बीपीका आखिरी दिनहरू

बीपीका आखिरी दिनहरू

“मैले जनमत संग्रहको नतीजाको विरोध गरेको भए गृहयुद्ध हुने डर थियो। सयकडौं मानिस मर्न सक्थे। मैले इतिहासको त्यत्रो बोझ बोकेर बाँच्न चाहिनँ।”

नरेश कोइराला
जुलाई २०, १९८२ को दिउँसो हङकङमा पट्यारलाग्दो घाम लागेको थियो। त्यही साँझ म चार दिनका लागि ब्यांकक जानेवाला थिएँ। बीपी कोइरालालाई नेपालबाट उपचारार्थ ब्यांकक लगिएको करीब तीन-चार दिन भइसकेको थियो। बीपीको स्वास्थ्यका बारेमा म हरेक दिन गिरिजाबाबु (हामी परिवारमा सानुबुबा भन्थ्यौं)सँग जानकारी लिन्थेँ‍।

भ्रमणको तयारीका लागि म आधी दिनमा कार्यालयबाट घर फर्केर दिउँसोको खाजा खाँदै थिएँ। टेलिफोनको घण्टी बज्यो। ईश्वरी (मेरी जहान)ले सानुबुबाको फोन ब्यांककबाट भनेर मेरो हातमा थमाइदिइन्। “अब तिमी नआऊ। हामी सान्दाजुलाई भोलि नेपाल लग्दै छौं। डाक्टरले त्यही सल्लाह दिए। अब आश भएन।”

यस बाहेक खास कुरा भएन। म पनि बोल्न सकिनँ, सानोबुबालाई पनि त्यस्तै भयो होला। हवस् भनेर मैले टेलिफोन राखिदिएँ। चुप लागेर भारी मन थाम्दै गर्दा म हाम्रो अपार्टमेन्टको बार्दलीमा पुगेछु।

त्यो अपार्टमेन्ट साउथ चाइना सीतिर फर्केको २८ तले कम्प्लेक्समा चौधौं तलामा थियो। त्यो बार्दलीबाट टाढा तीव्र घाममा टल्किएको शान्त समुद्र देखिन्थ्यो। मेरो मनमा भने अनेक तर्क-वितर्कको आँधी चलिरहेको थियो।

म त्यही बार्दलीमा करीब दुई वर्ष अगाडि बीपीसँग भएका भलाकुसारी सम्झिन थालें। जापानको सोसलिस्ट पार्टीको निमन्त्रणामा त्यहाँको कार्यक्रम सिध्याएर नेपाल फर्किंदा बीपी ५-६ दिनका लागि हामीसँग बस्नुभएको थियो। उहाँसँग बुनु दिदी (बीपीकी बहिनी) र सुशीला आमा (बीपीकी धर्मपत्नी) पनि हुनुहुन्थ्यो।

बीपी जापान जानुभन्दा अगाडि नै राजा वीरेन्द्रले मे १९८० मा गराएको ‘सुधारिएको पञ्चायती व्यवस्था’ अथवा ‘बहुदलीय व्यवस्था’ मध्ये एक छान्न भएको जनमत संग्रहमा बीपीले समर्थन गर्नुभएको बहुदलीय पक्ष करीब चार लाख भोटले हारेको घोषणा भइसकेको थियो।

जनमत संग्रहमा पञ्चायत पक्षको व्यापक धाँधलीले बहुदल हारेको भन्ने अत्यधिक जनविश्वास थियो। जनमत संग्रहको नतीजा स्वीकार नगर्नुस् भनेर बीपीमा बहुदलवादीहरूको तीव्र दबाब थियो। तर, बीपीले नतीजा स्वीकार गर्नुभयो। उहाँको तर्क थियो- ‘चुनावमा भाग लिएपछि त्यसको नतीजा स्वीकार गर्नैपर्छ।’ बीपीका अनन्य मित्र गणेशमान सिंहले पनि उहाँको निर्णयको भर्त्सना गर्नुभयो। कम्युनिष्टहरूको विरोधको त कुरै थिएन। बीपीको करीब पाँच दशक लामो राजनीतिक जीवनमा ती दिनहरू सायद सबैभन्दा निराशाजनक थिए।

हङकङस्थित अपार्टमेन्टको बार्दलीमा बीपी, सुशीला आमा, बुनु दिदी र लेखक।
त्यतिखेर बार्दलीमा उभिँदा जनमत संग्रहको हारको घाउ आलै थियो। बीपीलाई पनि, मलाई पनि। म हङकङबाट जनमत संग्रहको समाचार प्रेषित गर्न गएका विदेशी पत्रकारहरूलाई नेपाल जानुभन्दा पहिले नेपालको राजनीतिक स्थितिबारे जानकारी गराउँथें।

जनमत संग्रह हारेपछि मेरो एउटा अस्ट्रेलियन साथीले भनेको अहिले पनि हेक्का छ, “यु हायड अ चोइस् बिट्विन कन्टिन्युइङ टु लिभ इन चेन्स अर फ्रिडम, यु चुज चेन्स। आई डु नट् अन्डरस्ट्यान्ड।” (तिमीहरूलाई जन्जीरमा बाँधिएर बस्ने कि स्वतन्त्र भएर बस्ने भन्ने रोज्ने मौका थियो। तिमीहरूले जन्जीर रोज्यौ, मैले बुझ्न सकिनँ।)

मैले बीपीलाई भनें, “बाबा (हामी घरमा उहाँलाई बाबा नै भन्थ्यौं) जनमत संग्रहको नतीजा हेर्दा मलाई यो सबै नागरिकले मत दिन पाउनुपर्छ भन्ने कुरा उचित लागेन। मान्छेले कुरा बुझ्दा रहेनछन्, नत्र कसरी पञ्चायतले जित्थ्यो? सायद महेन्द्रको स्नातक क्षेत्र जस्तै पढे-लेखेकाले मात्रै मत दिन पाउने व्यवस्था पो गर्नुपर्छ कि जस्तो लाग्यो।”

बीपीले एक सेकेन्ड पनि नकुरीकन अलिक उत्तेजित भएर ठाडो मतिर हेरेर भन्नुभयो, “तेरो कुरा र हरेक तानाशाहको कुरा एउटै हो। तानाशाहहरूले पनि साधारण जनताले केही जान्दैनन्, उनीहरूका कुरा मैले मात्र जान्दछु, त्यसैले तिनको भाग्यको निर्णय पनि मैले मात्र गर्न सक्छु भनेर अधिकारबाट वञ्चित गर्छन्। यस्तै सोचाइबाट जन्मेका हुन्- हिटलर र स्टालिन।”

हङकङस्थित ओसन पार्कमा बीपी।
मेरा लागि बीपीको उत्तर अप्रत्याशित थियो। म स्तब्ध भएँ। तर, मसँग प्रतितर्क थिएन। प्रजातन्त्र जनता शिक्षित नभएको मुलुकमा चल्दैन भन्ने तर्क गर्ने विद्वान्‌हरू जताततै छन्, त्यसलाई नमान्ने पनि उत्तिकै छन्। त्यो अर्कै बहसको विषय भयो। तर, मेरो प्रश्नको स्वतस्फूर्त जवाफले बीपीको प्रजातन्त्रप्रतिको प्रतिबद्धता, नेपाली जनताप्रतिको विश्वास र सम्मान दृढताका साथ प्रतिबिम्बित गर्‍यो।

तैपनि उहाँको जवाफ मेरो मनमा फनफनी घुमिरहेको थियो। बीपी एक्लै बस्दा टेलिभिजनमा बच्चाहरूको कार्टून र त्यस्तै कार्यक्रमहरू हेर्न रुचाउनुहुन्थ्यो। जिन्दगीभरि कोलाहल र जालझेलमा घेरिएर बसेको भएर होला, बच्चाहरूको निष्कपट, पवित्र र निर्दोष व्यवहार शायद उहाँका लागि प्रिय थियो।

त्यस्तै, बेलुकाको खाना खाएपछि बीपी कार्टून हेरिरहनुभएका वेला मैले फेरि जनमत संग्रहको कुरा उठाएँ, “बाबा, तपाईंलाई थाहा थियो, जनमत संग्रहमा पञ्चायतीतर्फबाट धाँधली भयो भन्ने। किन नतीजा स्वीकार गर्नुभयो?”

बीपीले भन्नुभयो, “तीनवटा कारण छन्। एक, हाम्रा मानिसबाट पनि भोटलाई असर पार्ने गैरकानूनी काम ‍‍पटक्कै भएको थिएन भनी शतप्रतिशत विश्वासका साथ म भन्न सक्दिनथें। दोस्रो, हामीले चुनावमा भएको धाँधलीको विरोध गर्ने भए जनमत संग्रहको नतीजा निस्किनुभन्दा पहिले नै गर्नुपर्थ्याे, आफू हारेपछि होइन। के हामीले जितेको भए त्यो जनमत संग्रह स्वीकार्य हुन्थ्यो? तेस्रो, यो चाहिं सबैभन्दा महत्त्वपूर्ण कुरा हो, मैले नतीजाको विरोध गरेको भए गृहयुद्ध हुने डर थियो। सयकडौं मानिस मर्न सक्थे। मैले इतिहासको त्यत्रो बोझ बोकेर बाँच्न चाहिनँ।”

हरेक ठूला निर्णयसँग वर्तमान मात्र होइन, भविष्यको पनि सोचाइ हुन्छ भन्ने मैले बीपीसँग भएका पुराना कुराहरूबाट पनि थाहा पाएको थिएँ। यो उत्तरमा पनि त्यही भविष्यको चिन्ता थियो।

नयाँदिल्ली प्रस्थानका क्रममा त्रिभुवन विमानस्थलमा बीपी, कृष्णप्रसाद  भट्टराई र अन्य।
अनि म अर्को प्रश्नतिर लागें। बीपीको राजनीतिक पक्षको जत्तिकै मलाई उहाँका मानवीय र दार्शनिक पक्षले ध्यानाकृष्ट गर्छन्। आखिर उहाँको राजनीतिक पक्षको मूल आधार मानवीय र दार्शनिक पक्ष नै हो। त्यसैले उहाँका मानवीय पक्षसँग सम्बन्धित प्रश्न गर्न थालें।

“बाबा, तपाईंलाई राजाले यति यातना दिए, तपाईंलाई राजाप्रति बदलाको भावना आउँदैन?”

“अहँ, पटक्कै आउँदैन।”

त्यो निश्चिन्त ‘अहँ, पटक्कै आउँदैन।’

“किन?,” मैले सोधें।

“द्वेष, बदलाले म जहाँ पुग्न चाहन्छु, त्यहाँ कसरी पुग्छु र? राजाले आफूले गरेको काम आफैँ मूल्यांकन गर्लान् नि।”

प्रत्युत्तर मसँग थिएन। त्यसैले म अर्को प्रश्नतिर लागें।

“तपाईंले यत्तिका दुःख पाउनुभयो। तपाईंका कारण परिवारले धेरै दुःख पायो। यत्रो वर्षदेखि स्थापित शक्तिसँग जुध्न तपाईंलाई केले ऊर्जा दिन्छ? केले प्रेरित गर्छ?”

उहाँले भन्नुभयो, “हेर्, पहिलो कुरा त मलाई दुःखको भावना नै आउँदैन। हो, मैले धेरै शारीरिक, पारिवारिक कष्टहरू भोगें। तर, त्यस्ता दुःखहरू मैले गर्न खोजेको कामसँग आउँछन् भन्ने मलाई थाहा थियो। मैले यस्ता कुरालाई कामको सिलसिलामा आएका बाधा अड्चन भन्ठानेको छु। त्यो दुःख त मैले पाएको माया र स्नेहको अगाडि केही पनि होइन।”

उहाँले फेरि दोहोर्‍याउनुभयो, “मलाई नेपाली जनताले कति माया गर्छन्? साथीभाइले कति माया गर्छन्? यसको अगाडि मेरो दुःख त केही पनि होइन।”

नयाँदिल्ली प्रस्थानका क्रममा त्रिभुवन विमानस्थलमा बीपी, गणेशमान सिंह, कृष्णप्रसाद  भट्टराई, गिरिजाप्रसाद
कोइराला र अन्य।
मेरो प्रश्नले उहाँलाई धेरै भावुक बनाएछ क्यारे। बोल्दै जानुभयो, “म इन्डियामा पढ्दा मेरो साथी देवेन्द्र बाबु (विहार सरकारको ठूलो ओहोदामा पुगेका एक हिन्दुस्तानी)सँग म नेपालमा प्रजातन्त्रका लागि लड्ने कुरा गर्थें। यसले मलाई शारीरिक र पारिवारिक दुःख भोग्नुपर्छ भन्ने मलाई थाहा थियो। मेरो सबैभन्दा चिन्ताको विषय सुशीला (बीपीकी धर्मपत्नी)लाई कसरी हेर्ने भन्ने थियो? देवेन्द्रले ‘तुम राजनीति करो, सुशीलाको मे देख लुंगा, घर चलाने के लिए रुपियाँ (कति रुपियाँ भन्नुभएको थियो, मैले भुलें) दुंगा’ भन्यो। उसले हालसालैसम्म त्यो पैसा दिंदै छ। यस्ता मेरा अरू पनि साथी छन्। तिनले मलाई ऊर्जा दिन्छन्।”

“जिन्दगीमा सबैभन्दा ठूलो कुरा माया नै हुँदो रहेछ। जाडोको महीना थियो, चाबहिलको घरको कुरो हो। म भर्खरै उठेको थिएँ। तल एक जना बूढा मानिस भेट्न आउनुभएको छ भने कसैले। म भेट्न गएँ। एक जना बूढो मान्छे, दुब्लो-पातलो, आँखा गडेको, गालाका हाड उठेको, जाडोले अलि खुम्चिए जस्तै गरेर मैले सधैं मान्छे भेट्ने हलमा कुर्सीमा बसिरहेका थिए।

उनले नमस्ते गरे। मैले पनि नमस्ते गरें। मैले उनलाई कहिल्यै देखे-भेटेको थिइनँ। उनलाई देखेर मलाई साह्रै माया लाग्यो। मैले चिया मगाएँ र सोधें, “कताबाट आएको? किन आएको?”

“म पहाडबाट आ’को हजुर। पशुपति दर्शन गर्न आएको थिएँ। हजुर यता नजिकै बस्नुहुन्छ भन्ने सुनें। हजुरको नाम धेरै सुनेको थिएँ। पशुपतिको चन्दन पनि लगूँ, हजुरको पनि दर्शन गरूँ भनेर आएको।”

म उनको कुरा सुनेर अति नै भावुक भएँ। मसँग त्यस वेला दुई वटा कोट थिए। मलाई दुई वटा किन चाहिन्छ भनेर एउटा उनलाई दिएँ। केही समय साधारण गाउँघरका कुरा गरेर उनी गए। मलाई केले ऊर्जा दिन्छ? त्यस्ता मानिसले, त्यस्ता हजारौं नेपालीले केही पनि आशा नराखीकन मलाई गरेको स्वतस्फूर्त मायाले दिन्छ मलाई ऊर्जा।”

लेखकलाई बीपीको जवाफी चिठी (लेखकको घरको नाम ‘नरू’)।
चाबेल
१४.१२.८१

मेरो प्यारो नरु,

तिम्रो प्यारो पत्र पाएँ। तिम्रो मप्रतिको गहिरो लगाव मैले बुझेको छु र त्यो माया-ममता मेरा लागि बहुमूल्य छ। एउटा घातक रोगले मलाई च्यापेको छ, त्यो मलाई थाहा छ। यस रोगका लागि इलाजका रूपमा केमोथेरापी गरिंदै छ, जसको असर एकदमै नमज्जाको छ। तर, यो बाहेक अरू उपाय पनि छैन।

मेरो अन्तिम दिन या महीनामा म नेपाल बाहिर बस्न चाहिनँ, साथी-सहयोगीलाई चाहिने सरसल्लाहका लागि मेरो उपस्थिति महत्त्वपूर्ण भएकाले। यसै कारण मेरो उपचार बम्बईको टाटा अस्पतालको क्यान्सर इन्स्टिच्यूटमै गर्ने निधो गरें, जो युरोप र अमेरिकाका अस्पतालभन्दा कम छैन।

हरेक दिन बिहानीपख सूर्य माथि आएपछि म बाहिर बगैंचामा बस्छु र थुप्रो आगन्तुकहरूसँग भेट गर्छु, करीब दुई घण्टा जतिका लागि। प्रश्न र उत्तार पनि हुन्छ, तर धेरैजसो मै बोल्ने गर्छु। यी बिहानी भेला एकदमै रोचक हुने गर्छन् र टेप रिकर्ड पनि गरिएका हुन्छन्। दिउँसो चाहिं समय मिलाएर आउनेसँग एक घण्टा जतिका लागि भेट्ने गर्छु। अलिकति पढ्छु पनि, तर लेख्न भने थाल्न सकेको छैन। धेरै नै व्यस्त भएँ जस्तो छ।

नरु, दुःख नमान। मैले पूर्ण जीवन बिताएको छु, उत्साह र जोखिमले सुसज्जित, मेरै मर्जी अनुसार, एक जुझारु यात्रा। हरेक किसमका कठिनाइ र विपन्नताले पच्छ्याए पनि मलाई पीडाको कुनै अनुभूति छैन।

म पूरै सन्तुष्ट र खुशी छु, कि मैले आफूले राखेका लक्ष्य प्राप्तिका लागि केही कन्जुस्याइँ गरिनँ । मेरो शरीरको पूरै शक्ति मैले त्यसैमा खर्चिएँ। हामीमध्ये कतिले यत्तिको भन्न सक्छन्? जीवनको सबैभन्दा ठूलो सन्तुष्टिको अनुभूति लक्ष्यप्रतिको समर्पण हो- मलाई त्यो सन्तुष्टि छ।

मैले सुनें कि मेरो बिमारीबारे थाहा पाएपछि तिमी बिरक्तिएका छौ र आफ्नो काममा ध्यान दिँदैनौ। मप्रतिको तिम्रो भावना व्यक्त गर्ने तरिका त यो भएन। क्रियाशील हुनू। तिमी उच्च आदर्श बोकेका युवक हौ। आफूप्रति वफादार रहनू। मैले परिवारका सदस्यलाई कोइराला खानदानको गरिमा बोक्न लायकको हुनू भन्ने गर्छु, यस्तै मेरो पार्टीका कामरेडहरूलाई प्रजातन्त्रको अभियानप्रति अझ समर्पित हुनू।

ईश्वरी र केटाकेटीलाई मेरो माया भनिदिनू।

तिम्रो अत्यन्तै स्नेही
बाबा

राति अबेला भइसकेको थियो। त्यो कुरा त्यहीं सिद्धियो। भोलिपल्ट दिउँसो हामी हङकङको प्रख्यात ओसन पार्क डुल्न गयौं। पार्कका एक ठाउँबाट अर्को ठाउँ जाने बाटोमा केही साना उकाली-ओराली पर्छन्। सबै दृश्यावलोकन गरेर कार पार्कतिर फर्किंदा म र बुनु दिदी (बीपीकी बहिनी) कुरा गर्दागर्दै अगाडि हिँडेछौं।

सुशीला आमा र बीपी पछाडि हुनुहुन्थ्यो। के भएर हो कुन्नि? सुशीला आमा पनि बीपीको अगाडि पर्नुभएछ। फर्केर हेर्दा बाटोको बीचमा बीपी एक्लै ठिंग उभिइरहनुभएको थियो। मैले उहाँको तस्वीर लिएँ। बुनु दिदीले मलाई बिस्तारै ‘सान्दाजुलाई सन्चो छैन, बुझ्यौ’ भन्नुभयो। म हतार हतार उहाँ नजिकै पुगें।

“केही भएको छैन, म बिस्तारै आउँछु,” भनेर हिँड्न थाल्नुभयो।

घर फर्केर त्यो दिनको खाना खाएपछि हामी फेरि कुरा गर्न थाल्यौं।

मैले सोधें, “तपाईंलाई आफ्नो जीवनमा सबैभन्दा धेरै केको पछुतो हुन्छ?”

“म जुन परिस्थितिमा जन्मिएँ, हुर्कें र जिन्दगीमा जे लक्ष्य राखेको थिएँ, मैले इमानदारीपूर्वक त्यही लक्ष्य (बीपीको ‘आफ्नो कथा’मा प्रकाशित उहाँले हिन्दुस्तानको जेलबाट सुशीला आमालाई लेखेको चिठीबाट उहाँको लक्ष्यबारे जानकारी हुन्छ।) लाई केन्द्रबिन्दु बनाएर काम गर्ने कोशिश गरें। त्यसैले मलाई खास पछुतो केही छैन। मलाई एउटा कुराले मात्र पिरोल्छ। धेरै वर्ष निर्वासन र जेल बसेका कारण मैले आफ्ना छोराछोरीलाई आफ्नो किसिमबाट हुर्काउन पाइनँ। चेतना (बीपीकी छोरी)सँग समय बिताउने मन थियो, त्यो पनि सकिनँ। मेरो सबैभन्दा ठूलो पछुतो त्यही हो।”

बीपीको अन्तिम अन्तर्वार्ता, तस्वीरमा बीपी,
शैलजा आचार्य, नोना कोइराला र गणेशराज शर्मा।
भोलि पल्ट उहाँहरू नेपाल फर्कंदै हुनुहुन्थ्यो। मेरो बीपीसँगको हङकङ बसाइको अन्तिम प्रश्न गरें, “बाबा, मान्छेले कसरी बाँच्नुपर्छ? पूर्ण जीवन भनेको के हो?”

“हरेक मानिस आफ्नो जीवनबाट सन्तुष्ट भएर मानसिक शान्तिको साथ मर्न चाहन्छ। तर, धेरैजसो मानिस केही न केही असन्तोष बोकेर, दुःखी अवस्थामा मर्छन्। जीवनको उत्तरार्धमा ओछ्यानमा लडेर आफ्नो मूल्यांकन गर्दा केले सन्तोष दिन्छ? मलाई लाग्छ, मानिसले त्यही काम गर्नुपर्छ।”

उहाँले थप्नुभयो, “मलाई धेरै मानिसले यसरी सोचेकै हुँदैनन् जस्तो लाग्छ। कोही ठूलो हाकिम हुने धोकोले सम्पूर्ण जिन्दगी बिताउँछन्, कोही धेरै पैसा कमाउनुपर्छ भनेर अनेक जालझेल, प्रपञ्च रचेर, हुँदाहुँदा आफ्नै बाबुआमा, दाजुभाइलाई पनि विश्वासघात गर्छन्, अन्त्यमा शान्ति पाउँदैनन्। यदि कसैले मर्ने वेलामा जिन्दगी भनेको सधैंका लागि होइन, आफ्नो जीवनमा गरेका कामबाट मलाई केही खेद छैन, आफूले गर्छु भनेको काम इमानदारी साथ गरें भन्न सक्छ भने त्यही हो, पूर्ण जीवन।”

त्यही थियो बीपी र मेरो बीच भएको अन्तिम साक्षात् कुराकानी। भोलि पल्ट उहाँहरू नेपाल फर्किनुभयो। करीब एक वर्ष त्यसै बित्यो। त्यो ओसन पार्कमा एक्लै उभिएको सम्झेर उहाँको स्वास्थ्य कस्तो होला भनेर मेरो मन झसंग-झसंग हुन्थ्यो वेलावेलामा। हङकङ छाडेपछि लामो समयसम्म उहाँसित मेरो सम्पर्क भएन।

अनि एकाएक बीपीलाई क्यान्सर भयो रे, बम्बईको टाटा मेमोरियल अस्पतालमा उपचार हुँदै छ भन्ने खबर आयो। त्यस वेला मेरा बुबा गोविन्द कोइराला (बीपीका भतिजा, बीपीका ठूलोबुबा कालिदासका नाति) काठमाडौं फर्किंदै हुनुहुन्थ्यो। उहाँको हातमा मैले बीपीलाई उहाँको स्वास्थ्यबारे चिन्तित भएर एउटा चिठी पठाएको थिएँ।

गणेशराज शर्मालाई अन्तर्वार्ता दिंदै बीपी।
त्यसको उत्तरमा उहाँले त्यही जिन्दगीको लक्ष्य, आफूले गर्ने भनेको काम इमानदारीसँग गरें भन्ने विश्वासले ‘म सन्तुष्ट छु, मलाई मेरो जीवनको सफरबारे केही खेद छैन। तैंले पनि मेरा बारेमा चिन्ता नलिई आफ्नो काम इमानदारी साथ गर्नू’ भन्ने उत्तर दिनुभयो।

म जुन १९८२ तिर काठमाडौं जाँदा उहाँ क्यान्सरले धेरै गलिसक्नुभएको थियो।

एक दिन मेरो बुबा चाबहिलबाट बीपीलाई भेटेर फर्किंदा साह्रै निन्याउरो हुनुहुन्थ्यो। मैले के भयो भनेर सोधें।

“सान्दाजु ओछ्यानमा सुतिरहनुभएको थियो। म उहाँको खुट्टा सुमसुम्याइरहेको थिएँ, अनि एकाएक ‘यत्तिका काम बाँकी छ, त्यो सिध्याउन अलि बाँच्न पाए हुन्थ्यो जस्तो लाग्दो रहेछ’ भन्नुभयो। मलाई साह्रै नरमाइलो लाग्यो।”

बीपीको सम्पूर्ण जीवन नेपालीको जीवनस्तर प्रजातान्त्रिक शासन प्रणालीको माध्यमबाट उठाउने संघर्षमै बितेको थियो। उहाँलाई त्यो कामलाई सही ठेगानमा पुर्‍याउन सकिनँ भनेर जाने वेलासम्म गाह्रो भइरहेको रहेछ।

उहाँलाई क्यान्सरको चाप अझ बढ्यो। जुलाईको पहिलो हप्तातिर (म मिति सम्झिन्नँ) उहाँलाई उपचारका लागि दिल्ली लग्ने निधो भयो। दिल्लीको हवाई उडान करीब ३ बजेको थियो।

बीपी कोइराला।
त्यस दिन बिहान सबेरै सधैं जस्तै गणेशराज शर्मा बीपीको आत्मकथाको टेप गर्न चाबहिल आउनुभएको थियो। बीपी आफ्ना अतीतका कुराहरू सुनाउनुहुन्थ्यो, गणेशराजजीले टेप गर्नुहुन्थ्यो। यो प्रोगाम करीब एक-दुई महीना अगाडिदेखि चलेको थियो। त्यो टेपमा बीपीले भनेका कुरा अक्षरशः छापेर आत्मवृत्तान्त प्रकाशन भएको छ।

त्यो दिन बिहान अलि सन्चो भएन भनेर बीपीले कुरा गर्दागर्दै मलाई थकाइ लाग्यो, आराम गर्न जान्छु भन्नुभएछ। म दिउँसो करीब १२ बजेतिर चाबहिल पुगें। बीपी आफ्नो कोठामा ओछ्यानमा लडिरहनुभएको थियो।

दिल्ली जानुभन्दा अगाडि पनि गणेशराजजीलाई बीपीले ओछ्यानमै बसेर अन्तर्वार्ता दिनुभयो। त्यो कोठामा बीपी, गणेशराजजी बाहेक शैलजा दिदी (बीपीकी भान्जी), नोना आमा (बीपीकी बुहारी) र म थियौं। म चाहिं तस्वीर खिचिरहेको थिएँ।

त्यसै वेला मैले खिचेका केही तस्वीरहरू आत्मवृत्तान्तको पहिलो संस्करणमा छन्। नेपाली अखबारहरूले पनि वेलावेलामा प्रकाशित गरेका छन्। त्यो बीपीको जिन्दगीको अन्तिम अन्तर्वार्ता थियो जस्तो लाग्छ, मलाई।

गणेशराजजीले त्यस वेला सोधेका प्रश्नहरू र बीपीका उत्तरहरू अहिले पनि मलाई झलझली सम्झना छ। तीमध्ये एउटा प्रश्न थियो- “नेपाली जनताले आफूलाई कसरी सम्झिऊन् भन्ठान्नुहुन्छ?”

“मैले त्यस्तो सम्झनुपर्ने काम केही गरें जस्तो मलाई लाग्दैन। तर, सम्झिन चाहे भने त्यो असल मानिस थियो र इमानदारीपूर्वक आफ्नो समाजका लागि काम गर्न खोज्यो भनेर सम्झे पुग्छ।” (यहाँ मैले उल्लेख गरेका बीपीका भनाइहरू हुबहु नहुन सक्छन्। मैले सम्झिएका आधारमा ती भनाइका सार प्रस्तुत गर्ने प्रयास गरेको हुँ।)

अन्तिम पटक मैले दिल्ली जान काठमाडौं हवाई अड्डामा हवाईजहाजको प्रतीक्षा गरिरहेका बीपीका केही तस्वीर खिचें। त्यसपछि मैले बीपीलाई साक्षात् देखिनँ। खालि मसँग कसैले पठाइदिएको उहाँको शवयात्राका तस्वीरहरू छन्।

बीपीको पार्थिव देह।
दाहसंस्कारको क्षण।
(हिमालको २०७८ भदौ अंकमा प्रकाशित।) 

Share This
  • 12
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares