ब्यवसायको आधार : दृढ इच्छाशक्ति र लगनशीलता

ब्यवसायको आधार : दृढ इच्छाशक्ति र लगनशीलता

चितवनमा जन्मिनुभएका लक्ष्मण सिलवाल अनेकौं सम्भावना र अवसरको खोजीमा राजधानी प्रवेश गर्नुभयो । ठूलो शहर नेपालको राजधानीमा आएपछि परिवेश घुलमिल हुनै पर्‍यो । व्यवसाय सञ्‍चालन गर्ने सोचले उहाँलाई राजधानीसम्म डोहोर्‍यायो । २०६२ साल मंसिर महिनामा काठमाडौं आउनुभएका उहाँ त्यो बेला २७ बर्षको हुनुहुन्थ्यो । पढाइ पूरा नगर्दै उहाँलाई व्यवसाय गर्ने मनसाय बन्यो । घरपरिवारको सहयोग र बैंकबाट केही ऋण लिएर सामान्य फ्लाइटबाट व्यवसाय सञ्‍चालन गर्नुभएका सिलवाल अहिले सफल व्यवसायीको रूपमा चिनिनुहुन्छ ।

बुवाले स्टेशनरीको काम गरिरहनुभएको थियो, सानैदेखि बुवाले गरेको पेशाले आफूलाई पनि यही पेशामा संलग्‍न हुन प्रेरणा मिलेको हो उहाँ भन्नुहुन्छ । २०६२ सालमा काठमाडौं आएर २ जना सहकर्मीको साथबाट व्यवसायको थालनी गरेको बताउनुहुन्छ । त्यो समयमा दक्ष काम गर्ने मान्छे पाउनै मुस्किल पर्थ्यो, (बिगत सम्झिँदै  भन्नुहुन्छ) त्यो बेला मैले बीरगंजबाट २ जना सीपयुक्त कामदार बोलाएर कामको थालनी गरेको हुँ ।

त्यही समय देशको स्थिति ठीक थिएन, देशमा जनआन्दोलनको माहोल चर्किएको थियो अर्कोतर्फ व्यवसाय सञ्‍चालन गर्ने तरखर थियो । आवश्यक सामग्री इन्डियाबाट ल्याउन पर्थ्यो । जसरी तसरी सुरुवाती दिनहरू बित्दै गए । बीरगंजबाट आएका सहकर्मीसँग मिलेर काम सञ्‍चालन गरिरहे । त्यो बेला अफिसका लागि चाहिने फाइलदेखि लिएर स्टेशनरीका सामनहरू बनाएर विभिन्न स्टेशनरी पसलहरूमा लगेर बेच्थे । यही अविधभित्र धेरै कुरा सिक्ने मौका पाए, काम गरेर अनुभव बटुल्दै गएसी अझै नयाँ काम गर्ने उर्जा मिल्दो रहेछ । अर्को व्यवसाय  प्रिन्टिङको काम गर्ने सोच आयो । व्यवसाय गर्ने इच्छा जागेपछि लगानीको जोहोमा जुट्नपर्‍यो तसर्थ चाहिने सामाग्री, मेसिन लगायत काम सञ्‍चालनको लागि आवश्यक स्थानको व्यस्थापन गर्न तिर लाग्नुभो उहाँ ।

सम्पूर्ण कार्य पूरा गरे पश्चात् नयाँ व्यवसाय प्रिन्टिङको काम सञ्‍चालनमा ल्याउनुभयो । जम्मा दुई जना स्टाफको माध्यमबाट काम सुरु गर्नुभएका सिलवालको अफिसमा हाल १५ जना कामदारको साथ र सहयोगमा काम सञ्‍चालन हुन्छ ।  आफ्नै व्यक्तिगत लगानीबाट उहाँले सुरु गर्नुभएको व्यवसायको नाम स्वस्तिक प्रिन्टिङ प्रेस भनेर नामाकरण गर्नुभएको छ । यो काठमाडौंको सोह्रखुट्टेमा उहाँको अफिस छ त्यहीबाट सम्पूर्ण काम सञ्‍चालन गर्नुहुन्छ । अहिले उहाँसँ काम गर्ने कामदारहरू विशेषगरी पुरुषहरूले नै मेसिन चलाउने अपरेटरको काम डिजाइनिङ, मार्केटिङ हेर्नुहुन्छ गर्नुहुन्छ । महिला कामदारले पेपर काउन्ट बाइन्डिङ र फोल्डिङ्गको काम गर्नुहुन्छ, हाल ७ जना महिला र ८ जना पुरुषको संख्यामा कामदार हुनुहुन्छ । बिहान १०-६ बजेसम्म काम सञ्‍चालन गर्ने गरेका छौ  । कहिलेकाहीँ आवश्यकता र काम चाडैँ सिध्याउनुपर्ने हुँदा बढी समयसम्म खटिएर काम गर्नुपर्छ ।

लगभग ७५-८० लाखको लगानीमा सञ्‍चालनमा ल्याइएको व्यवसायले सिलवाललाई फाइदा पुर्‍याएको छ । लगानीअनुसारको नाफा उठ्छ । उहाँको अनुभवमा लगानी सही ठाउँमा गर्‍यो भने सफल व्यवसायी बन्न सकिन्छ । पछिल्लो समयमा उहाँले विशेष गरेर संस्थागत वा बित्तीय सस्थाको काम सञ्‍चालन गरिरहनुभएको छ । उहाँले सेवा प्रदान गरिरहनुभएका संस्थाहरूमध्ये हिमालय बैंक, नेपाल बङ्गलादेश बैंक, सानीमा बैंक, सेन्चुरी बैंक, ज्योति विकाश बैंक र नर्भिक अस्पताल हुन् । हामी उहाँहरूसँग वार्षिक सम्झौता गर्छौ र सोही अनुरूप काम गर्ने गर्छौं । उहाँहरूलाई आवश्यक पर्ने सामाग्री निश्चित अवधिभित्र सकेर बुझाउछौँ । ग्राहकको सन्तुष्टिलाई  ध्यानमा राखेर काम गर्नैपर्‍यो ।

कतिपय साथीहरू व्यवसाय गर्दा सफल नभएको अनुभव सुनाउनु हुन्छ, उहाँहरूको पृष्ठभूमि हेर्ने हो भने दशतिर हात हाल्नुभएको हुन्छ । एउटै काममा दृढ रहनुहुन्न त्यसैले उहाँहरू सफल बन्न सक्नु भएन । व्यवसाय  गर्न दृढ इच्छाशक्ति र लगनशीलता प्रमुख कुरा हुन् । अनुभव भएका व्यवसायमा लगनशीलताका साथ लागि परे व्यवसायमा असफल नहुने तर्क उहाँको छ ।

हामी सर्भिस ओरियन्टेड र माग बमोजिम काम गर्छौं । उत्पादन गरेका सामानलाई सही तरिकाले काट्ने मिलाउने कहिलेकाहीँ केही कमी कमजोरी अक्षरहरूमा त्रुटी देखिएमा सुधार गरेर दिन्छौं  । ग्राहकलाई खुसी पार्न सक्नु ठूलो कुरा हो, उहाँहरू असन्तुष्ट भए व्यवसाय नचल्ला भन्ने डर ।

बजारमा विभिन्न खालका पेपरहरू पाइन्छन, क्वालिटी फरक हुने गर्छ, आवश्यकतालाई मध्यनजर गरेर पेपरको छनोट र प्रयोग हुन्छ । लोप्ताबाट बनेको नेपाली पेपरबाट पनि विभिन्न छपाईका काम हुन्छन् । कहिलेकाहीँ काम गर्ने क्रममा समस्या उत्पन्न हुन्छ मेसिन बिग्रने सामानको मूल्यमा घटबढ यो बेलामा व्यवसायमा समस्या उत्पन्न हुन्छ । अधिकांश सामान बाहिरबाटै मगाउनुपर्छ । सबैभन्दा ठूलो समस्या कोही दक्ष कामदारले काम छोड्यो भने या ऊ बिरामी पर्यो भने काम रोक्नुपर्ने हुन्छ । जो कोहीले काम जानेको हुँदैन सीपयुत्त मान्छे पाइँदैन नयाँ आए पनि काम सिक्नै समय लाग्छ, नयाँ कामदारलाई पुरानाले नै काम सिकाइदिनुहुन्छ अहिलेसम्म यसरी नै चल्दै आएको छ ।

समय सापेक्ष नयाँ प्रविधिको विकास हुँदै गएको छ, कलर प्रिन्टिङको काम भयो, अभाव एउटै कुराको छ हामीसँग दक्ष जनशक्ति छैनन् । यो क्षेत्रमा काम गर्दा फाइदा नै हुन्छ । उहाँ भन्नुहुन्छ म आफैंले यत्तिका समय भो काम गरेको हिजोका दिनमा २ जना कामदार राखेर व्यवसाय सुरु गरे अहिले १५ जना हुनुहुन्छ । व्यवसायलाई प्राथमिकतामा राख्नुपर्छ सफल बन्नलाई धेरै कुराको परित्याग गर्नुपर्छ, मन लगाएर मेहेनत गरे अवश्य सफल भइन्छ । काम सिकेर दक्षता हासिल गरेर काम गरे झनै सफल बन्न सकिन्छ ।

कामकै खोजीमा बिदेश जान पर्दैन, स्वरोजगार बन्ने बाटाहरू धेरै छन, सही सदुपयोग गर्न जानुपर्‍यो । उहाँ भन्नुहुन्छ मैले यही व्यवसाय गर्छु भन्ने सोचेर काठमाडौं आएँ मेहेनत गरेँ सबैभन्दा ठूलो कुरा मेहेनत हो सफल बन्नलाई मेहेनत गर्नैपर्छ । सुरुवातको क्रममा स्टेशनरीको काम अहिले चटक्कै छाडेँ जसको माध्यमबाट म आज  यहाँसम्म छु यसको श्रेय चाहिँ पहिलो पेशालाई नै जान्छ ।

समयानुकूल भए त्यसलाई पनि निरन्तरता दिने सोचमा हुनुहुन्छ । अहिले भन्नुपर्दा प्रिन्टिङ्गबाट सन्तुष्ट छु, परिवारदेखि आफ्ना आवश्यकता यसैका माध्यमबाट चलेको छ । आर्थिक, व्यवसायिक रूपले नै सफल छु । आगामी दिनमा पनि निरन्तरता यही पेशालाई दिने योजना छ, सकेसम्म नयाँ प्रबिधीको माध्यमबाट काम सञ्‍चालन गर्ने सोच छ । हिजो लक्ष्मण सिलवालले स्वस्तिक प्रिन्टिङ प्रेस नाम राखेर व्यवसाय सञ्‍चालन गरेको थियो, आज स्वस्तिक प्रिन्टिङ प्रेसले लक्ष्मण सिलवाललाई समेटेर राखेको हुनाले निरन्तर यसैको प्रगतिको निम्ति लागिपर्छु । व्यवसायको क्षेत्र अङ्गालेको हुनाले दृढ भएर लागिरहने बताउनुहुन्छ । स्वस्तिक प्रिन्टिङ प्रेसकै कार्यालयमा गरिएको कुराकानीमा आधारित