अब बलात्कारका घटना मिलाउनेलाई ३ वर्ष कैद
काठमाडाैं : मन्त्रिपरिषद्ले बलात्कार सम्बन्धी अध्यादेश जारी गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले जानकारी दिइन् ।
मन्त्री अर्यालका अनुसार बलात्कारका घटनामा मिलापत्र गराउनेलाई ६ महिनादेखि ३ वर्ष कैद र ३० हजार जरिवाना हुने व्यवस्था अध्यादेशमा छ । मिलापत्र गराउने व्यक्ति सार्वजनिक पद धारण गरेको भए ६ महिना कैद हुनेछ ।
त्यस्तै अध्यादेशमा बलात्कारको सजायसमेत बढाइएको छ । १४ देखि १६ वर्षको व्यक्तिको बलात्कारमा १२ देखि १६ वर्षको कैद सजाय हुनेछ । १६ देखि १८ वर्षको व्यक्तिको बलात्कारमा १० देखि १४ वर्षको कैद सजाय हुनेछ । त्यस्तै १८ वर्ष वा माथिका व्यक्तिको बलात्कारमा १० देखि १२ वर्षसम्मको कैद सजाय हुने व्यवस्था अध्यादेशमा गरिएको छ ।