अदालतमा रोशनीको बेचैनी

अदालतमा रोशनीको बेचैनी

४ पुस (ललितपुर)
साढे ११ बजेतिर रोशनी शाही बिहीबार उच्च अदालत पाटन पुगिन् । अदालत परिसरमा पस्नुअघि मुख्य प्रवेशद्वारबाहिर केही समय रोकिइन्। अलमलमा परेजस्तो देखिन्थिन्। केही समयपछि उनी सिधै इजलासतर्फ लागिन् । फिक्का रातो रङको कुर्ता, कालो सुरुवाल र कालै सल ।
उनकै ाहेरीका आधारमा जबर्जस्ती करणी उद्योग मुद्दा चलाइएका तत्कालीन सभामुख कृष्णबहादुर महराको निवेदनउपर उच्चमा सुनुवाइ चल्दै थियो ।
कालो सलले टाउको ढाकेकी थिइन् भने मुखमा मास्क थियो । अदालतभित्र पस्दा दुवै आँखा झुकेका थिए। न मुहारमा चमक देखिन्थ्यो। उनी कसैसँग बोलिनन्। निराश अनि गम्भीर भावभंगीमा इजलासमा बसिरहिन्। अदालतबाट बाहिरिँदै गर्दा पनि उनी उस्तै भावभंगीमा देखिन्थिन् ।
महराविरुद्धको मुद्दामा दिनभर सुनुवाइ चलेको थियो। उनी इजलासको अन्तिम सिटमा एक्लै बसेकी थिइन्। उत्सुकताका साथ बहस सुनिन्। अदालतबाट अपराह्न ४ बजेतिर बाहिरिएकी थिइन्। उनलाई इजलासबाट ‘तपाईंको केही भन्नु छ ? ’ भनेर सोधिएको थियो। जवाफमा उनले आफूलाई ‘के के भयो भयो ? ’ मात्र भनिन्। ‘फसाइयो’ भन्दै गर्दा उनको बोली रोकियो। उनी भावुक बनेकी थिइन्। आफ्ना कुरा राखेर उनी बाहिरिएकी थिइन्। अदालतबाट बाहिरिएको डेढ घण्टापछि मात्रै इजलासबाट महरालाई थुनामै राख्ने आदेश आयो।
मुद्दामा सुनुवाइ चलिरहँदा अदालत परिसरमा महरातर्फका आफन्त र शुभेच्छुकको आउजाउ बाक्लो थियो। अदालतभित्र प्रवेश गर्न सुरक्षाकर्मीले प्रवेशद्वारमा कडा सुरक्षा जाँच गरेका थिए। कडा सुरक्षाबीच बन्द इजलासमा सुनुवाइ चलिरहँदा उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पनि पुगेका थिए। राजनीतिक कार्यकर्ता, कानुन व्यवसायी, पत्रकार र सर्वसाधारणले उत्सुकतापूर्वक आदेशको प्रतीक्षा गरेका थिए । नयाँ पत्रिकाबाट