सरकारी बैंकहरूको खराब कर्जा फेरि बढ्न थाल्यो
काठमाडौँ : सरकारी बैंकहरूको खराब कर्जा पुनः बढ्न थालेको छ । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरूले पुस मसान्तमा प्रकाशन गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा असोज मसान्तको ४.१ प्रतिशतको तुलनामा बढेर ४.२३ प्रतिशत पुगेको छ । राष्ट्रिय वाणिज्य बैंकको कुल कर्जा पोर्टफोलियो १ खर्ब ७० अर्ब रुपैयाँको छ ।
त्यस्तै, खराब कर्जा उल्लेख्य हुने अन्य दुई बैंकहरूमा कृषि विकास बैंक र नेपाल बैंक लिमिटेड रहेका छन् । कृषि विकास बैंकको एक खर्ब ३२ अर्बको कर्जा पोर्टफोलियोमध्ये ३.१४ प्रतिशत छ । कृषि विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् असोजसम्म खराब कर्जा २.३७ प्रतिशतमा झारेको थियो । अर्को सरकारी बैंक नेपाल बैंक लिमिटेडको खराब कर्जा २.८८ प्रतिशत छ । नेपाल बैंकको कर्जा एक खर्ब २० अर्ब रुपैयाँ पुगेको छ । निजी बैंकहरूको तुलनामा सरकारी बैंकहरूमा ऋण असुलीमा केही समस्या रहेको खराब कर्जाको बढ्दो आकारले संकेत गरेको छ ।
बैंक | खराब कर्जा (कुल कर्जाको %), पुस | खराब कर्जा (कुल कर्जाको %), असोज |
राष्ट्रिय वाणिज्य बैंक | २.४२ | ४.१० |
कृषि विकास बैंक | २.७५ | २.८० |
नेपाल बैंक | २.८८ | ३.०२ |
नेपाल इन्भेष्टमेन्ट बैंक | ३.१४ | २.३७ |
एनसीसी बैंक | ४.२३ | ४.१० |
विगतमा उच्च सञ्चालन खर्च र खराब कर्जा बढ्दै नेटवर्थ नेगेटीभ भएका यी सरकारी बैंकलाई सरकारले वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत पुँजी लगानी गरी सुधार गरेको थियो । यिनीहरूको सुधारसँगै राष्ट्र बैंकको नियमन तथा सुपरिवेक्षणमा सञ्चालन हुने व्यवस्था गरिएको हो । यसअघि यी वित्तीय संस्थाहरू छुट्टाछुट्टै ऐनद्वारा सञ्चालित थिए ।
पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार, सबैभन्दा कम खराब कर्जा हुने बैंकहरूमा एभरेष्ट बैंक, नेपाल एसबीआइ बैंक, एनआइसी एसिया बैंक, सानिमा बैंक र नबिल बैंक रहेका छन् ।
बैंक | खराब कर्जा (कुल कर्जाको %), पुस | खराब कर्जा (कुल कर्जाको %), असोज |
एभरेष्ट बैंक | 0.१९ | 0.२२ |
नेपाल एसबीआई बैंक | 0.१९ | 0.२५ |
एनआइसी एसिया बैंक | 0.४३ | 0.४० |
सानिमा बैंक | 0.५८ | 0.४० |
नबिल बैंक | 0.६० | 0.६५ |