केपी ओलीको पार्टीले चुनाव जितेमा फेरि संसद भंग गर्ने प्रवृत्ति दोहोरिने दाबी : देउवा

केपी ओलीको पार्टीले चुनाव जितेमा फेरि संसद भंग गर्ने प्रवृत्ति दोहोरिने दाबी : देउवा

धनगढी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओलीको पार्टीले चुनाव जितेमा फेरि संसद भंग गर्ने प्रवृत्ति दोहोरिने दाबी गरेका छन् ।

सत्तारुढ गठबन्धनले धनगढीमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै देउवाले स्थानीय तहको निर्वाचन गठबन्धनले जिते मात्र संघीय सरकार बलियो हुने बताएका छन् ।उनले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गरेका छन् । सरकारमा नेपाली कांग्रेस, माओवादी केन्द्र र माधव जीको पार्टीका मान्छेहरु सहभागी छन् । अहिलेको सरकारलाई बलियो बनाउन स्थानीय तहको निर्वाचन गठबन्धनले जित्न जरुरी छ, देउवाले भने, त्‍यसकारण गठबन्धनका उम्मेदवारलाई मत दिएर विजयी गराउनुस् । उनले गठबन्धनका उम्मेदवारविरुद्ध बागी उठेका उम्मेदवारहरुलाई कुनै पनि हालतमा सहयोग नगरिने बताउँदै फिर्ता नलिएको खण्डमा कारवाही गरिनेसमेत बताएका छन् । उनले धनगढी आफ्ना लागि महत्वपूर्ण भएको बताउँदै सुदूरपश्चिमबासीले नै आफूलाई प्रधानमन्त्री बनाएकाले गठबन्धनको चुनाव जितेमा यहाँका लागि प्राथमिकता दिएर काम गर्ने बताएका छन् । उनले विकास निर्माणका काम र बजेट विनियोजन गर्दा सुदूरपश्चिमलाई प्राथमिकतामा राखिने दाबी पनि गरेका छन् ।