महरा पक्राउ पर्नुको अर्थ !

महरा पक्राउ पर्नुको अर्थ !

१९ असोज (धनगढी)
अन्ततः निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले सभामुख निवासबाटै आइतबार साँझ पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सभामुख निवास बालुवाटारबाट नियन्त्रणमा लिएको हो ।
आप्mनै सचिवालयकी कर्मचारीलाई यौन दुब्र्यवहार गरेको आरोप लागेका महरा शीर्षस्थ राजनीतिक ब्यक्तित्व भएकाले उनलाई प्रहरीले पक्राउ गर्ला या नगर्ला भन्ने अनेकौं आशंकाहरु थिए । त्यसैमा आरोप लगाउने महिलाले तत्कालै बयान फेरेकाले पनि उनीलाई बयान फेर्न लगाइएको हुनसक्ने आशंका ब्याप्त थियो । तर सरकारले यी सबै आशंकाहरुलाई फेल गरायो । कानुनी प्रकृया पुरा गरेर महरालाई उनकै निवासबाट पक्राउ गर्यो । यसले सरकार विधि र प्रकृयाको शासन ब्यवस्थामा प्रतिवद्ध छ भन्नेमा बल दिएको छ ।
बानेश्वर वृत्तका डीएसपी दुर्गा रेग्मी नेतृत्वको टोली कालो रंगको स्कर्पीयो गाडीमा महरालाई नियन्त्रणमा लिनका लागि सभामुख निवास प्रवेश गरेको थियो ।
यौन दुर्व्यवहारको आरोप लागेपछि गत सोमबार राजीनामा दिएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले आइतबार पक्राउपूर्जि जारी गरेकोथियो। प्रहरीले नियन्त्रणमा लिएर बायन लिनका लागि सरकारी वकिलसँग सल्लाह गरिरहेको स्रोतले जानकारी दिएको छ ।
संसद् सचिवालयमा कार्यरत स्वास्थ्यकर्मी (कर्मचारी) रोशनी शाहीले शनिबार महानगरीय प्रहरी वृत्त बानेश्वरमा आफूमाथि महराले बलात्कार प्रयास गरेको भन्दै किटानी जाहेरी दिएपछि महरालाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन प्रहरीलाई बाटो खुलेको थियो। प्रहरीले शुक्रबार नै पीडित महिलाको स्वास्थ्य परिक्षण गराइसकेको छ भने उनको कोठाबाट प्राप्त प्रमाणहरुको पनि फोरेन्सिक जाँच गरिसकेको छ ।
दुवैको रिपोर्ट आएनआएको बारे भने कुनै जानकारी दिइएको छैन । रोशनीले स्वास्थ्य परिक्षण गराउन राजी भएसँगै किटानी जाहेरी दिन पनि राजी भएको प्रहरी स्रोतले बताएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख एसएसपी उत्तम सुवेदीका अनुसार प्रहरीले त्रुटी रहित हुने गरी अनुसन्धान गरिरहेको छ। ’अनुसन्धानको प्रकृयालाई रफ्तारमा अगाडि बढाएका छौं, छिट्टै यो प्रकृयाले पूर्णता पाउँछ,’ उनले भने ।
गत आइतबार राति महरा पीडित महिला रोशनीको कोठामा पुगेर बलात्कार प्रयास गरेको किटान जाहेरी प्रहरीमा दर्ता भएको छ ।