सुदूरपश्चिममा बहुमत तान्ने कसरतमा एकीकृत समाजवादी

सुदूरपश्चिममा बहुमत तान्ने कसरतमा एकीकृत समाजवादी

धनगढी — एमाले विभाजनपछि माधव नेपाल नेतृत्वको दल नेकपा (एकीकृत समाजवादी) तर्फ खुलिसकेका सांसदहरूले आफूहरूको पक्षमा बहुमत सांसद तान्ने कसरत गरिरहेका छन् । प्रदेश सभामा एमालेका २४ जना (सभामुख बाहेक) सांसद छन् । २४ जनामध्ये १४ जना आफ्नो समूहमै तान्ने कसरतमा नेकपा (एकीकृत समाजवादी) का सांसदहरू लागेका देखिएका छन् । उक्त समूहका नेताहरूको दाबीअनुसार १३ जना पुगिसकेका छन् र थपिने सम्भावना बढी छ ।

हालसम्म आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी र पूर्वमन्त्री माया भट्ट एकीकृत समाजवादीमा लागिसकेका छन् । उनीहरू दुवै जना केन्द्रीय सदस्यसमेत भइसके । भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीले पनि आफूलाई एकीकृत समाजवादीको यात्रामा अघि बढ्नुपर्ने अवस्था आएको सार्वजनिक गरिसकेका छन् । सामाजिक विकासमन्त्री लालबहादुर खड्का पनि हालसम्मको अवस्था त्यसैतर्फ रहेको बताएका छन् । संसदीय दलका प्रमुख सचेतक दुर्गा कामीले पनि माधव नेपालले नेतृत्व गरेको विचार समूहमै रहेको बताइन् ।

हाल संसदीय दलका नेता प्रकाशबहादुर शाह, हर्कबहादुर कुँवरले एमालेमै रहने संकेत गरेका छन् । प्रदेशसभामा ७ जना एमाले सांसदहरू विगतदेखि नै केपी ओली विचार समूहको एमालेकै पक्षमा थिए । संसदीय दलका नेता शाह आफंै पनि विगतमा माधव नेपाल नेतृत्वको विचार समूहमा आबद्ध भए पनि पार्टी विभाजन भएको अवस्थामा एकीकृत समाजवादीको पक्षमा लाग्ने सांसदहरूको संख्या भने धेरै नहुने आकलन गर्छन् ।

दुवैतर्फ भित्रभित्रै रस्साकसी चलिरहेको भए पनि कतिपय सांसदहरूले आफू कता लाग्ने भन्ने सार्वजनिक गरिसकेका छैनन् । धेरैजसो सांसदहरू अवसरको प्रतीक्षा गरिरहेको एक सांसदले बताए । सुदूरपश्चिममा हाल माओवादी केन्द्रले नेतृत्व गरिरहेको प्रदेश सरकारमा विगतमा एमालेभित्र माधव नेपाल समूहमा आबद्ध भएका नेताहरू पनि छन् ।

Share This
  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares