चलचित्रकर्मीका समस्या समाधानका लागि पहल गर्छु : मन्त्री आले

चलचित्रकर्मीका समस्या समाधानका लागि पहल गर्छु : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले चलचित्रकर्मीका समस्या समाधानका लागि आफुले पहल गर्ने बताउनु भएको छ । आज नेपाल चलचित्र संघको ४७ औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रमा बोल्नु हुँदै मन्त्री आलेले चलचित्रकर्मीहरु देश लाई चिनाउने एक धरोहर भएकाले उनीहरुलाई परेका समस्या तथा बाधा अवरोधहरु सहित समस्या समाधानका लागि आफु सधै लागि पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “चलचित्रकर्मीहरु देश तथा कला, संस्कृति चिनाउने धरोहर हुन् उनीहरुलाई परेका समस्या र बाधा अवरोधको समाधान गर्न म सधै तयार रहने छु ।”

सोही कार्यक्रममा बोल्नु हुँदै मन्त्री आलेले चलचित्रकर्मीहरुलाई आफ्ना चलचित्र छायाँङकन गर्नका लागि यहाँका पर्यटकीय तथा हिमाली क्षेत्रमा जादाँ आवश्यक पर्ने सहयोगका लागि आफु सहित मन्त्रालय सधै तयार रहने बचन बद्धता व्यक्त गर्नु भयो । नेपाल कला, संस्कृतिका हिसाबले निधै धनी देश भएकाले यहाँका पर्यटकीय तथा कला, संस्कृतिहरुका विषयमा चलचित्र निर्माण गर्न पनि मन्त्री आलेले चलचित्रकर्मीहरुलाई आग्रह गर्नुभयो । चलचित्र क्षेत्रलाई डिजिटल युगमा अगाडि बढाउनमा चलचित्र संघले उल्लेख्य भुमिका निर्वाह गरेको भन्दै मन्त्री आलेले खुलेर संघको प्रशंसा समेत गर्नु भएको थियो ।

यसैगरी मन्त्री आलेले छिमेकी मुलुक भारतका कलाकारहरुलाई मन्त्री स्तरको सम्मान दिइने गरेको र नेपालका कलाकारहरुले बिदेश जाँदा विमास्थलमा भिआइपी कक्ष समेत नपाउने गरेको गुनासो आएकाले मन्त्रालयकातर्फबाट कलाकारलाई भिआइपी कक्ष उपलब्ध गराउनका लागि गृह मन्त्रालयमा भिआइपी पासका लागि पत्र लेखी पठाउने समेत जानकारी गराउनुभयो । “कोभिडका कारण चलचित्रकर्मीहरुले बिद्युत महसुलदेखि बिभिन्न समस्या भोग्नु परेको छ त्यो समस्या समाधानका लागि म पहल गर्ने छु” मन्त्री आलेले भन्नुभयो, “कोभिडका कारण चलचित्रकर्मीहरुले भोग्नु परेका समस्या समाधानका लागि म सहित मेरो मन्त्रालय तयार छ ।” सोही कार्यक्रममा बोल्नु हुँदै मन्त्री आलेले सुदूरपश्चिमका खप्तड, बडिकेदार, बडिमालिका, जोरायलको छहरा, छतिवनताल लगायतका प्रमुख पर्यटकीय क्षेत्रमा गएर आफ्ना चलचित्र छायाँङकन गरिदिन समेत आग्रह गर्नुभयो ।

एक छुट्टै प्रशंगमा बोल्नु हुँदै मन्त्री आलेले काठमाडौँको एअर ट्राफिक अन्त गर्नका लागि र तराइँलाई सिधै काठमाडौँसँग जोड्नका लागि निजगढमा विमानस्थल निर्माण गर्न सरकारले अरवौँ रकम खर्च गरेको भएपनि सम्माननीय अदालतले रोक लगाएकाले त्यो रोक लगाउने निर्णय जनताका पक्षमा नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “निजगढमा विमानस्थल निर्माण गर्न अदालतले रोक लगाएको छ, त्यो राम्रो कुरा होइन, अदालतले आफ्नो निर्णय सच्याउने छ भन्नेमा म बिश्वस्थ छु ।” उक्त साधारण सभामा चलचित्र क्षेत्रमा उल्लेख्य योगदान दिने बरिष्ठ नायक तथा चलचित्र निर्माताहरुलाई प्रमाणपत्र सहित सम्मान समेत गरिएको थियो ।