गर्ने होइन त छालादान ?

गर्ने होइन त छालादान ?

रक्तदान, आँखादान, मृर्गौलादान आदिबारे धेरै चर्चा हुन्छ । तर, छालादानबारे खास चर्चा हुँदैन, धेरैलाई थाहा पनि हुँदैन । नेपालमा सन् २०१४ बाट छाला दान सुरु भएको हो । यो सात वर्षमा अहिलेसम्म मृत्युपश्‍चात् जम्मा २९ जनाले छाला दान गरेका छन् । 

जनचेतनाको कमिले गर्दा मनिसहरू छाला दान गर्न मान्दैनन् । मृत्युपश्‍चात् सग्लो शरीर सद्‍गद् गर्नुपर्ने परम्परा र संस्कार छ । छालादान गरेको व्यक्ति स्वर्गमा पुग्दैन भन्‍ने अन्धविश्‍वासले पनि धेरैले छालादान गर्न मान्दैनन् । तर, मृत्युपश्‍चात् पनि हामीले गरेको छालादानले कसैको जीवन बच्‍न सक्छ ।

नेपालमा वर्षेनी आगोले पोलेर हजारौ मानिस अस्पताल आउने गरेका छन् । सतही पोलाई आफै निको हुन्छ । तर, गहिरो गरि पोलिएको भागमा शल्यक्रियाद्वारा जलेको छाला निकाल्नुपर्छ । त्यो भागमा बिरामीको जीउ, तिघ्रा आदिको छाला निकालेर राखिन्छ । घाउ भएको ठाँउमा छाला प्रत्यारोपण नगर्दा संक्रमण फैलिने डर हुन्छ । जसबाट बिरामीको मृत्युसमेत हुन सक्छ ।

सात वर्षमा अहिलेसम्म मृत्युपश्‍चात् जम्मा २९ जनाले गरे छाला दान

बिरामीको शरीरको एक तिहाइभन्दा बढी भागमा गहिरो गरी पोलेमा उसको छालाले पोलेको भाग छोप्‍न पुग्दैन । अनुहार, औला, जोर्नीबाट छाला निकाल्न मिल्दैन । यस्तो बेला अर्को व्यक्तिको छाला प्रत्यारोपण गर्नुपर्ने हुन्छ । मृत्युपछिको ६ घन्टाभित्र छाला दान गर्न सकिन्छ । यदि शव फ्रिजमा राखेका अवस्थामा २४ घण्टा भित्र छाला दान गर्न सकिन्छ । त्यो छालालाई ५ बर्षसम्म भण्डारण गरेर राख्‍न सकिन्छ । छाला प्रत्यारोपणले कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ । उसको जीवन बचाउन सक्छ । 

रगतदान गर्दा ब्लड बैँकमा १ सय २० दिनसम्म भण्डारण गरेर राख्न मिल्छ । दान गरेको आँखा ६ महिनासम्म राख्‍न मिल्छ । मृगौला र कलेजो २४ घण्टाभित्र प्रयोग गरि सक्नुपर्छ । यसलाई लामो समय भण्डारण गरेर राख्‍न मिल्दैन । तर, छाला पाँच वर्षभन्दा बढी समय भण्डारण गरेर राख्‍न सकिन्छ । छालाको माग एकदमै धेरै छ । तर, एकदमै थोरै मात्रै प्राप्त हुन्छ ।

छालालाई ५ बर्षसम्म भण्डारण गरेर राख्‍न सकिन्छ

अहिलेको अवस्थामा छाला जति आए पनि खेर जाँदैन । एक व्यक्तिको छाला अर्कोमा राख्दा क्रस म्याच गरिरहनु पर्दैन । अरु अंग प्रत्यारोपण गरेको जस्तो छाला प्रत्यारोपण गरेको मानिसले जिन्दगीभर औषधि पनि खानुपर्दैन । अरु अंग ब्रेड डेथ भएपछि निकाल्ने गरिन्छ । तर, छाला मानिसको मृत्यु भएपछि मात्रै निकालिन्छ । किनभने, छाला तुरुन्तै मरिहाल्दैन । सामान्यतया छाला तिघ्रा, पिडुला र ढाडबाट छाला दान गर्न सकिन्छ । 

कसले गर्न मिल्दैन छाला दान ? 

– १६ बर्ष मुनिका 
– एचआइभी एड्स, हेपाटाइटिस बी/सी भएकाले
– छालासम्बन्धि रोग भएका
– क्यान्सर भएका
– संक्रमण भएर मृत्यु भएका
– जन्डिस भएर मृत्यु भएका

 (कुराकानीमा आधारित) eKagaj

Share This
  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares