कुन बैंकको सेयर किन्दा तपाईंलाई धेरै फाइदा होला?

कुन बैंकको सेयर किन्दा तपाईंलाई धेरै फाइदा होला?

सेयर बजार उच्च विन्दुमा पुगेको यो बेला कतिपय लगानीकर्ता पैसा कमाइन्छ भन्ने हल्लाकै भरमा लगानी गरिरहेका छन्। यतिबेला बजारको अंक धेरै माथि पुगिसकेको छ। हाल परिसूचक नेप्से २४९३ अंकमा छ। गत सोमबार बजारले २५६१ को नयाँ कीर्तिमानी बनाएको थियो। 

बजार जति माथि बढ्दै जान्छ, त्यति नै कम्पनीको वित्तीय स्थिति केलाएर, सुझबुझपूर्ण रूपमा मात्रै लगानी गर्नुपर्छ। लगानी गरेपछि बजारको मूल्य उतार-चढावभन्दा बर्सेनि दिने लाभांशप्रति विश्वस्त हुन जरुरी छ। 

लाभांश बढाउन सक्ने क्षमता छ/छैन भन्न केही तथ्य भने केलाउनुपर्ने सुझाव दिन्छन् अनुभवी लगानीकर्ताहरू। सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल वाणिज्य बैंकहरू लगानीका लागि सबभन्दा सुरक्षित रहेको बताउँछन्।

२५ वर्षदेखि सेयर बजारमा लाग्दै आएका अर्याल भन्छन्, ‘नेप्से अंक धेरै देखिए पनि वाणिज्य बैंकहरूको मूल्य अझै बढ्न सकेको छैन। कोरोनाले असर परेको अर्थतन्त्र उकास्न बैंकहरूको बिजनेस अब बढ्ने क्रममा छ।’

प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपात, विगतमा दिएको लाभांश र बिजनेस वृद्धि अध्ययन गरेर लगानी गर्नु उपयुक्त हुने उनी सुझाउँछन्। यी आधार केलाउँदा पनि अन्य समूहका कम्पनीको तुलनामा वाणिज्य बैंकहरू उपयुक्त रहेको उनको बुझाइ छ। 

१५ वर्षदेखि सेयरबजारमा सक्रिय अर्का लगानीकर्ता पिताम्बर शर्मा खरेल पनि अर्यालको भनाइमा सहमत छन्।

‘मूल्य आम्दानी अनुपात २० भन्दा कम भएका बैंक नयाँ लगानीकर्ताका लागि उपयुक्त हुन्छन्। तर बैंकको बिजनेस पनि औसतभन्दा माथि बढेको राम्रो हुन्छ,’ उनले भने। 

लाभांश दर बढाउँदै गएका कम्पनीहरू लगानीका लागि उपयुक्त हुन्छन्। धेरै लाभांश दिन सक्ने कम्पनीको बजार मूल्य बढ्दै जानु स्वभाविक हो। 

अनुभवी लगानीकर्ताले दिएको सुझाव र विभिन्न तथ्यांकमा आधारित रहेर लगानीका लागि उपयुक्त हुन सक्ने १० बैंकहरू यहाँ प्रस्तुत गरेका छौं।

बढ्दो बिजनेसः 

सेयरमा लगानी गर्नुअघि बिजनेस बढाउँदै लगेका बैंकहरू छान्नुपर्छ। बिजनेस बढ्दै गएमा तपाईंलाई दिने लाभांश स्वभाविक बढ्दै जान्छ। बैंकहरूको हकमा मुख्य बिजनेस भनेको कर्जा प्रवाह हो।

पछिल्लो एक वर्ष (पुस मसान्तसम्म) अवधिलाई केलाउँदा एनआइसी एसिया बैंक कर्जा प्रवाहमा आक्रामक देखिएको छ। उसले कर्जा प्रवाह बढाउँदै जाँदा नाफा वृद्धिदर पनि बढ्दै गएको छ।

त्यस्तै प्रभु र सिभिल बैंकको बिजनेस वृद्धि राम्रो देखिन्छ। केही बैंकको भने मर्ज/एक्विजिसन प्रभावकै कारण बिजनेस वृद्धि अत्यधिक देखिन्छ। यसमा लगानीकर्ता झुक्किनु हुँदैन। मेगा, प्राइम, कुमारी, सिटिजन्स, एनएमबीको बिजनेस वृद्धिमा मर्ज/एक्विजिसनको प्रभाव हो।

बिजनेस वृद्धिमा अगाडि देखिएका १० बैंकः

बैंककर्जा, ०७७ पुस मसान्तसम्मकर्जा ०७६ पुस मसान्तसम्मअन्तर (प्रतिशतमा)
एनआइसी एसिया२ खर्ब ३२ अर्ब१ खर्ब ६४ अर्ब४१.४
नविल१ खर्ब ७९ अर्ब१ खर्ब ४७ अर्ब२१.७
एनएमबी१ खर्ब ४२ अर्ब१ खर्ब १८ अर्ब२०.३
प्रभु१ खर्ब २९ अर्ब९८ अर्ब३१.६
मेगा१ खर्ब २७ अर्ब७७ अर्ब६४.९
प्राइम कमर्सियल१ खर्ब २४ अर्ब८४ अर्ब४७.६
कुमारी१ खर्ब १९ अर्ब८४ अर्ब४१.६
सिटिजन्स९० अर्ब७० अर्ब२८.५
एनसिसी८१ अर्ब६७ अर्ब२०.८
सिभिल६७ अर्ब४९ अर्ब३६.७

विगतमा दिएको लाभांशः

बिजनेस बढ्दैमा बैंकहरूले धेरै लाभांश दिन्छन् भन्ने हुँदैन। सञ्चालन खर्च पनि बढ्दै गएको हुन्छ। त्यसैले विगतमा दिएको लाभांश नजरअन्दाज गर्नु हुँदैन।

कम्तीमा ५ वर्षको औसत लाभांश केलाएर मात्रै लगानी गर्नु उपयुक्त हुन्छ। तपाईंले सेयरमा लगानी गरिसकेपछि पाउने प्रतिफल बैंकको मुद्दती खातामाभन्दा बढी हुनुपर्छ। किनकि जोखिमका आधारमा मुद्दती खाताभन्दा सेयरको बढी हुन्छ।  

हेरौं, चुक्ता पुँजीमा विगत ५ वर्षको अवधिमा सबभन्दा धेरै लाभांश दिएका १० बैंकः

बैंकऔसत नगद लाभांशऔसत सेयर बोनसऔसत कुल लाभांश 
नबिल७८.७६%११७.५%१९६.२६%
इन्भेष्टमेन्ट८२७६.५१५८.५
एभरेष्ट५०.९५११३१६३.९५
हिमालयन३१.६७८४११५.६७
स्टान्डर्ड५१.८५१४०१९१.८५
कृषि विकास४१.९४६७१०८.९४
एनआइसी१५८५१००
एनएमबी३८.९९७८११६.९९
प्राइम कमर्सियल१.२१९१.२५९२.४६
सिद्धार्थ२६.४१८०१०६.८५

यसमा दिइएको नगद लाभांश र सेयर बोनसलाई छुट्टाछुट्टै रूपमा बुझ्नुपर्छ।

यहाँ चुक्ता पुँजी वृद्धिका लागि बैंकहरूलाई बोनस सेयर जारी गर्नुपर्ने बाध्यता भएका कारण नगदभन्दा सेयर बोनस ज्यादा देखिन्छ। यद्यपि औसतमा धेरै लाभांश दिनेमा यिनै बैंक अगाडि देखिँदै आएका छन्। 

खासगरी विदेशी लगानी रहेका स्टान्डर्ड चार्टड र एभरेष्टले अबका दिनमा बोनसभन्दा नगद लाभांशमै बढी जोड दिनेछन्। 

तपाईंले लगानी गरिसकेपछि बैंक खातामै नगद लाभांश आउँछ भने सेयर बोनस दिएको खण्डमा डिम्याट खातामा सेयर नै थपिन्छ।

प्रतिसेयर आम्दानी र मूल्य आम्दानी अनुपातः

त्यस्तै लगानीका लागि प्रतिसेयर आम्दानी र मूल्य आम्दानी अनुपात केलाउनुपर्छ। एक कित्ता सेयर बराबर कम्पनीको नाफा नै प्रतिसेयर आम्दानी हो। 

प्रतिसेयर आम्दानी धेरै हुनुले कम्पनीले धेरै लाभांश बाँड्न सक्ने अनुमान गर्न सकिन्छ। त्यस्तै प्रतिसेयर आम्दानी धेरै भएको कम्पनीको बजार मूल्य पनि धेरै हुनु स्वभाविक हो। 

प्रतिसेयर आम्दानीलाई बजार मूल्यसँग दाँजेर हेर्न मूल्य आम्दानी अनुपात केलाउनुपर्छ। थोरै लगानीमा धेरै प्रतिफल आओस् भन्न मूल्य आम्दानी अनुपात हेरिन्छ। यस्तो अनुपात जति कम भयो, त्यति राम्रो मानिन्छ।  

उदाहरणका रूपमा, एक रुपैयाँ लाभांशका लागि १५ रुपैयाँ लगानी गर्नु ठीक कि २० रूपैयाँ? अवश्य १५ रूपैयाँ लगानी उत्तम हुन्छ, किनकि अर्को ५ रूपैयाँले थप प्रतिफल ल्याउन सक्छ। 

हेरौं, प्रतिसेयर आम्दानी (इपिएस) र मूल्य आम्दानी अनुपात (पिइ रेसियो) मा उत्कृष्ट १० बैंकः

इपिएसमा राम्रा बैंकइपिएसपिई रेसियोमा राम्रा बैंकपिई रेसियो
नबिल४०.०४नेपाल बंगलादेश१३.८०
एनआइसी एसिया३५.७३सनराइज१६.३४
प्रभु२६.७७मेगा१६.८६
प्राइम२२.५५सानिमा१६.९३
एनएमबी२२.५०माछापुच्छ्रे१७.३१
नेपाल बंगलादेश२२.१६प्रभु१७.९३
सानिमा२२.०२कुमारी१८.०८
एभरेष्ट२१.६३नेपाल१८.१०
ग्लोबल आइएमई२१. ४०लक्ष्मी१९.४१
नेपाल२१. ३७एनएमबी१९.६०

यहाँ गत बिहीबार बजार बन्द हुँदाको सेयर मूल्यलाई आधार बनाएर मूल्य आम्दानी अनुपात देखाइएको हो। सेयर मूल्य जति बढ्दै जान्छ, मूल्य आम्दानी अनुपात पनि बढ्दै जान्छ। सकेसम्म मूल्य आम्दानी अनुपात धेरै भएका बैंक छान्नु हुँदैन। 

निष्क्रिय कर्जा (एनपिएल) र जगेडा कोष (रिजर्भ)

कुल कर्जामा निष्क्रिय कर्जा कम हुनुले बैंकको सुशासन राम्रो रहेको जनाउँछ। ऋणीबाट नियमित रूपमा ऋण उठाउन नसकेमा बैंकको निष्क्रिय कर्जा बढ्छ। यद्यपि हाल कोरोनाको असरले यस्तो कर्जा केही बढी देखिएको छ। 

यस्तो कर्जा ५ प्रतिशतभन्दा धेरै भएमा राष्ट्र बैंकले कारबाही गर्छ। निष्क्रिय कर्जा बढ्दै गएमा जोखिम व्यवस्थापनवापत बैंकहरूले नाफाबाट रकम कटौती गरेर छुट्याउनुपर्छ। जसले लगानीकर्तालाई दिन सक्ने लाभांश घट्न जान्छ।

विगतमा निष्क्रिय कर्जा ५० प्रतिशत नाघेका कारण नेपाल बैंक डुबेको उदाहरण बिर्सनु हुँदैन। डुबेको बैंकलाई मजबुत बनाउन र सेयर लगानीकर्तालाई लाभांश दिन सक्ने क्षमतामा ल्याउन २२ वर्ष लाग्यो। 

त्यस्तै जगेडा कोषमा धेरै रकम हुनु भनेको भैपरी आउन सक्ने जोखिम, संकट टार्न मजबुत स्थितिमा रहनु हो। यो कोषको आकार ठूलो भएमा लगानीकर्तालाई यही कोषबाट थप बोनस सेयर समेत दिन मिल्छ। 

हेरौं निष्क्रिय कर्जा र जगेडा कोषमा उत्कृष्ट १० बैंकः

निष्क्रिय कर्जा कम भएका बैंकनिष्क्रिय कर्जाजगेडा कोष ठूलो भएका बैंकजगेडा कोष
एभरेष्ट०.१९नेपाल१५ अर्ब ५९ करोड
एसबिआई०.१९नबिल१३ अर्ब ५२ करोड
सानिमा०.५८इन्भेष्टमेन्ट१२ अर्ब १५ करोड
नबिल०.६०कृषि विकास९ अर्ब ९८ करोड
माछापुच्छ्रे०.७६एभरेष्ट८ अर्ब ४८ करोड
लक्ष्मी०.७६ग्लोबल आइएमई७ अर्ब ७० करोड
कुमारी१.०६सिद्धार्थ७ अर्ब ४१ करोड
सनराइज१.०६एनआइसी एसिया६ अर्ब ८९ करोड
प्राइम१.०८हिमालयन५ अर्ब ९९ करोड
बिओके१. ५२स्टान्डर्ड चार्टड५ अर्ब ७८ करोड

रिटर्न अन इक्वीटी (आरओई)

बैंकको कुल खुद कमाइबाट दायित्व चुक्ता गरी सेयरवापतकाे लगानीलाई दिन सक्ने औसत प्रतिफललाई आरओईले जनाउँछ।  

पुस मसान्तसम्मकाे वित्तीय विवरणअनुसार एनआइसी एसिया २४, प्रभु १९.९, प्राइम १७.६, सानिमा १६.९८, ग्लोबल आइएमई १६.२२, नबिल १५.०२, एनएमबी १४.९७, मेगा १४.५७, कुमारी १४.३६ र नेपाल बंगलादेश १४.३५ प्रतिशत कायम गरी उत्कृष्ट १० मा छन्। 

सर्सर्ती माथिका तथ्य केलाउँदा कम लागत पर्ने, बिजनेस बढाएका, लगानीको रकमअनुसार बढी प्रतिफलको सम्भावना देखिएका बैंकहरू मेगा, माछापुच्छ्रे, सिटिजन्स, सनराइज, कुमारी, प्रभु, सानिमा, नेपाल बंगलादेश, लक्ष्मी र एनएमबी लगानीका लागि उपयुक्त देखिन्छन्। 

ग्लोबल आइएमई, प्राइम, सिद्धार्थ र नेपाल बैंकलाई पनि लगानीका लागि छनौटमा पार्न सकिन्छ। 

त्यस्तै अबका दिनमा धेरै लाभांश लिन र लामो अवधिका लागि लगानी गर्न चाहनेलाई नबिल र एनआइसी एसिया बैंक उपयुक्त देखिन्छन्। हाल बजार मूल्य बढेका कारण पिई रेसियो उच्च भएकाले मूल्य घट्न गएमा यी दुवै बैंकबाट पर्ने असर भने केही ठूलो हुन सक्नेछ। 

लगानी गरेपछिको जोखिम र फाइदा दुवैको भागिदार स्वयम् लगानीकर्ता नै हुने भएकाले निर्णय तपाईंकै!

Share This
  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares