खानीडाँडामा फस्टाउँदै कालिज फार्म

खानीडाँडामा फस्टाउँदै कालिज फार्म

धनगढी — सुदूरपश्चिमको केन्द्र अत्तरियाबाट एक घण्टा उक्लिए बुढीतोला र नजिकै खानीडाँडा पुगिन्छ । तराइको चर्को गर्मी छल्न जानेको बाक्लो आहोरदोहोर हुने यो ठाउँ उसै पनि मनमोहक छ । पछिल्लो समय कालिज फार्म सञ्चालनका लागि पनि यो ठाउँ व्यवसायीको रोजाइमा परेको छ ।

कैलालीको खानीडाँडास्थित ग्लोबल वाइल्ड फार्मिङ एन्ड एग्रोफरेस्ट्री नामक कालिज फार्म ।

सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने मुख्य राजमार्गमा जोडिएको कैलालीको बुढीतोला र खानीडाँडा जंगलमा अहिले लहरै बनाइएका ठूल्ठूला कालिज फार्महरूले यस ठाउँको आकर्षण थपेको छ । ‘खानीडाँडा क्षेत्र त अब एग्रो टुरिज्मका लागि पनि हबका रुपमा विकास हुन थाल्या छ,’ सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले आफ्नो बुझाई सुनाए ।

बुढीतोलामा र खानीडाँडामा ५ वटा कालिज फार्म खोलिएका छन् । हरियाली जंगलको बीचमा चारैतिर घेरबार गरि माथिबाट निलो र सेतो तारजालीले ढपक्क ढाकिएका ती फार्मभित्र चिरबिर चिरबिर गर्दै धुलोमाटो खेलिरहेका कालिज हेर्दै आकर्षक लाग्छन् । खानीडाँडा पुगेकाहरू धेरैजसोले यहाँका कालिज फार्मसमेत अवलोकन गर्छन् । बुढीतोलामा प्रदेशका पूर्वमन्त्री झपट बोहराले स्थापना गरेको बुढितोला कालिज फार्म छ । अलि पल्तिर खानीडाँडामा ग्लोबल, सुप र शाही गरी लहरै अन्य तीन वटा कालिज फार्महरू छन् । अलि पर हेरे अर्को फार्म पनि देखिन्छ । ती सबै फार्मभित्र कालिजका बयस्क माउ र भालेहरू तथा थुप्रै संख्यामा चल्ला हुर्किरहेका छन् ।

सुदूरपश्चिमकै जानकी चटौत, रुबी जीसी र कमला कडायतले दुई वर्षअघि खानीडाँडामा पहिलो कालिज फार्म स्थापनाको जमर्को गरेका थिए । ग्लोबल वाइल्ड फार्मिङ एण्ड एग्रोफरेष्ट्रि नामक फार्म सञ्चालनको इजाजत लिएर उनीहरूले २० रोपनी क्षेत्रफलमा कालिज पालन ब्यवसाय सुरु गरेका हुन् । काठमाडौंबाट सुरुमा एक सय चल्ला ल्याएर ब्यवसाय सुरु गरेका उनीहरूको फार्ममा अहिले ४ हजार बढि कालिजहरू छन् । ‘करिब ७ लाख लगानीबाट व्यवसाय सुरु गरेको हो,’ फार्म ब्यवस्थापक प्रविन धामीले भने, ‘अहिले सबै जोड्दा फार्मको मुल्य एक करोड बढी पुग्ला ।’ बीचमा दुई लट भाले कालिज बिक्रि गरिसकेको व्यवस्थापक धामीले बताए ।

दुई वर्षअघि भाले र पोथी गरि काठमाडौंबाट ८ सय कालिज ल्याएर व्यावसायिक कालिज पालन सुरु गरेका बोहराको फार्म अहिले डेढ हजार बढिको संख्यामा कालिज छन् । बीचमा केही बिक्री पनि भएको बोहराले बताए । उनका अनुसार फार्मको हिसाब अहिले त करिब डेढ करोड नाँघिसकेको छ ।

खानीडाँडामै सुप कालिज फार्म सञ्चालन गरेका टीकापुरका विकास न्यौपने सुदूरपश्चिममै कृषि ब्यवसायको सम्भावना देखेर यतै जमेका हुन् । उनले लाकुरीभञ्ज्याङमा साझेदारीमा कालिज फार्म सञ्चालन गरेका थिए । तर पोहोर साल लकडाउनकै बेला त्यहाँ छाडेर एकल रुपमा यतै खानीडाँडामा व्यवसाय सुरु गरेका हुन् । १० वर्षको सम्झौता गरेर बार्षिक एक लाख ४० हजार भाडा तिर्ने गरि ३० रोपनी जग्गा भाडामा लिएर न्यौपानेले कालिज पालन व्यवसाय सञ्चालन गरिरहेका छन् । सुरुमा ३ सय चल्ला ल्याएर ब्यवसाय सुरु गरेका न्यौपानेको फार्ममा अहिले कालिजको संख्या डेढ हजार पुगेको छ । ‘बीचमा केही संख्यामा अण्डा, चल्ला र भाले त बिक्री पनि गर्‍यौ,’ न्यौपानेले भने ।

यहाँका फार्महरूले भाले र चल्ला र अण्डा मात्रै बिक्रि गर्छन् । माउ कालिज बिक्रि गर्दैनन् । भालेको किनबेच पनि किलोमा नभएर गोटाको हिसाबले हुने गर्छ । ५ महिनाभन्दा माथि उमेरको भाले प्रति गोटा ३ हजारदेखि साढे ३ हजारमा बिक्रि हुने गरेको बोहरा बताउँछन् । ‘माउ कालिजको मूल्य त कम्तीमा ७ हजार पर्छ,’ बोहराले भने, ‘एक दिन उमेरको चल्लाको प्रतिगोटा कम्तीमा ८ सय मुल्य पर्छ । अण्डाको मूल्य न्यूनतम ६ सयमा बिक्री गर्ने गरेका छौं ।’

वयस्क कालिजले एक वर्षमा एक पटकमात्रै अण्डा दिने गर्छ । फागुनदेखि असारभित्र कालिजले अण्डा पार्ने सिजन हो । एक सिजनमा एउटा कालिजले कम्तीमा ६० अण्डा दिने गरेको बोहराले बताए ।

दुई हप्तासम्म कालिजका चल्ला स्याहार्न कुखुराका चल्ला हुर्काए जस्तै सजिलो हुन्छ । तर त्यसपछि भने विशेष ख्याल गर्नुपर्ने सञ्चालकहरूले बताए । ग्लोबल फार्मका ब्यवस्थापक धामीका अनुसार कालिजका चल्लाहरू हुर्किंदै गएपछि एकले अर्कालाई ठुंगेर मार्ने, घाइते बनाउने समस्या हुने भएकाले जोगाउनुपर्ने हुन्छ ।

कालिज चर्न कुखुरालाई भन्दा फराकिलो ठाउँ चाहिन्छ । त्यसै अनुसार यहाँका फार्म सञ्चालकहरूले फराकिलो जंगल रोजेका हुन् । माइनस डिग्री तापक्रममा पनि बस्न सक्ने बन पंक्षी कालिजका लागि १८ देखि २२ डिग्री तापक्रम उपयुक्त मानिन्छ । खानीडाँडा क्षेत्रको तापक्रम पनि त्यही हो । आहारका लागि हरियो घाँस र कुखुरालाई दिने दाना नै दिने गरेको सञ्चालकहरूले बताए ।