पहुँच भएकालाई मनपरी आर्थिक सहायता बाढ्दै सरकार
२१ पुस (काठमाण्डौ)
पूर्व राष्ट्रपतिदेखि बहालवाला सभामुखसम्मलाई सहायता
सरकारले पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई पटक पटक गरेर ६२ लाख उपचार खर्च दिएको छ । २१ साउन ०७३ मा उनलाई भारतमा उपचार गराउन १० लाख दिने निर्णय भएको थियो । त्यसपछि उनले उपचार गर्न अमेरिका जाने भनी सरकारसँग थप रकम माग गरेका थिए । ७ भदौ ०७३ मा सरकारले उनलाई ५० लाख थप दिने निर्णय गरेको थियो । त्यस्तै, भारतमा उपचार गराउँदा लागेको खर्चबापत यादवले ०७५ माघमा थप २ लाख सरकारबाट बुझे ।
सुदूरपश्चिमका तत्कालिन प्रदेश प्रमुख मोहनराज मल्लको स्वास्थ्य उपचारका लागि सरकारले ३६ लाख ३६ हजार दिएको छ । भारतमा उपचार गर्न जाँदा ‘एयर एम्बुलेन्स’को भाडा र उपचारमा लागेको खर्च भुक्तानी गरिएको हो । मन्त्रीपरिषद्ले २९ कात्तिक ०७५ मा गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई ७ लाख १९ हजार उपचार खर्च दिएको छ । गृह मन्त्रालयमार्फत सो रकम निकासा भएको छ ।
भ्रष्टाचार प्रमाणित भएर जेल सजाय भोगेका तत्कालिन कांग्रेस नेता खुमबहादुर खड्कालाई पनि सरकारले उपचार खर्च दिएको छ । १४ चैत ०७४ मा मन्त्रीपरिषद्ले उनलाई १५ लाख दिने निर्णय गरेको थियो । खड्का उपचारकै क्रममा मृत्यु भएको थियो । सरकारले पूर्वमन्त्री तथा कांग्रेस नेता रामकृष्ण ताम्राकारलाई १५ लाख आर्थिक् सहायता दिएको छ । त्यस्तै, पूर्व रक्षामन्त्री भिमसेनदास प्रधानले पनि ०७४ फागुनमा २५ लाख उपचार खर्च बुझेका छन् । कांग्रेसका नेता नरहरी आचार्यले १० लाख लिएका छन् । त्यस्तै, पूर्वसामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीलाई १० लाख दिइएको छ ।
पूर्व उपप्रधानमन्त्री तथा तत्कालिन एमाले नेता भरतमोहन अधिकारीलाई १० लाख र राष्ट्रिय सभाका पूर्वसदस्य भिक्षु महाअस्थवीरलाई १० लाख ८० हजार उपचार खर्च दिइएको छ । त्यस्तै, साहित्यकार मदनमणी दीक्षितलाई ७ लाख दिने सरकारको निर्णय छ । उनीहरू तीनै जनाको मृत्यु भइसकेको छ । तत्कालिन उद्योगमन्त्री मात्रिका यादवले पनि सरकारबाट उपचार खर्च लिएका छन् । मन्त्रिपरिषद्ले २८ फागुन ०७५ मा उनलाई १ लाख १३ हजार दिने निर्णय गरेको छ । त्यस्तै, पूर्वसांसदद्वय जागृतप्रसाद भेटवाललाई १५ लाख र टुकराज सिग्देललाई १० लाख दिइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव डिल्लीराज घिमिरेले पनि दुई पटक गरेर १२ लाख उपचार खर्च लिएका छन् । मन्त्रीपरिषद्ले उनलाई ०७५ फागुनमा पाँच लाख र ०७६ साउनमा ७ लाख दिने निर्णय गरेको थियो । त्यस्तै, ०७४ चैतमा डिआइजी राजेन्द्रमान श्रेष्ठलाई १० लाख दिने निर्णय गरेको छ । जलस्रोत तथा सिंचाईं विभागका इन्जिनियर पुरुषोत्तम खरेललाई ५ लाख र विरगञ्ज भन्सार कार्यालयका नासु संजिव कुमार सिंहलाई ५ लाख दिइएको छ ।
सरकारले ०७५ साउनमा गोरखा फुजेलकी गंगामाया अधिकारीलाई विशेष राहत भन्दै २० लाख दिने दिएको छ । उनी अनसनकै क्रममा मृत्य भएका नन्दप्रसाद अधिकारीकी पत्नी हुन् । त्यस्तै, राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गराउँदा लागेको खर्चबापत १४ लाख ९८ हजार दिइएको छ । २० जेठ ०७५ मा हेटौंडा निवासी श्रीचन्द्र शर्मालाई दश लाख दिने निर्णय गरेको छ । गृह मन्त्रालयमार्फत उनलाई भुक्तानी गरिएको छ ।
भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई २० असार ०७५ मा १० लाख दिइएको छ । उनीसहित अन्य १२ जनालाई ०७६ साउनमा दुई पटक गरेर ५९ लाख दिने निर्णय पनि भएको छ । त्यस्तै, वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष रोहन गुरुङलाई ३० लाख आर्थिक सहायता दिइएको छ । २० र २३ वैशाख ०७६ मा मन्त्रीपरिषद्ले उनलाई रकम दिने निर्णय गरेको हो । फरार अभियुक्त वृजकिशोर गिरीको उपचारमा लागेको दुई लाख ८८ हजार पनि सरकारले बेहोरेको छ ।
पूर्वरक्षामन्त्री तथा कांग्रेस नेता भीमसेनदास प्रधानले पनि ०७४ फागुनमा २५ लाख उपचार खर्च लिएका छन् । कांग्रेसका नेता नरहरि आचार्यले १० लाख लिएका छन् । त्यस्तै, पूर्व सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीलाई १० लाख दिइएको छ । तनहुँका पूर्वसांसद टुकराज सिग्देललाई १० लाख उपचार खर्च दिइएको छ । मन्त्रिपरिषद्ले ३ मंसिर ०७५ मा उनलाई सहयोग दिने निर्णय गरेको छ ।
कहिले कति बाँडियो सहायता ?
फागुन ०७४ – १ करोड ४२ लाख १४ हजार
चैत ०७४ – २ करोड १६ लाख ९१ हजार
वैशाख ०७५ – १ करोड २६ लाख ५० हजार
जेठ ०७५ – १ करोड ५ लाख
असार ०७५ – १ करोड ५० लाख ४७ हजार
साउन ०७५ – ९८ लाख ५१ हजार
भदौ ०७५ – १ करोड ५१ लाख २१ हजार
कात्तिक ०७५ – १० लाख
मंसिर ०७५ – १ करोड ७ लाख १९ हजार
पुस ०७५ – २ करोड ३३ लाख ६४ हजार
माघ ०७५ – ७९ लाख ९५ हजार
फागुन ०७५ – १ करोड २१ लाख
चैत ०७५ – १ करोड ५१ लाख
वैशाख ०७६ – ३ करोड ४७ लाख ९० हजार
जेठ ०७६ – १ करोड ४५ लाख
असार ०७६ – १ करोड १५ लाख ६९ हजार
साउन ०७६ – ६५ लाख
भदौ ०७६ – १ करोड १९ लाख
०७४ फागुनदेखि ०७५ चैतसम्म
१६,९३,५६,९४५
०७६ वैशाखपछि
७,९२,६०,५६६
कुल २४,८६,१७,५११
समाचार स्रोत नयाँ पत्रिका