गरिमा धान पीडित किसानहरु आन्दोलित
सुदीप थापा, २२ माघ (धनगढी)
कैलालीमा गरिमा धानको बीउबाट पीडिट किसनाहरु क्षतिपूर्ति नपाएको भन्दै आन्दोलित भएका छन् । उनीहरुले मसुरियाबाट धनगढी आएर बुधबार सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय घेराउ गरेका छन् । त्यसक्रममा उनीहरुले मुख्यमन्त्रीलाई समेत ज्ञापन पत्र बुझाएका छन् । धनगढीको चौराहाबाट नाराबाजी गर्दै मन्त्रालय पुगेका थिए । एक घण्टासम्म मन्त्रालय घेराउ गरी धर्ना बसेका उनीहरुले कृषिमन्त्री विनिता चौधरीलाई ज्ञापनपत्र बुझाएर नारा जुलुश गर्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पुगेर ज्ञापन पत्र बुझाए । किसान संघर्ष समितिले मुख्यमन्त्री र कृषि मन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा छिटो भन्दा छिटो क्षतिपूर्ति दिलाउन र गरिमा धानको बीउको नाममा किसानलाई ठग्ने कम्पनीलाई कारबाही गर्न माग गरिएको छ ।
कृषिमन्त्री चौधरीले गरिमा पीडित किसानलाई प्रदेश सरकारले तत्कालका लागि धानको विउ र मलमा सहयोग गर्न सक्ने बताइन् । उनले गरिमा पीडित किसानलाई क्षतिपूर्ति दिन संघ सरकारले प्रक्रिया अगाडि बढाइसकेको समेत बताइन् ।
किसानको आन्दोलनमा एेक्यवद्धता
क्षतिपूर्ति र गरिमा जातको बीउको नाममा किसानलाई ठग्ने कम्पनीलाई कारबाहीको माग गरेर आन्दोलन गरिरहेका किसानको आन्दोलनलाई विभिन्न संघसंस्थाहरुले समेत ऐक्यबद्धता जनाएका छन् ।
फियान नेपाल, याक नेपाल, राष्ट्रिय कृषक समूह महासंघ, जिल्ला खाद्य अधिकार सञ्जाल, प्रदेश खाद्य अधिकार सञ्जाल र सुदूरपश्चिम खाद्य अधिकार मिडिया ग्रुपले किसानको आन्दोलमा ऐक्यवद्धता जनाएका हुन् । उनीहरुले आन्दोलनमा ऐक्यवद्धता जनाउँदै बुधबारको आन्दोलनमा सहभागिता जनाएका थिए