बैंकको जागिर छोडि “कृषिबारी”

बैंकको जागिर छोडि “कृषिबारी”

नबिन भट्टराई लामो समय सम्म बैकिङ सेवामा आबद्द भएर केहि बर्षदेखि बिराटनगरको बुद्धचौकमा आफ्नै “कृषिबारी” नामक ब्यवसाय संचालन गर्दै आइरहनु भएको छ । नीज भट्टराईको जन्म २०३९ मा बिराटनगर भन्दा २० किलोमिटर पुर्व बेतौनामा भएको हो । उहाँको घरमा २ छोरी, आमा बुबा र पत्नी हुनुहुन्छ । आमा बुबा दुवै सरकारी शिक्षक भएता पनि उहाँ सधै उद्यमशीलतामा रुचि राख्नुहुन्थ्यो ।

बिभिन्न क्षेत्र अनि संस्थामा काम गरेर बटुलेका अनुभव अनि सिकाई र भोगाईले कुनै पनि बिदेशी सामान या उत्पादन बेच्नु भन्दा पनि आफ्नै देशका उत्पादनलाई बजारीकरण गरे मात्र आत्मनिर्भर र सम्पन्न हुन सकिन्छ भन्ने बुझाईका साथ यो ब्यवसायको थालनी गर्नुभएको हो । कृषिबारीले स्थानीय स्तरमा उत्पादित ताजा सागसब्जी तथा फलफूलहरु संकलन गरि सुलभ मुल्यमा उपभोक्ताहरुसम्म पुर्याउने काम बिगत २ बर्षदेखि निरन्तर गरिरहेकोछ, साथै भविष्यमा उपभोक्ताहरुको घर दैलो सम्मै पुर्याउने योजना राखेको छ ।

उद्यमशीलता अन्तर्गत कृषिबारीको बिषयमा नबिन भट्टराई सँग गरिएको कुराकानीमा आधारित: 

व्यवसाय कसरि सुरुवात गर्नुभयो ?

कुनैपनि व्यवसाय सुरु गर्न लगानीकै खाँचो हुन्छ । बुवा आमाले दिएको केहि पैसाबाट सुरु गरेको यस व्यवसायलाई थप विस्तार गर्न भने कृषि विकास बैकले ठुलो भूमिका खेलेको छ । “Local people, Local Industry” अवधारणामा आधारित यो व्यवसायमा अरु धेरै योग्य तथा इच्छुक व्यक्तिहरुलाई जोडदै “Social Entrepreneurship Model” मा यसलाई विस्तार गर्ने योजना हाम्रो समुहले लिएको छ । 

कृषिबारीको सामाजिक भूमिका के हो ?

ग्राहकले खोज्ने भनेको सहज र सुलभ मुल्य नै हो । हामी यो कुरामा सचेत छौं । “आफ्नै बारीको” अर्थात स्थानीय उत्पादनहरुलाई प्रबर्धन गर्ने साथै बिषादी रहित साग सब्जीलाई सर्वसुलभ मुल्यमा उपभोक्ता समक्ष पुर्याउनु हाम्रो सामाजिक जिम्मेवारी हो । साथै छरिएर रहेका तरकारी उत्पादकहरुलाई समेत समेटेर बारी देखि उपभोक्ताहरुको ढोका ढोका सम्म पुर्याउनु हाम्रो व्यवसायिक दायित्व हो ।

तरकारी ब्यापार र तरकारी खेती गर्ने सम्बन्धमा तपाई अरुलाई के सल्लाह दिन चाहनुहुन्छ ?

कुनै पनि ब्यवसाय सानो ठुलो हुदैन; तर मिलेर काम गर्ने विचार वा योग्यता भएका व्यक्तिहरुले मात्र यो काम गरेको राम्रो । एक्लै गर्ने कोशिस गर्दा जोखिम बढी हुन सक्छ । उत्पादन र बजारीकरण सहितको योजना र प्रसस्त लगानीका साथ् यो व्यवसायमा आउने हो भने केहि सम्भावना छ । बिचौलियाबाट सब्जी ल्याएर ५०/१००% नाफा राखेर बेच्ने योजनाका साथ यो व्यवसाय शुरु गर्ने योजना छ भने कृपया अहिलेलाई यो व्यवसायमा हात नहाल्नुहोस । 

भावी योजनाहरु के छन् ?

बिषादीरहित उत्पादनका लागि कृषकहरुलाई प्राबिधिक तथा आर्थिक सहयोग उपलब्ध गराउने साथै बिभिन्न ठाउँमा छरिएर रहेका साग सब्जी तथा फलफुलहरुलाई संकलन, भण्डारण तथा बजारीकरण गर्ने मुख्य योजना हो हाम्रो । किसान र दोकान बीचको दुरीलाइ कम गर्दै लैजाने साथै स्वस्थ खाद्यान्नमा सबैको पहुँच हुनैपर्छ भन्ने मान्यता हो हाम्रो । सीप भएका वा नभएका साथै पैसा भएका वा नभएका जो कोहि होस, यदि उसंग इमान्दारिता र लगनशीलता छ भने कुनै पनि किसिमको सहकार्य गर्न “कृषिबारी” सदैब तयार छ ।

तरकारी ब्यबसाय गर्न कत्तिको सहज छ ?

हेर्दा सजिलो जस्तो देखिए पनि तरकारीव्यवसाय गर्न भने त्यति सजिलो छैन । सागसब्जी तथा फलफुल छिटो बिग्रिने भएकोले यसलाई छिटै बेच्न वा व्यवस्थापन गर्न सक्नुपर्छ नत्र भने सानै रकम भएपनि घाटामा जान सक्छ । कहिलेकाहीं आफुलाई परेको मुल्य भन्दा कममा बेच्ने पनि अवस्था पनि आउछ । यसका लागि व्यवसायी सधै तैयार रहनु पर्दछ । ब्यवसाय सुरुवात एकदम राम्रो भएता पनि पछिल्लो लकडाउन पछि अस्वस्थ प्रतिस्पर्धा बढेको देखिन्छ । यो ब्यवसाय सुरु मात्र गर्न खासै ठुलो लगानी नभएकोले र मानिसले व्यवस्थित तरिकाले बिक्रि र बजारीकरण नगरेको हुनाले यस व्यवसायलाई ठुलो असर पारेको छ ।

ब्यापार ब्यबसाय अगाडी बढाउन के गर्नु पर्छ ?

‘पैसा’, ‘मानव शंसाधन’ र ‘बजार’ यी तीन प्रमुख खम्बा हुन् व्यवसाय को । यदि कुनै खम्बा कमजोर छ भने आवश्यक सहयोग लिनुहोस; अरु मैले कोहि काम गरिरहेको मान्छेलाई सिकाई रहनु पर्दैन उसको काम कसरी राम्रो हुन्छ भनेर ।

बैदेशिक रोजगारबाट फर्किने वा फर्किन खोज्ने युवालाइ के सल्लाह दिन चाहनु हुन्छ ?   

आफुसंग जे कुराको ज्ञान, सीप र रुचि छ त्यहि ब्यवसाय गरेको राम्रो । कुनैपनि व्यवसाय गर्दा त्यसको बजार अवलोकन संगसंगै व्यवसाय सम्बन्धि सम्पुर्ण ज्ञान हुनु एकदम जरुरी हुन्छ । हरेक देशको आफनै किसिमको संस्कृति अनि सामाजिक सम्बन्ध हुन्छ । यो कुरालाई बुझेर आफनो रुचि र योग्यता अनुसारको काम गर्नुहोस । आवश्यक सहयोगका लागि हामी सदैब तैयार छौं ।

तरकारी खेति वा यसै सम्बन्धि ब्यापार गर्नेलाइ के सुझाब दिन चाहनु हुन्छ ?

कृषि जीवनको आधार हो, कृषि र धरतीले एक आपसमा ठुलो सम्बन्ध राख्दछ । धरती हाम्री माता हुन् र त्यसमा उम्रिएका सबै बिरुवाहरु तिनका सन्तानहरु हुन् । यो भावनाबाट प्रेरित भएर अनि लगनशीलता र मेहेनत लाई साथी बनाएर यो व्यवसायमा आए सफलता प्राप्त गर्ने सम्भावना छ । पैसा मात्र कमाउने उद्धेश्यले त यो पेशा नअपनाएको नै राम्रो । 

तरकारी चाडै नै बिग्रिने भएकाले किसान वा ब्यापारी दुबैले यसलाई छिट्टै नै व्यवस्थापन वा बिक्रि गर्नु पर्ने हुन्छ । साग सब्जीको प्रमुख चुनौती नै यहि हो । यदि कसैसंग बढी भएको सागसब्जीलाइ व्यवस्थापन गर्ने वा अन्य कुनै बैकल्पिक योजना छैन भने यो व्यवसायले खासै फाइदा दिदैन ।

कृषिबारी जस्तै ब्यापार गर्न खोज्नेलाइ के कस्तो सहयोग गर्न सक्नु हुन्छ ?

एक्ला एक्लै काम गरेर अगाडि बढ्न धेरै गार्हो छ । मिलेर काम गर्ने सिस्टम बनाउदै हामी कृषिसँग सम्बन्धित सबै कार्यहरुमा सहकार्य गर्न सदैब तयार छौ । उत्पादन, भण्डारण र बजारीकरणको लामो सांगलोमा धेरैजनालाई जोड्न साथै जोखिमलाई कम गर्दै अगाडि बढ्ने र सफल हुने बिस्तृत कार्ययोजना र सफलताका कथाहरु बुन्दैछौं हामी । “सामाजिक उद्धमशीलता” को नवीन अवधारणा जहाँ चाकडी हैन योग्यता बिक्छ; हामी बनाउदै छौं ।

Share This
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares