नक्कली भुटानी शरणार्थी प्रकरण : ‘भिआइपी’ नै अनुसन्धानको घेरामा

नक्कली भुटानी शरणार्थी प्रकरण : ‘भिआइपी’ नै अनुसन्धानको घेरामा

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप उच्च राजनीतिक तथा प्रशासनिक व्यक्ति ‘भिआइपी’ को समेत संलग्‍नता रहेको हुन सक्ने भन्दै प्रहरीले त्यसतर्फ अनुसन्धान सोझ्याएको छ। पूर्वगृहमन्त्री, पूर्वगृहसचिवको प्रत्यक्ष संलग्नता खुलेपछि प्रहरीले अनुसन्धानको दायरा अझ फराकिलो बनाउन लागेको हो।

सरकारद्वारा गठित कार्यदलले तयार पारेको प्रतिवेदन तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई बुझाइएको थियो तर सो प्रतिवेदन हालसम्म गोप्य छ। गिरोहले सक्कली प्रतिवेदन प्राप्त गरी त्यसको अनुसूचीमा अन्य व्यक्तिको नाम थपेको हो। गोप्य रहेकै बेला गिरोहले यति ठुलो चलखेल गरेको अनुसन्धान प्रहरीले गरिरहेको छ। 

पुनर्वासका लागि तेस्रो देश नगईकन नेपालमा बसेका भुटानी शरणार्थीको समस्या समाधानका लागि २०७६ सालमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गृह मन्त्रालयका सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो।

कार्यदलले प्रतिवेदन बनायो तर सार्वजनिक गरिएन।  ठगीमा संलग्न गिरोहले त्यो प्रतिवेदन हात पार्दै नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहको योजना अनुरूप त्यसमा उपसूची थपेर छुटेका र तेस्रो मुलुकमा जान चाहने शरणार्थी भन्दै नक्कली नाम राख्यो। जसमा झापा, मोरङ, सुनसरी, गोरखा, कास्की, बागलुङ, अर्घाखाँची र दाङ लगायत जिल्लाका ८ सय ७५ जना नेपाली रहेको बताइएको छ। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गिरोहले प्रतिव्यक्ति १० लाखदेखि ५० लाख रूपैयाँसम्म असुलेको प्रहरी अनुसन्धानले देखाएको छ।

पैसा लिएर अमेरिका नपठाइदिएको भन्दै सुरूमा ८१ जनाले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएका छन्। सोही जाहेरीपछि  प्रहरी अनुसन्धान चलिरहेको छ। सुरूमा जाहेरीका आधारमा प्रहरीले चैत १२ गते गिरोहका नाइके भनिएका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टंक गुरुङलाई पक्राउ गरेको थियो। ती तीन जनासँगको बयानका आधारमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

अहिलेसम्मको अनुसन्धानले यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे (यसअघि गृह मन्त्रालयका सचिव), पुर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाण, एमाले उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक, थापा गृहमन्त्री हुँदा सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राई, उनका छोरा निरजसहितको संलग्नता देखाएको छ।

यो प्रकरणमा अझै प्रभावशाली नेताहरु पनि तानिनसक्ने प्रहरी स्रोतको भनाइ छ।