चाडको मुखमा बाजुरामा खाद्य गोदाम रित्तै

चाडको मुखमा बाजुरामा खाद्य गोदाम रित्तै

खाद्यमा प्रतिकिलो ४८ रुपैयाँमा पाइने चामल बजारमा ७० रुपैयाँभन्दा बढीमा तिर्नुपर्ने स्थानीयको गुनासो

धनगढी — चाडबाड नजिकिँदै जाँदा बाजुरामा खाद्य अभाव पनि चुलिएको छ । चामल सकिएपछि सदरमुकाम मार्तडीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको मार्तडी शाखा र कोल्टीस्थित डिपो कार्यालयले बिक्री बन्द गरेका छन् । शाखा कार्यालयले एक साताअघि चामल सकिएको सूचना टाँसेर बिक्री–वितरण बन्द गरेको छ ।

चामल सकिएपछि बाजुरा सदरमुकाम मार्तडीस्थित खाद्य खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बन्द गोदाम । फाइल तस्बिर : कान्तिपुर

कोल्टी डिपोले भने भदौको सुरुमै गोदाम रित्तिएको सूचना जारी गरिसकेको थियो । मार्तडी क्षेत्रमा शाखा कार्यालयले चामल वितरण गर्दै आएको थियो । अधिकांश समय खाद्य समस्या हुने पूर्वोत्तर क्षेत्रका स्वामिकार्तिक खापार, जगन्नाथ, हिमाली र बुढीनन्दा नगरपालिका गरी ४ वटा पालिकाका बासिन्दाको चामल खरिद गर्ने ठाउँ कोल्टी डिपो हो । सदरमुकाम मार्तडीमा रहको शाखाबाट सदरमुकाम क्षेत्र बासिन्दा खाद्यान्न किन्ने गर्छन् ।

हाल मार्तडी र कोल्टीमा गरी ६५ क्विन्टल चामल मात्र मौज्दात रहेको मार्तडी शाखाका प्रमखु मेखराज ओझाले बताए । उनका अनुसार मौज्दात चामल कैदीबन्दीका लागि पनि नपुग्ने अवस्था सिर्जना भएको छ । कम्पनीले विपन्न समुदायलाई लक्षित गरी दुर्गम तथा विकट क्षेत्रमा सहुलियत दरमा चामललगायत खाद्यान्न उपलब्ध गराउँदै आएको छ । खाद्य लिमिटेडका गोदामहरू रित्तिएपछि स्थानीयले महँगो मूल्य तिरेर बजारबाट चामल किन्न बाध्य हुनु परेको बताएका छन् । कोल्टीका स्थानीय जनेश भण्डारीका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कोल्टी शाखामा मोटो चामल प्रतिकिलो ४८ रुपैयाँमा पाइन्थ्यो भने अहिले त्यही गुणस्तरको मोटा चामल प्रतिकिलो ७० रुपैयाँभन्दा बढीमा तिरेर बजारबाट किन्नुपर्ने बाध्यता छ ।

बाजुराका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बाजुरामा चामल सकिएर खाद्य समस्या भएको बारे खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको केन्द्रीय कार्यालयमा पत्राचार गरेको भए पनि सुनुवाइ नभएको बताए । ‘बजारमा समेत चामल सकिएर हाहाकार भएको त हैन, तर विपन्न समूदायलाई खाद्यको कार्यालयमा पाइने गुणस्तरकै चामलको पनि महंगो मूल्य तिर्नुपर्ने अवस्था छ,’ प्रजिअ अधिकारीले भने, ‘समयमा चामल आउन सकेन भने चाडबाडमा थप समस्या हुने अवस्था छ ।’

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखाका प्रमुख ओझाका अनुसार चालु आर्थिक वर्षका लागि मार्तडीलाई ६ हजार र कोल्टीलाई ७ हजार क्विन्टल चामलको कोटा निर्धारण गरिएको छ । तर ढुवानीका लागि टेन्डरको प्रकृयासमेत पूरा नभएकाले कहिले आउँछ भन्ने यकिन छैन । गत आर्थिक वर्षमा कोल्टीमा ७ हजार क्विन्टल नियमित कोटा विनियोजन गरिएको थियो । त्यो सकिएर ३ हजार थप भएकोमा एक हजार क्विन्टल मात्रै विनियोजन भएको उनले बताए ।

त्यस्तै, मार्तडीमा ६ हजार नियमित कोटा थियो । त्यो सकिएर २ हजार क्विन्टल थप विनियोजन गरिएको भए पनि ढुवानी भने नभएको ओझाले बताए । बाजुरा पुग्ने साँफे–मार्तडी सडक ३ महिनादेखि अवरुद्ध छ । बल्देमा पहिरो गएर असारदेखि यातायात तथा ढुवानीका साधनहरू सदरमुकामसम्म पुग्दैनन् । कोल्टी क्षेत्रको सडक पनि वर्षा सुरु भएदेखि नै अवरुद्ध छ । व्यापारीहरूले पनि सहज ढुवानी गर्न नसकेकाले खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्रीहरू महँगिएका छन् ।

नागरिक समाज बाजुराका अध्यक्ष अग्निराज शाहीले सडक अवरुद्ध भएको र वर्षा नरोकिएकाले तत्काल खुल्ने छाँट नदेखिएको बताए । उनले चाडबाड नजिकिएकाले हवाई मार्गबाट भए पनि तत्काल खाद्यान्न आपूर्ति गर्न माग गरे । बाजुरा खाद्य सुरक्षाको उच्च जोखिमयुक्त जिल्ला हो । बाली सप्रेकै अवस्थामा समेत यस जिल्लामा बार्षिक ११ हजार मेट्रिक टन खाद्यान्न अपुग हुने कृषि ज्ञान केन्द्रको तथ्यांक छ । आफ्नो उत्पादनले ३ महिनासम्म खान पुग्ने जनसंख्या ४० प्रतिशत छ ।