाट ल्याएको हो ? भैँसी पाल्ने गोठमा बस्दिनँ भन्ने राजाको छोरी हो कि भनेर उनलाई समाजले बहिष्कार गरे ।’ यसरी समाजकै डरले चेतनशील महिलाहरू पनि छाउगोठमा बस्न बाध्य छन् ।
अछाम मात्र होइन, सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीवरिपरि नै छाउगोठ छ । कैलालीको गोदावरी–१२ का वडा सदस्य बाली साउदको घरमै छाउगोठ छ । उनका छोरी र बुहारी महिनावारी हुँदा अहिले पनि छाउगोठमै बस्छन् । अरू सबैले छाउगोठ भत्काए मात्र आफूले पनि भत्काउने बालीकी श्रीमती रम्बाको भनाइ छ । तर पनि महिनावारी भएको चार दिनसम्म छोरी–बुहारीलाई घरभित्र पस्न नदिने उनले स्पष्ट पारिन् । ‘सबैतिर भत्काए हाम्रो छाउगोठ पनि भत्काउने कुरा भएको छ । तर, छाउ भएको चार दिनसम्म छोरी–बुहारीलाई घरभित्र बस्न दिन मिल्दैन,’ रम्बाले भनिन्, ‘श्रीमान् जनप्रतिनिधि मात्र होइन, धामी पनि हुनुहुन्छ । महिनावारी भएको महिला घरभित्र छिरे उहाँ काम्नुहुन्छ ।’ स्रोतः नयाँपत्रिका