सुदूर पहाडका गाउँमा सुरु हुदैछ दसैको तामझाम

सुदूर पहाडका गाउँमा सुरु हुदैछ दसैको तामझाम

अछाम र बाजुराका गाउँमा परदेशिएकाहरु बल्ल गाउँ फर्किंदै
२ कार्तिक (बाजुरा)
दसैं सकिएर तिहारको पखाइ छ । तर सुदूरपश्चिमका पहाडी जिल्ला अछाम र बाजुराका कतिपय गाउँमा भने दसैंको रौनक बल्ल सुरु हुँदै छ । परदेश भएकाहरू भर्खर गाउँ फर्किन थालेका छन ।
बाजुरा बाह्रविस सेरालाबाडाका भारतमा चौकीदारी गर्ने अधिकांश पुरुष दसैं मनाउन भर्खर घर फर्किन थालेका छन । गाउँको दसैं भाइटीकापछिको अष्टमीमा छ । अछामको प्रसिद्ध गाज्रा र मार्कुको दसैं पनि ढिलै छ । गाउँलेहरू दसैंका लागि ठूल्ठूला रागो किन्ने, देउडालगायत अन्य सांस्कृतिक कार्यक्रमहरू आयोजना गरेर दसैं जात्रा ब्यवस्थित गर्ने तयारीमा जुट्न थालेका छन् । ‘दसैंको तयारी गर्नुपर्ने भएकाले म अलि अगाडी आएँ,’ भारतको दिल्लीबाट घर फर्किदै गरेका सेरालबाडाका खड्क सेरालाले भने ‘दिल्लीमा रहेका अरु दाजुभाई पनि अब फर्किने तरखर गर्दैछन् ।’

ग्रामीण क्षेत्रका कतिपय विकटवस्तीका बासिन्दाहरू दसैंको टीका औपचारिकतामा मात्र मान्ने गर्छन् । ‘गाउँको मुख्य दसैं भने पुस्तौंदेखि चलिएआएको लक्ष्मीपूजापछिको अष्टमीमा मनाउने परम्परा छ’ सेरालाले भने ‘बडादसैंको टीकामा फाट्टफुट्ट संख्यामा मात्र घर फर्किने परम्परा भए पनि गाउँको सामूहिक दसैं मान्न भने सकभर कसैले छुटाउदैनन् ।’
विगत झै यस वर्ष पनि २ वटा जाते राँगा (छिप्पिएका ठूला राँगा) किन्ने योजना रहेको गाउँका अगुवा देबबहादुर सेरालाले बताए बताए । ‘२ वटा राँगो किन्न डेढ लाख छुट्टयाएका छौं,’ सेरालाले भने । हरेक परिवारको भागमा हजार रुपैयाँ परेको उनले बताए ।
बाह्रविसको सेरालाबाडा बाजुराकै ठूलो दलित वस्ती हो । यस गाउँमा १ सय ३० बढी परिवारको बसोवास छ । दसैं खर्च जुटाउन उनीहरूले भारतमै महिनावारी रकम संकलन गरेर कोष बनाएका छन् । ‘हरेक वर्ष त्यही कोषबाट दसैं खर्च जुटाउँछौं’ देबबहादुरले भने ‘दसैं खर्चका साथै गाह्रो असजिलो परेका बेला त्यही कोषका समस्या टार्ने गरेका छौं ।’ अपुग रकम गाउँमा छोरा जन्मिएर छैठी खेलाएका परिवारबाट थप गराउने चलन रहेको उनले बताए ।
भव्य जात्रा हुने भएकाले यति बेला वल्लोपल्लो गाउँका बासिन्दाहरूलाई पनि बाजुराको सेरालाबाडा र अछामको गाज्रा र मार्कूको दसैंको पखाई रहेको स्थानीय बासिन्दाहरू बताउँछन् । स्थानीय दसैंमा राँगो छडोहाल्ने (दौडाएर लखेट्दै निश्चित ठाउँमा पुर्‍याएर काट्ने) चलन छ । रागोछडो हालेको रमाइलो र रातभर देउडाका भारी खेल र अन्य सांस्कृतिक कार्यक्रमहरूसमेत आयोजना गर्ने परम्परा भएकाले यतिबेला सेरालबाडालगायतका गाउँमा हुने दसैको प्रतिक्षा सबैतिरका बासिन्दालाई उत्तिकै छ ।

‘पोहोर साल बाजुराको सेरालबाडा र अछाममा गाज्राको दसै हेर्ने मौका मिलेन । यो पाली त नछुटाउने विचार छ,’ बाह्रबीसका धर्म साउँदले भने, ‘यहाँका दसैंमा भब्य रमाइलो हुन्छ ।’ गाज्रा र मार्कुको दसैमा त सयौं रागाहरू छडाहाल्ने चलन छ । टाढाटाढाबाट आएका चर्चित गिताउडे महिला पुरुषले रातभर खेल्ने देउडाका भारी खेल पनि आकर्षक हुन्छन् ।
पहाडी क्षेत्रमा तिहारभन्दा दसैंकै महिमा बढी मनाइन्छ । परम्परागत रीत र चलनअनुसार धेरै परिवारमा भाकल पुजा पनि यही बेला हुन्छ । दिदीबहिनीहरू पनि टीका थाप्न दसैंमै माइतीघर आउने चलन भएकाले रौनक थपिन्छ ।
सुदूरपश्चिमका पहाडी जिल्लामा दसैंको मनाउने मौलिक परम्पराहरू कायमै भएकाले पनि दसैंमा चहलपहल बढ्छ । धार्मिक परम्पराअनुसार रागो बोकाको बलीपूजा गर्ने, देउडा खेल्ने, आपसमा भेटघाट गर्ने चलन छ । त्यही भएरपनि टाढा भएकाहरू चाडवाडकै मौकामा घरमा एकजुट हुन्छन् । गाउँमा तिहारसम्मै दसैं पर्व चलिरहन्छन् ।
दसैंतिहारको अवधिमा राँगो जुँधाउने चलनले पहाडी जिल्लामा धेरैलाई आकर्षित गर्ने गरेको छ । राँगो जुँधाई दसैंबाट सुरु भएर लक्ष्मीपूजासम्मै चलिरहन्छन् । वर्षा अवधिभर गोठालाहरूले आफ्नो राँगोलाई लेकमा राखेर स्याहार गरी पालेनपोषण गर्दछन् । दसैं लागेपछि लेकाली क्षेत्रमा चिसो सुरु हुने भएकाले गोठालाहरू भैसी रागो औल झार्छन् । राँगो मालिक निश्चित एक जना हुने भएपनि गाउँटोलका सबैले अपनत्व राख्छन् ।
जुधाईका बेला मालिक भन्दा पनि गाउँकै नाम आउने भएकाले सबै गाउँवासीले अपनत्व रहने मार्तडीका स्थानीय बताउँछन् । यस परम्पराले सामाजिक एकतालाईसमेत बलियो बनाई राख्ने विश्वास गरिन्छ । ‘गाउँगाउँका राागा जुाधाएर रमाइलो गर्ने चलन पुरानै हो’ कुल्देवमाण्डौंका हिक्मतबहादुर शाहले भने ‘जित्ने रागो र गाउँवासीको शान बेग्लै हुन्छ । जित्नेको मूल्य बढ्छ । गाउँकै नामना चल्छ । हार्ने राँगोको मुल्य घट्छ ।’
पोहार मार्तडीको बाउलीमा रागो जुँधाईको रमाइलो भब्य भएको थियो । यो वर्ष जुँधाइको मैदानमा ल्याइएका रागाहरू त्यतिधेरै जुधेनन् । ‘पोहोर सालको जस्तो हाराजित यो पाली हुन पाएन’ मार्तडीका धनबहादुर रावलले भने ‘एक पक्षको रागो चाडै भाग्यो ।’
अघिल्लो दसैंमा बाउलीको एक जोर राँगा जुधेका थिए । रावलको राँगोले जित्यो । विजेता राँगोले मात्रै स्यावासी पाएन्, पुरै रावलबाडीको नाम आयो । राँगो धनी नरी रावलको चर्चा त सबै दर्शकको मुखमुखमा झुण्डियो । ‘जित्ने राँगोलाई किन्ने घोषणा गरेका हिक्मतबहादुर शाहले ४० हजार दिएर जुँधाई मैदानबाटै आफ्नो बनाए’ रावलेले भने ।
कान्तिपुरबाट अर्जुन शाह

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •