‘कोरोनामा ९३ करोड खर्च भयो भन्ने हल्ला हो’ – मन्त्री सुवेदी
उत्तम थापा, २७ साउन (धनगढी)
कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेश सरकारले ९३ करोड खर्च गर्यो भन्ने प्रतिपक्षी दल कांग्रेसको आरोप पूर्वाग्रही र तथ्यहीन हल्ला मात्र भएको सामाजिक विकास मन्त्री कृष्ण राज सुवेदीले बताएका छन् ।
मंगलबार धनगढीमा आयोजित आर्थिक वर्ष ७७/७८ को स्वास्थ्य सामाग्री खरिद कार्ययोजना तयारी तथा कोभिड १९ को प्रतिकार्यको लागि सामग्री आपुर्ति व्यवस्थापन सम्वन्धि २ दिने कार्यशाला गोष्ठिमा मन्त्री सुवेदीले सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा गरेको खर्चबारे स्पष्ट गरेका हुन् ।
‘करिब ६० करोड कोरोना कोषमा जम्मा भएको हो । त्यसमध्ये २९ करोड स्थानीय तहलाई सिधै पठाइएको हो । भेन्टिलेटर किन्न, ३ वटा पिसिआर मेसिन किन्न र प्रत्येक स्थास्थ्य संस्थालाई दिन, मेसिन किन्न ११ करोड ५० लाख खर्च भएको छ’ मन्त्री सुवेदीले भने, ‘प्रतिपक्षी दलका नेताहरुले थोरै पनि अध्ययन नगरी हावामा आरोप लगाइरहेका छन् ।’
उनले अहिलेको कठिन परिपस्थितीमा पनि स्वास्थ्यकर्मीले उच्च मनोवलका साथ काम गरेकोमा धन्यवाद दिए । स्वास्थ्य निर्देशनालयका प्रमुख गुणराज अवस्थीले माग र आपुर्तिको खाडल धेरै भएको बताए । उनले त्यसलाई पुर्ति गर्न धेरै गाह्रो भएपनि प्रयास गरिरहेको जानकारी दिए । उनले भने, ‘विगतमा स्वास्थ्य सेवा विभागले कार्यक्रम दिन्थ्यो, निर्देशिका दिन्थ्यो अहिले प्रदेश तहमा दिएको छ । त्यसैले जिल्लाको आवश्यक्ता अनुरुप नै सवैको कार्यक्रम समेटेर निर्देशिका तयार भइरहेको छ ।’
