कोदो, मकै छोडेर किवी खेतीतर्फ

कोदो, मकै छोडेर किवी खेतीतर्फ

बलेवा: जङ्गल छेवैको पाखोबारी ! वर्षमा एकपटक आलु, मकै र कोदो उब्जिन्थ्यो। तीन महिना मरिमेटी काम गर्दा वर्षदिन कठिनले खान पुग्ने।

लगाएको खेतीको उब्जनीभन्दा खर्च धेरै। सम्पूर्ण परिवारले मरिमेटी गर्दा समेत खेतीपातीले घर खर्च चलाउन कठिन हुँदा किसानमा अर्को व्यवसायतर्फ कुनै सोच पलाएको थिएन।

म्याग्दीको मालिका गाउँपालिका–२ का मोहनबहादुर पुनले जान्ने भएको बेलादेखि नै आफ्नो बारीमा कोदो, मकै र आलुबाहेक केही लगाएका छैनन्।

पहिले बाउबाजेले लगाउँदा देखेकै आधारमा आफूले जान्ने भएपछि पनि त्यही खेती गरे।

पछिल्लो समय व्यावसायिक खेतीको प्रचलन बढेपछि पुनले पनि आफ्नो बारीमा लगाउने खेती फेरेका छन्।

वर्षभरि खान पुग्ने र घर खर्च चलाउन विक्रीसमेत गर्न मिल्ने गरी उनले फलफूल खेती थाले।

बयालिस वर्षीय पुनले मालिकामा रहेको १९ रोपनी पाखोबारी र खेतमा समेत किवीखेती शुरु गरेका छन।

परम्परागत खेती परिवर्तन गरेका पुनले किवीबाट राम्रो आम्दानी हुन थालेपछि निकै हौसिएका थिए। विसं २०७४ मा रु ८० हजार लगानी गरेर उहाँले किवीखेती थालेका हुन्।

पहिलो वर्ष रु २१ हजार आम्दानी गर्नुभएका पुनले अहिले लाखौँ कमाउन थालेका छन्।

“कोदो, आलु र मकैबाट खान मात्रै मुस्किलले पुग्थ्यो, अहिले सबै खर्च चलाउने पैसा किवीले कमाउँछ” उनले भने। पुनले गाउँमा नै पहिलोपटक किवीखेती शुरु गरेका हुन्।

अहिले पुनको बारीमा झण्डै २०० किवीका बोट छन्।

आम्दानीको राम्रो स्रोत देखेपछि पुनले किवी खेतीलाई नै व्यावसायिक बनाउने सोच बनाएको बताए।

एउटा किवीको बयस्क बिरुवाले राम्रो उब्जाउ दिँदा २० हजार बढीको दाना फल्छ। किवीको बजार मूल्यसमेत राम्रो रहेकाले उहाँले बर्सेनि लाखौँ आम्दानी हुने गरेको छ।

किवीखेतीप्रति गाउँका अरु किसानले समेत उत्साह देखाएको उनले बताए।

किवीखेतीका लागि चालु आर्थिक वर्षमा कृषि ज्ञान केन्द्रले पुनलाई रु तीन लाख अनुदान दिएको छ।

उहाँले गाउँमा किवीसँगै टनेलमा गोलभेंडा खेती गर्ने गरेका छन्।

“हामीले हाम्रो माटो सिञ्चिन नजानेकाले आम्दानी नभएको रहेछ” उनले भने “खेती प्रणालीमा परिवर्तन गर्दा राम्रो कमाउन सकिँदो रहेछ भन्ने बुझेको छु।” 

किवीखेतीका लागि गाउँपालिका र कृषि ज्ञान केन्द्रले प्राविधिक सहयोग गरेकाले उहाँलाई सजिलो भएको हो।

म्याग्दीको अधिकांश भू–भागमा किवीको खेती राम्रो हुने कृषि विज्ञहरु बताउँछन्। समयमा बिरुवा पाउने र उचित सल्लाह पाउने किसानले यहाँ किवीको व्यावसायिक खेती गर्न सकिने बताउँछन । 

Share This
  • 209
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    209
    Shares