अछामकाे साँफेबगरमा ६० छाउगोठ भत्काइए

अछामकाे साँफेबगरमा ६० छाउगोठ भत्काइए

९ पुस (अछाम)
अछामकाे साँफेबगर–३ मा ६० छाउगोठ भत्काइएको छ । वडाध्यक्ष कृष्ण बुढाका अनुसार ८ सय २६ घरधुरीमा छाउगोठमा बस्ने गरेरनगरेको र छाउ बार्ने अवस्थाबारे अनुगमन गरि ६० वटा छाउगोठ भत्काइएको हो । ‘जबसम्म छाउगोठ रहन्छन्, तबसम्म तिनमा ज्यान जाने सम्भावना रहन्छ भन्ने निष्कर्ष निकाल्यौं,’ उनले भने, ‘एकचरण सिद्धेश्वरका सबै घरधुरी अनुगमन गरेर सकियो । पुराना संरचना, सानो घर, एउटा मात्रै कोठा भएका घरमा अझै पनि समस्या देखियो ।’ गत मंसिर १५ गते यही वडामा २१ वर्षीया पार्वती बुढा रावतको छाउपडी गोठमा मृत्यु भएको थियो ।
वडाध्यक्ष बुढाका अनुसार भौतिक संरचना अभावले छाउगोठमा बस्नेहरूको बाध्यतालाई वडा र नगरबाट विशेष पहल गरेर घरमा बसाउने उनले बताए । ‘केही घरमा महिनावारी बार्नलाई सुरक्षित बसेको र व्यवस्थित कोठा पनि भेटिए । तर ती कोठा घरसँगै जोडिएका भने छैनन्,’ उनले भने, ‘त्यसरी बसेकाहरूलाई पनि समयमै व्यवस्थित हुन आग्रह गरेका छौं ।’
साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले घोषणाका लागि मात्रै छाउगोठमुक्त नभनिने बताए । ‘छाउगोठमुक्त वडा घोषणाका लागि ११ चरण पार गर्ने नीति बनाउन थालेका छौं,’ उनले भने, ‘प्रहरी, पत्रकार, प्रशासनको उपस्थितिमा अन्तिम चरणको अनुगमन गर्छौं ।’ छाउगोठ भत्काएर त्रिपाल टाँगेर बस्ने गरेको पनि यसअघि भेटिएकाले ‘मेरो घरमा छाउपडी गोठ छैन’ भन्ने परिचयपत्र दिने उनले बताए । ‘गोठमा नबस्नुहोस् भन्दै आग्रह गर्ने हो । त्यति भन्दा पनि छाउगोठमा बस्न छोडेनन् भने कानुन कार्यान्वयनतर्फ जोड दिन्छौं,’ उनले भने, ‘राति पनि छाउगोठमा बसेरनबसेको अनुगमन गर्छौं । गोठमा बसेको भेटिए कानुनअनुसार कारबाही गर्छौं ।’