हाकिमकी छोरी र बाख्रा गोठालो

हाकिमकी छोरी र बाख्रा गोठालो

‘बिड तातेर के गर्नु! ताप्के ताते पो हुन्छ।कति चोटि भनिसकेँ बाहिरको लागि ट्राइ गर बुढा भनेर। जाबो नुनतेल खान नपुग्ने जागिर कुरेर के बस्या हो कुन्नि? सागको मुठा किन्न पनि सात चोटि सोच्नुपर्ने’ एकाबिहानै राधा भुन्भुनाउँदै तरकारी किन्न कीर्तिपुरको चोकतिर निस्की।

श्रीमतीको रातदिनको यस्तै किचकिचले गर्दा आलोकलाई पनि विदेश जाने कि भनेर सोच्न बाध्य पार्यो। दिनभरि इन्टरनेटमा आकर्षक विज्ञापन हेर्दै बस्यो। तर कुन देश जाने खुट्याउन भने गाह्रो पर्यो उसलाई। अर्कोदिन काठमाडौँको चोक चोकमा विदेश पठाउने पसल थापेर बसेका व्यापारीहरुलाई भेट्यो। कसैले अस्ट्रेलिया राम्रो छ भने कसैले अमेरिका, कसैले युरोप त कसैले जापान।

आलोक छड्के झोलामा डिग्रीको सर्टिफिकेट र घाँटीमा टाई बानेर हिड्थ्यो। कुरा गर्दा मौका मिलेसम्म अंग्रेजी पनि मिसाइहाल्थ्यो बीच बीचमा। सायद त्यसैले पनि होला कसैले पनि कतार, दुबई, मलेसिया राम्रो छ भनेनन्।

‘हेर्नुस सर, जापान गएकाले जतिको पैसा कसैले पनि कमाउँदैनन्। यिनी फाइलमा जति मान्छेहरु छन्, सबै ऋण काढेर गएका हुन्। गएको चार वर्षमा त कति कमाए कति? सबैले काठमाडौँमा घर घडेरी जोडिसके। अमेरिका समेरिका जानेहरु त घर फर्कने खर्च पनि छैन भन्छन,’ पोक्चे गालामाथि पावरवाला चश्मा अडाएको व्यापारीले भन्यो।

‘तपाईं हातमा डिग्री भएको मान्छे जाने भनेकै अस्ट्रेलिया हो। स्टुडेन्ट भिषामा छिर्नु मात्र पर्छ, दुई वर्षभित्रमा पीआर हुन्छ। अस्ट्रेलियाको डलर अमेरिकाको भन्दा ठूलो पनि छ। आजसम्म अस्ट्रेलिया गएकोले जति पैसा यो दुनियाँमै कसैले कमाएको छैन। तपाईं सोच्दै नसोच्नु। आएल्स मात्रै गर्नुस। तपाईंको काम भयो। प्रोसेसिङ फी, ट्युसन फी, भिजा फी सबै गरेर तपाईंको जम्मा बीस पच्चिस लाख जति लाग्छ।’

आलोकले पैसाको कुरा सुन्दै चिट् चिट् पसिना काड्यो।

‘बीस पच्चिस लाख!’ उसले मनमनै प्रश्न गर्यो। यो रकम उसले सोचेको भन्दा निकै धेरै थियो। उसले कुरो अघि बढाउन चाहेन। फरक्क फर्केर सरासर घरमा गयो।

श्रीमतिसँग भन्यो ‘हेर, म यो विदेश सिदेश जान्न। तिमीले भन्छौ भने म स्कुल पनि पढाउन्न।’

‘जागिर नखाएर के खान्छौ? तिमीसँगै पढेका साथीहरु अस्ट्रेलिया, अमेरिकामा पुगेर कति प्रगति गरिसके। उनका श्रीमतीहरु कम्मर भाँचेर समुन्द्रको छेउमा उभिने भए। टिकटक र फेसबुकमा उनैको रवाफ छ। तिमी विदेश जान्न भन्छौ।’

‘जान्न भनेपछि जान्न। तिमीलाई तिघ्रा देखाउनु छ भने रानी पोखरीको छेउछाउ गएर देखाऊ। बागमतीको किनारमा उभिएर कम्मर भाँचेको फोटा खिच र फेसबुकमा हाल। चोबारमा गएर एक्लै उफ्रेर टिकटक बनाऊ। आफूसँग जे छ त्यही देखाऊ। अरुले के गरे कसो गरे केको चासो?’

‘यस्तासँग बिहे गरेर केको आशा गर्नू। बिहे गर्ने बेला भने दुईचार वर्ष हो यो धुलो धुवामा हिड्ने। त्यसपछि या त गाडी चडिन्छ, या प्लेन। अहिलेसम्म त्यो खटारो मोटरसाइकल फेर्नसम्म सकेको छैन’, राधाले रुन्चे मुख लगाएर भनी।

‘तिम्रै कचकचले गर्दा विदेश जान भनेर कस्सिएको पनि हो। जाबो अस्ट्रेलिया पठाएको पच्चिस पच्चिस लाख रे। कहाँबाट ल्याउने हो त्यत्रो पैसा?’

‘जाबो पच्चिस लाख खोज्न नसक्नेले त्यतिबेला केको फूर्ति देखाएको होला नि! तिम्रा साथीहरु सित्तैमा गएका त हैनन् होला। मर्दले आँटे एकैछिन भन्छन्। यस्तालाई के भन्नू?’

‘मुख समालेर बोल है। तेरो बाउको झैँ टेबुल मुनिबाट पैसा फल्दैन। दिनभरि घाँटी सुकाउन पर्छ। कहिले प्रिन्सिपलको, कहिले गार्जियनको किच किच सुन्न पर्छ। तेरो बाउको जति तलब त मैले पनि कमाएकै छु। तर खै मेरो तलबले त घरखर्च चल्न पनि मुस्किल छ। तेरो बाउ गाडी चढ्छन्। छोरालाई अमेरिका पठाए। त्यस्तो मर्द म परिनँ।

‘मेरो ड्याडीसँग केको तुलना गर्छौ? उहाँले धेरै मेहनत गरिस्याथ्यो जागिर खानलाई। तिम्रोजस्तो जाबो बोर्डिङ स्कुलको जागिर हो तलब पनि टाइममा नदिने। मैले त उहिले भनेकी थिएँ, कि त सरकारी जागिर खाऊ कि विदेश जाऊ। अहिलेसम्म जाबो स्कुल पढाएर के बसेको होला! अहिले आएर मेरो बुवाले कमाएको रिस गरेर हुन्छ।’

‘मसंग मुखमुखै नलाग्। यदि विदेश जान छ भने तै जा। बाउको जस्तो सरकारी जागिर तैले खाएपनि हुन्छ, दिनभरि टिभीमा नाटक हेरर बस्नभन्दा’ आलोकले हातमा समातेको रिमोट सोफामा फाल्दै भन्यो।

राधा घोप्टो परेर सुक्क सुक्क गर्दै गलैचाको धागो तान्न थाली। धेरैबेरसम्म दुवैजना बोलेनन्। आलोक उठेर कोठामा गयो।

‘हाँ, बेक्कारमा फसेछु बिहे गरेर। सरकारी जागिर नै चाहिने, विदेश जानै पर्ने भए यिनीहरुले बिहे गर्नुभन्दा पहिले नै सोच्नु पर्दैन यार। खाली तनाब दिन्छे’, उसले मनमनै रिस पोख्यो।

उसको रिस अझै थामिएको थिएन। साथीले मुस्ताङबाट गिफ्ट ल्याइदिएको मार्फा थियो दराजमा। बिर्को खोलेर आधा गिलास खनायो। त्यसमा अलिकति पानी थप्यो र चिरिप्प पार्यो।

अर्को दिन ऊ उठेर चिया बनायो। चियासँग पाउरोटी खायो र स्कुल गयो। उसलाई दिनभर ह्यांगओभर भैरह्यो। विद्यार्थीहरुले पनि उसको अनुहार देखेर जोक भन्न लगाएनन्। सधै हल्ला गर्नेहरुले खै किन किन कक्षामा हल्ला पनि गरेनन्।

ऊ सँग-सँगै पढाउन सुरु गरेका धेरै साथीहरुले जागिर छोडिसकेका थिए। कोही अमेरिका, अस्ट्रेलिया त कोही क्यानडा उडिसकेका थिए। सबै नयाँ नयाँ अनुहार मात्र देखिन्थे। ब्रेकको बेला क्यान्टिनमा बसेर सधै झैँ राजनीतिका गफ चुट्ने जाँगरसम्म चलेन उसलाई।

छुट्टी भैसकेपछि ऊ सरासर डिल्लीबजार गयो। पासाको म:म पसलबाट पूर्वतिरको गल्लीभित्र छिर्यो। करिब पचास मिटरजति भित्र ‘डार्लिंङको तुम्बा पसल’ थियो। त्यही छिर्यो। मुसुक्क हाँस्दै एक प्लेट सुकुटी र तुम्बा लिएर उसको टेबुलमा राखी फेबाले। साह्रै राम्री थिई ऊ। उसको पातलो कम्मर र गडेको नाभी हेरेर टोलका केटाहरु दिनभर रस भरिएको फूलमा भमरा भुले झैँ त्यतै भुल्दथे।

कहिलेकाहीँ साथीहरुसँग आउथ्यो आलोक पनि। बेलाबेलामा आफ्ना विद्यार्थीहरु पनि त्यतै भेटिने भएकोले आजकल ऊ अलिक कम जान्थ्यो।

केहीबेरमा सुबास पनि त्यही आयो। सुबास आलोकको स्कुलदेखिकै साथी थियो। उसले त्यही नजिकैको एउटा प्राइभेट क्याम्पस पढाउँथ्यो। धेरैबेरसम्म दुवैजनाले जागिरको दुखेसो साटे। देशमा बिग्रदै गैरहेको राजनीतिको बारेमा पनि चिन्तन मनन गरे।

सुबास पनि आफ्नो जागिरबाट खुसी थिएन। उनीहरुले आफ्ना साथीहरु सबै विदेशतिर गएको, र को को कहाँ कहाँ छन् भन्ने बारेमा धेरैबेर कुरा गरे। अन्त्यमा कोदोको पानी रित्याएपछि फेबाको गाला मुसार्दै निस्के दुवैजना।

त्यहाँबाट निस्केपछि आलोक सरासर घरमा गयो। ढोका बन्द थियो। आफूसँग भएको साँचोले ढोका खोल्यो। राधा भित्र थिइन। उसले जताततै खोज्यो। देखेन कतै पनि। झमक्क साँझ परिसकेको थियो। राधाको मोबाइलमा फोन गर्यो। फोन उठेन।

वरिपरिको छिमेकीहरुलाई सोध्यो। उनीहरुले पनि आफूले नदेखेको कुरा गरे। कोठामा गएर हेर्यो। उसका सबै कपडाहरु त्यही थिए। उसको मन आत्तियो। नराम्रो सोच्यो मनले। राधाको मिल्ने साथी थिई गुम्बाको नजिकै। उनको फोन नम्बर थिएन। राति भैसकेकोले उसको कोठामा जान पनि उचित ठानेन। फोन नम्बर पत्ता लगाएर फोन गर्यो। त्यहाँ पनि थिइन राधा।

चिनेको जति सबैलाई सोध्यो। अहँ! कतै पनि थिइन राधा। धेरैपल्ट फोन लगायो उसले। फोन पटक्कै उठेन। माइतीमा पो गइ कि भनेर ससुरालीमा फोन लगायो। ससुरा बा’ले फोन उठाए। उसले सोधेको प्रश्नको जवाफ ‘अँ’ मात्र भनेर फोन काटे उनले।

त्यसपछि भने आलोकको मन ढुक्क भयो। अलि अलि रिस पनि उठ्यो उसलाई। मनमनै सोच्यो, ‘बसोस् कति बस्ने रैछ माइतीमा गएर। घरमा गएर बसभन्दा ‘नोकर्नी बनाउन बिहे गरेको होस्’ भनेर ओठे जवाफ दिन्थी। बसोस् माइतीमा रानी बनेर।’

पुरानो घर मन्थली भएपनि नयाँ बानेश्वरमा बस्दै आएका थिए राधाको बुवाआमा। हुन त हाकिम धेरै जसो भन्सारतिरै हुन्थे तर पनि महिनाको एकदुई पल्ट आकल झुकल घर आउँथे।

त्यो घटना पश्चात धेरै दिनसम्म फोन सम्पर्क समेत भएन राधासँग आलोकको। यस अन्तरालमा उसले धेरै कुरा सोच्यो। कहिले गाँउमा गएर बाख्रा पालन गर्ने त कहिले जागिर छोडेरै राजनीति गर्ने र भ्रष्टहरुको विरोधमा खरो उत्रने।

कहिले बल्खुको चोकमा म:म पसल खोल्ने, त कहिले कीर्तिपुरको चोकमा तरकारी पसल। यस्तै यस्तै सोच्दै मार्कर र डस्टर समातेर कक्षाकोठामा छिर्थ्यो। यस्तै यस्तै सोच्दै निस्कन्थ्यो।

एकदिन नागार्जुनको जंगलमा हिड्दै गर्दा उसको जम्काभेट एउटा कालो न कालो निकै ठूलो भालुसँग भयो। ऊ भाग्न नपाउँदै भालुको पन्जा उसको गर्दनमा पर्यो। उसले भएभरको बल प्रयोग गरेर बल्ल बल्ल भालुको पन्जा छुटायो र त्यहाँबाट भाग्न सफल भयो। भाग्दा ऊ खाटबाट भुइँमा खस्यो।

निन्द्राबाट बिउँझेपछि धेरैबेरसम्म सपनाको अर्थ खोजि रह्यो। उसले पौलो कोहेलोले लेखेको किताब ‘द अल्केमिस्ट’मा स्पेनको भेडा गोठालोले सपनामा देखेको खजना र खजनासम्म पुग्नको लागि उसले गरेको यात्राको बारेमा सम्झिने कोशिश गर्यो। अन्त्यमा त्यो केटोले खजना भेटे नभेटेको उसले ठ्याक्कै सम्झन सकेन।

अल्बर्ट आइन्स्टाइनले ‘सापेक्षाताको सिद्धान्त’ पत्ता लगाउनु अघि आफू भिरालो पहाडमा चिप्लेटी खेल्दै गर्दा, अचानक स्लेडको स्पिड बढेर लाइटको स्पिड बराबर पुगेको सपना देखेको, दिमीट्री मेन्देलीव, अल्फ्रेड रसेल जस्ता महान् वैज्ञानिकहरुले सपनाको माध्यमबाट आफ्ना आविष्कार गरेको कुरा कतै पढेको याद भयो।

म्यारी सेलीले फ्रन्केस्टेइन लेख्नु अघि सबै कुरा सपनामै देखेकी थिइन् भन्ने पनि थाहा थियो उसलाई। ‘के मेरो सपनाको पनि यस्तै कुनै रहस्य छ कि?’ ऊ सोचमा घोत्लियो धेरै बेर।

धेरैबेरको सोचाई पश्चात आफू कुनै बन्धनमा परेको र त्यसबाट मुक्ति खोजिरहेको अर्थ लगायो उसले। उसको अन्तरात्माले भन्यो ‘हेर् केटा, यसरी स्कुलको जागिर कुरेर नबस्। त भित्र अदम्य शक्ति छ। केही त गर्। त्यसै अल्झेर नबस्।’

बिहान उठेर भालुबाट फुत्केको जोसमा स्कुल प्रिन्सिपललाई राजिनामा पत्र लेख्यो र इमेल गर्यो। त्यसको भोलिपल्टबाटै स्कुल गएन। स्कुलको जागिर उसको लागि कैद जस्तै भैरहेको थियो। ऊ त्यहाँबाट निस्कन चाहन्थ्यो। सपनाले पनि त्यही कुराको संकेत गरेझै ठान्यो उसले।

फर्पिंङमा साथी थियो उसको, उज्वल। पहिले उनीहरु एउटै स्कुलमा पढाउँथे। बेलाबेलामा प्राइभेट स्कुलमा जागिरे हुनुभन्दा केही व्यवसाय गर्न पाएहुन्थ्यो भनेर चिन्तन मनन गरिरहन्थे। एकचोटि उज्वलले तरकारी तथा फलफूल खेती गर्नको लागि आलोकसँग सल्लाह पनि गरेको थियो।

उनीहरु अन्य विकल्पहरु हेर्दै गरौ भनेर कुरो थाती राखेका थिए। त्यसैदिन ऊ उज्वलसँग भेट हुन गयो। ‘विदेश जानलाई बीस पच्चिस लाख खर्च गर्नुभन्दा त्यो पैसाले आफैले यहाँ केही गर्यो भने दुईचार पैसा पनि कमाइन्छ र अरु दुईचार जनालाई रोजगारी पनि दिन सकिन्छ’ भन्दै उनीहरुले फर्पिङमै जग्गा लिजमा लिएर बाख्रा पालन गर्ने सल्लाह गरे।

भोलिपल्टै उनीहरु पूर्व जानकारी नगराई ठमेलस्थित कृषि विकास बैंकमा विनोदलाई भेट्न पुगे। विनोद त्यो बैंकको हाकिम भएको थियो। त्योभन्दा पहिले ऊ आलोक र उज्वलको असल मित्र थियो।

आलोकले धेरै भूमिका नानिभाइ भन्यो, ‘यार, हामी त तेरो सहयोग माग्न आएको। तैले जस्तो टाई कसेर एसीको चिसो हावा खान सकिएन। चक डस्टरले उभो लागिएला झैँ लागेन। त्यसैले हामी बाख्रापालन गर्ने सोच बनाएका छौँ। हामीलाई कर्जा चाहियो।’

विनोदले पनि तत्कालै बीस लाखसम्मको कर्जा उपलब्ध गराउन सक्ने जानकारी गरायो। त्यो बाहेक अन्य सहुलियतका बारेमा पनि जानाकारी गरायो।

त्यसपछि उनीहरुले वर्षको पचास हजार तिर्ने सर्तमा दश वर्षको लागि एक रोपनि जग्गा लिजमा लिए। दुवैजनाले आफ्नो पैतृक सम्पत्ति धितो राखे। विनोदले सरल कृषि कर्जा मिलाइदियो। दुवैजनाले पालै पालो बाख्रापालन सन्बधी तालिमहरु पनि लिए।

ठाँउ र मौसमको आधारमा पहिलो चरणमा उनीहरुले खरी जातका पचास वटा बाख्रा किने। रोगले कम सताउने, दुई वर्षमा तीनपल्टसम्म ब्याउने त्यो पनि जुम्ल्या र तिम्ल्या जन्माउने भएकोले यो जात रोजेका थिए उनीहरुले।

सबै कुराहरु उनीहरुले सोचेजस्तै हुँदै गयो। एक दुई वर्षमा राम्रै प्रगति गरे।

यो सबै काम आलोकले श्रीमतीसँग सल्लाह नै नगरी गरेको थियो। दुई/तीनपल्ट फोन गरेर घरमा बोलाएको त थियो। तर बाख्रापालन सुरु गर्न लागेको कुरा जानकारी पनि गराएको थिएन।

उसले ठाडै ‘तिम्रो तलबले म घर चलाउन सक्दिनँ। विदेशको भिसा बोकेर मात्र लिन आउनु’ भन्दै फोन काटेकी थिई। त्यसपछि उसले कहिले फोन गरेन। राधाले पनि फोन गरिन। दुवैजनाको इगोले गर्दा सम्बन्ध चिसिदै गयो।

आलोक र उज्वल मिलेर बाख्रा फार्म चलाए। धेरै पछिमात्र राधाले अरुसँगबाट थाहा पाई आलोकले बाख्रा फार्म चलाउन थालेको। विदेश जाने सपना बोकेर लोग्नेलाई घुर्की लगाउन माइती बसेकी राधा लोग्नेले आफूसँग सल्लाह नै नगरी फार्म चलाएको थाहा पाएपछि आफूसँग धोका भएको ठानी। उसको इगोमा तेल थपियो।

टिकौली भन्सारका हाकिम थिए राधाका बा’। भन्सारभन्दा बाहिर निस्कनै मान्दैनथे। जति पैसो लगानी गरेर भएपनि भन्सारको कोटा हात पारेरै छोड्थे। नेताको घरघरमा पनि बेलाबेलामा भेटी पठाइदिन्थे।

ज्वाइँले नसोधी बाख्रा फार्म चलाएको उनलाई पनि चित्त बुझेको थिएन। छोरीलाई भने- ‘डिभोर्स दे त्यो बाख्रा गोठालोलाई, मैले भनेको बेला लोकसेवा पढेको भए आज आम्दानी हुने ठाँउमा सरुवा मिलाइदिन्थेँ। खुबै सिद्धान्तका कुरा गर्थ्यो। अर्को खोजम्ला।’

हाकिम्नी बजै पनि सँगै उभिएकी थिइन्।

‘मलाई बिहे गर्ने बेला उहाँ भर्खर खरदार होइसिन्थ्यो। सिनामंगलमा एउटा सानो कोठामा सुत्ने, पकाउने, खाने एकै ठाउँ थियो। हेर अहिले कति प्रगति गरिस्यो। पोखराको घर त दुई वर्षको कमाइ पनि होइन। वीरगंज भन्सारको हाकिम होइसिदा बनाइसिएको यो घर।

रन्जनले अमेरिका पढ्ने खर्च सबै उहाँले नै पुर्याइबक्सन्छ। ज्वाइँले भनेको मानेनन्। जिद्धी स्वभावका छन्। मलाई त तिमीहरु मिलेर बस्लाऊ जस्तो लागेकै थिएन। हाँ, अझै पनि सुध्रिन्छन कि। सानो भएर केही हुँदैन। विदेश जान्छन् भने पैसा हाल्दिम्ला। एकचोटि भनि हेर् त’ हाकिम्नीले छोरीको आँखामा हेर्दै भनिन्।

त्यसपछि एकपल्ट राधाले फोन गरी आलोकलाई। नरम भएर कुरा गरी। फेरि पनि विदेशकै कुरा झिकी र भनी ‘पैसा बाबाले दिसिन्छ, तिमीले अप्लाई गर।’

उसको कुराले आलोकको आत्मसम्मानमा च्वास्स घोच्यो।

‘आउने भए बाख्रा फारममा काम गर्न आइज, होइन भने मलाई फोन पनि गर्न पर्दैन’ भन्दै उसले फोन काट्यो।

चिसिदै गएको सम्बन्ध अन्तत हिउँचुली नै बन्दै गयो र अलिअलि बचे खुचेको प्रेमको अंकुरण सदैको लागि पुरियो। उनीहरुको जीवनमा वसन्त फेरि कहिले फर्केन।

त्यसपछि आलोक काठमाडौँको डेरा छोडेर फर्पिङमै बस्न थाल्यो। उज्वलकै घरमा बस्थ्यो ऊ। त्यहाँदेखि नजिकै थियो उनीहरुको बाख्रा फार्म। त्यहाँ काम गर्नको लागि मकवानपुरकी सानुमाया थिङलाई राखेका थिए उनीहरुले। फुपूको घरमा बस्थी ऊ।

सलक्क परेको ज्यान, पोटिला स्याउ जस्ता गाला, चिल्ला र कसिला तिघ्रा कुदेरै बनाए जस्ती थिइ। सानुमायालाई ऊ कहिले इन्द्रावती नदीको छेउछाउ डुल्ने भुमा माझीकी छोरी लालगेडी झैँ देख्थ्यो भने कहिले प्रेमकी प्रतिमूर्ति सुम्निमा। उनीहरु र सानुमाया बीच कुनै न कुनै बिम्ब जोडिए झैँ लाग्थ्यो उसलाई।

सानुमायाको मेहनत, सोझोपन र अर्गानिक ब्युटिले आलोकको मनमा मायाको गुड पहिलेदेखि नै बसिसकेको थियो। कहिलेकाहीं ऊ उज्वलसँग सानुमायाको फुपूको भट्टीमा तुम्बा र हाँसको छोइला खान जान्थ्यो र मौका मिल्नासाथ ठट्टा गरेर सबैलाई हँसाउथ्यो। अलि पर कुनाबाट उसका कुरा सुनेर सानुमाया प्रफुल्ल मुद्रामा भाँडा माझ्दै गरेकी हुन्थी।

एकदिन साँझ बाख्राहरुलाई दाना दिँदै गर्दा आलोकले सानुमायाँलाई सोध्यो, ‘के तिमीलाई म मेरी सानु भनेर बोलाउन सक्छु?’

गरिब र गाँउले परिवेशमा हुर्केकी सानुमाया आलोकको कुराले छक्क परी। त्यसै त राता गाला लाजले गर्दा रगत चोला जस्तै भयो। लज्जावती झार झैँ भुतुक्कै भइ ऊ। सँगै काम गरेपनि ऊ मालिक थियो भने सानुमाया आफूलाई एक तुच्छ नोकर्नी झैँ सम्झन्थी। ऊ केही बोलिन।

उसको बाबु माओवादीमा भएको बेला फापरबारीमा सेनासँग भएको दोहोरो भिडन्तमा मारिएका थिए भने आमा हेटौँडामा मजदुरी गरेर बस्थिन्।

‘मौनं सम्मति लक्षणम्’ भनेझै सानुमायाको हाउभाउले उसको कुरामा सहमति जनाइसकेको कुरा आलोकले बुझिहाल्यो।

‘तिमीले मलाई आलोक मात्र भने हुन्छ, सर सर भन्नु भर्दैन है’ उसले सानुमायाको झुकेको अधरमा हेर्दै भन्यो। बैँसले उन्मत्त यौवना नारी उसको मनसाय किन पो बुझ्दैनथी र, तरपनि उसले मुख खोलेर बोलिन। लजाएर शिर झुकाइरही।

‘भोलि मसँग काठमाडौँ जान्छौ त? फुपूलाई पनि सोधी हेर। म तिमीलाई सहर घुमाएर ल्याउला’ आलोकले उसको आँखामा हेर्दै सोध्यो।

एक्कासी काठमाडौँ घुम्न जाने कुराले उसलाई रोमान्चित गर्यो। लालगेडी झैँ आँटी नभएपनि आगाडि लत्रेका रौ दुवै हातले पछाडि फर्काउदै उसले भनी ‘आफै सोध्नुस् न।’

‘के खोज्छस् काना आँखो’ भने झैँ उसकी फुपू पनि टुप्लुक्क त्यही आइपुगिन् उतिबेलै। आलोकले एकैछिन सोधपुछ गरेपछि सानुमायालाई हेर्दै भन्यो, ‘भोलि म यिनीलाई काठमाडौँ लगेर जान्छु। अलिअलि सामानहरु किन्नु पनि छ। एकदुई ठाँउ घुमाएर पनि ल्याउँछु। अहिलेसम्म काठमाडौँ गाकी रैनछिन्’ आलोकले निर्धक्कसँग सोध्यो।

‘फूपुले पनि जवान केटाकेटी सँगै घुम्न गए राम्रै होला भन्ने सोची।

‘हजुरसँग काम गर्छे। काममा जानको लागि केको मलाई सोधिराख्न पर्यो बाबु। ऊ पनि जवान छे। कुरा आफै पनि बुज्छे’ भन्दै माथिपट्टिको ओठ अलिअलि चलाइन्।

फुपूको कुरा सुन्न कान ठाडो पारेर बसेकी सानुमाया उनको कुरो सकिन नपाउँदै घरको कुलेसातिर गइ र दिल खोलेर मुस्कुराई। त्यतिन्जेल विचरीलाई के थाहा आलोक एकल पुरुष हो, एकपल्ट विवाह भैसकेको बिटुलो लोग्नेमान्छे हो भन्ने। आलोकले पनि कहिले भन्ने मौका पाएको थिएन।

अर्कोदिन आलोकले सानुमायालाई लिएर काठमाडौँ गयो। मोटरसाइकलमै राखेर स्वयम्भू, बालाजु र बुढानिलकण्ठतिर घुमायो। सिटी मलमा शपिङ गरायो। बेलुका दुवैजना त्यही गौशालाको एउटा होटेलमा बसे। यो बीचमा आलोकले सबैकुरा सानुमायालाई सुनायो।

उसको कुराले पहिले त ऊ निकै झस्केकी थिई तर उनीहरुको डिभोर्स भैसकेको र कुनै सन्तान पनि नभएकोले गर्दा कता कता भित्र कुनामा प्रेमको टुसा अङ्कुरायो। आलोकले त्यसलाई राम्रैसँग मलजल गर्यो। र भोलिपल्टमात्र उनीहरु घर फर्के।

त्यसको केहीदिनमै आलोकले फुपूसँग सानुमायाको हात माग्यो। उनीहरुको बीच प्रेम झाँगिदै गैरहेको थियो। ‘सोझो बांगिन बेर लाग्दैन’ भन्ठानेर उसले दक्षिणकाली मातालाई साक्षी राखेर सानुमायासँग नयाँ दाम्पत्य जीवनको सिलान्यास गर्यो।

एकदिन दिनभरको काम सकेर साँझ घरमा आराम गर्दै गर्दा टेलिभिजनमा समाचार आइरहेको थियो, ‘घुसको लेनदेन चल्दै गर्दा टिकौली भन्सारका हाकिम पक्राउ।’ कसैको सुराकीको आधारमा प्रहरीले रंगे हात पक्राउ गरेका थियो। बानेश्वरस्थित घरमा छापा मारेर ८० लाख नगद र एक करोड बराबरको जिन्सी तथा अबैध सम्पति पनि जफत गरेको थियो।

क्यामेरामा राधाका आमाछोरी रोइरहेका थिए। हाकिमको छोरा पनि त्यही थियो। उसलाई ड्रग्सको अबैध कारोबार गरेको आरोपमा यूएस पुलिसले पक्राउ गरेर नेपाल डिपोर्ट गरिदिएको थियो केहीदिन अघि। टेलिभिजनमा उनीहरुको अनुहार हेर्न लायकको थियो।

केही वर्ष अघि फोनमा ‘पैसा बाबाले दिसिन्छ। तिमीले विदेश अप्लाई गर’ भनेको कुरा आलोकको कानमा गुन्जिरह्यो।

उसले विस्तारै सानुमायालाई अंगालोमा बेर्दै भन्यो ‘मेहनती र इमान्दार मान्छेलाई न अमेरिका जानुपर्छ न सरकारी जागिर नै खानुपर्छ। अर्गानिक माया पनि यतै पाइन्छ।’ 

Share This
  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares