आधुनिक कृषि तथा पशु प्रयोगशाला स्थापना : किसान उत्साहित

आधुनिक कृषि तथा पशु प्रयोगशाला स्थापना : किसान उत्साहित

खोटाङ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले डिजिटल सोयल टेस्टिङ मिनी ल्याबसहितको आधुनिक कृषि तथा पशु प्रयोगशाला स्थापना गरेको छ । नगरपालिकाको चार लाख ९६ हजारको लागतमा वडा नं २ सोल्मास्थित प्राङ्गारिक मल तथा बायोग्यास उद्योगसँगै डिजिटल सोयल टेस्टिङ मिनी ल्याबसहितको आधुनिक कृषि तथा पशु प्रयोगशाला स्थापना गरेको हो । 

ल्याब स्थापना भएपछि महीना दिनसम्म लगाएर खोटाङबाट सुनसरीको झुम्का प्रयोगशालामा लगेर माटो परीक्षण गर्नुपर्ने बाध्यता हटेको छ । सोल्मामा स्थापना गरिएको प्रयोगशालामार्फत ४८ घण्टामै परीक्षणको रिपोर्ट आउने जानकारी दिइएको छ । 

पशु क्षेत्रतर्फ कृत्रिम गर्भधारण, पशुपक्षीको स्वास्थ्य परीक्षणलगायतका काम ल्यालबाट नै प्रवाह हुने भएको नगरप्रमुख दीपनारायण रिजालले बताए । नगरपालिकाले शनिबार नै नगरभित्रका १५ ओटै वडा कार्यालयलाई चार लाख बराबरको माटो परीक्षण उपकरण हस्तान्तरण गरेको छ । पशु क्षेत्रतर्फ कृत्रिम गर्भधारण, पशुपक्षीको स्वास्थ्य परीक्षणलगायतका काम ल्याबबाट नै प्रवाह हुने भएको नगरप्रमुख रिजालले बताए । नगरपालिकाले शनिबार नै नगरभित्रका १५ वटै वडा कार्यालयलाई रु चार लाख बराबरको माटो परीक्षण उपकरण हस्तान्तरण गरेको छ ।

यसैबीच दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कोरोना भाइरस महामारीका कारण विदेशमा रोजगारी गुमाएर जन्मथलो फर्किएका युवालाई कृषि सामग्री उपलब्ध गराएको छ । रोजगारीको सिलसिलामा विभिन्न देशमा रहेको अवस्थामा कोरोना महामारी फैलिएपछि रोजगारी गुमाएर जन्मथलो फर्किएका १०० युवालाई कृषि पेशामा आबद्ध गराउने उद्देश्यका साथ कृषि सामग्री उपलब्ध गराएको हो ।

नगरपालिकाले व्यावसायिक कृषिखेती गर्दा आवश्यक पर्ने विषादीसहित थोपा सिँचाइ सेट, आइएम सामग्री, सिलपौलिन प्लाष्टिक टनेललगायत सामग्री उपलब्ध गराएको छ । नगरपालिकाको १५ वटै वडा कार्यालयबाट सिफारिस भएर आएका युवालाई हेल्भेटासको आर्थिक सहयोगमा कृषि सामग्रीका साथै तालीमसमेत दिएको कृषि शाखा प्रमुख धर्मेन्द्र कलौनीले बताए ।  

परम्परागत रूपमा गरिँदै आएको कृषि पेशालाई व्यावसायिक र आधुनिकीकरण गर्न नगरपालिकाको तर्फबाट कृषक तथा कृषक समूहलाई अनुदानसमेत दिने व्यवस्था गरिएको नगरप्रमुख रिजालले बताए । 

नगरपालिकाले कृषक तथा कृषक समूहलाई बाख्रापालनका लागि उन्नत जातको बोयर बोका, च्याउखेतीका लागि बीउ, फलफूल खेतीका लागि सुन्तला तथा कागतीको बेर्ना, गोलभेँडा खेतीका लागि प्लाष्टिक टनेललगायत उपलब्ध गराउँदै आएको छ । नगरपालिकाले कृषि सामग्री उपलब्ध गराउनुका साथै तालीमसमेत दिन थालेपछि युवापुस्ता कृषि पेशाप्रति आकर्षित हुँदै गएका छन् । (रासस)