बहिष्करण बढ्दै गएको निष्कर्ष
१२ असोज (धनगढी)
सेवा र अवसरमा पहुँच नभएकाहरु बहिष्करणमा पर्दै गएको गुनासो बढ्न थालेको छ । स्थानीय तहदेखि प्रदेश र संघसम्म जनप्रतिनिधि र कर्मचारीहरुले आफुकेन्द्रित कार्यहरु मात्र गर्ने प्रचलन बढेकाले सेवा र अवसरहरुमा विपन्नहरुको पहुँच घट्दै गएको प्रदेशका सांसदहरुले स्विकारेका हुन् ।
सहकर्मी समाजद्धारा आइतबार धनगढीमा आयोजित सामाजिक समावेशीकरण, संवैधानिक र कानुनी ब्यवस्था तथा कार्यान्वयनको अवस्था विषयक अन्तरक्रियाका सहभागीहरुले ब्यवस्था बदलिएपनि अवस्था नफेरिएको स्विकारे ।
सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले संविधानको मर्म अनुसार सबै तिनवटै सरकारहरुले कार्य गर्नु पर्नेमा जोड दिए । ‘अरुलाई मात्र दोष देखाउने चलन हामी सबैमा हावी भयो’ मन्त्री सुवेदीले भने ‘सबै निकाय र ब्यक्ति जिम्मेवार हुदैपर्छ ।’
पूर्व मन्त्री दीर्घ सोडारी, नेकपाका सचेतक तारा लामा तामाङ, सांसद महेशदत्त जोशी, जिसस कञ्चनपुरका प्रमुख फैरु तामाङ, जिसस कञ्चनपुरकी उप प्रमुख सानु बुढथापा, पुनर्वास नगरपाकिाका प्रमुख जीवनराम थापा लगायतले वर्तमान अवस्थामा समावेशीकरण र कानुन कार्यान्वयनको अवस्थाको चित्रण गरेका थिए ।
चम्फा भण्डारीले सञ्चालन गरेको उक्त कार्यक्रममा अशोक सिंह, जोहारी चौधरी र सावित्रा घिमिरेले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यशालाको अध्यक्षता सहकर्मीका निर्देशक अमर ऐरले गरेका थिए ।
