व्यावसायिक कृषिका ‘सेन्टर अफ एक्सीलेन्स’ : जो आफू सफल भएर अरुलाई ज्ञान, सीप र प्रविधि बाँड्दैछन्

व्यावसायिक कृषिका ‘सेन्टर अफ एक्सीलेन्स’ : जो आफू सफल भएर अरुलाई ज्ञान, सीप र प्रविधि बाँड्दैछन्

चितवन : मध्यनेपालको चितवन आफैँमा सम्भावनाको केन्द्र हो । विगतमा तोरी खेतीका लागि लोकप्रियता कमाएको चितवनले आज हरेक उत्पादनका सम्भावनाहरूलाई उजागर गरेको छ । चितवन आज पोल्ट्रीको केन्द्र हो । नेपाललाई कुखुरामा आत्मनिर्भर गराएको चितवनले अब अन्य उत्पादनहरूमा पनि परनिर्भरता कम गराउँदै लैजान प्रयासरत छ । माछादेखि कागतीसम्म चितवनमा व्यावसायिक उत्पादन हुन्‍छ । उत्पादनमा विशिष्टता हासिल गरेका यस्ता केही युवाहरू आफूमात्र होइन, अन्यलाई पनि यस्तै उद्यमी बनाएर उद्यमशीलता विस्तारमा लागेका छन् ।

आकांक्षी, नवप्रवेशी उद्यमीहरूले उनीहरूको राम्रो ‘मेन्टरिङ’ पाएका छन्, जसले धेरै उद्यमीहरूलाई ज्ञान, सीप र तौरतरिका सिकाएको छ ।  सेन्टर अफ एक्सीलेन्स जस्ता उनीहरूका फार्महरू यसबारे अध्ययन गर्न चाहने जो कोहीका लागि खुला छन् । चितवनमा मात्र होइन, विशिष्टता कमाएका यी कर्मवीरहरूले देशभर यस्ता प्राविधिक जानकारीको प्रसार गर्न उत्सुक छन् ।

सफल उद्यमीको सान्‍निध्यले नयाँ उद्यमीहरू तयार हुन सहज हुन्‍छ किनकी नयाँ उद्यमीले काम शुरु गर्दा नै जोखिमहरू र कमजोरीबारे जानकारी पाइसकेको हुन्‍छ । ज्ञान, सीप र अनुभवको हस्तान्तरणले नव प्रवेशी उद्यमीहरूमा उद्यमशीलता विकास अझै छिटो र परिपक्‍व हुन्‍छ । आफूले जानेको ज्ञान, सीप र अनुभवसमेत बाँड्न उत्सुक यी चितवनका युवाहरू सरकारले प्रदान गर्नुपर्ने सहजीकरणका कामहरू गरिरहेका छन् ।

कृषि सम्बन्धि अनुसन्धान र विकास (रिसर्च एण्ड डेभलपमेन्ट) गर्नुपर्ने नार्क जस्ता संस्थाहरू कमजोर हुँदैछन् । आज दक्षिण एसियामा भारत ‘सेन्टर अफ एक्सीलेन्स’ मार्फत् किसानलाई इजरायली कृषि प्रविधि र ज्ञान बाँड्ने केन्द्रको रूपमा विकास भएको छ । आजभन्दा ६ दशकअघि अमेरिकी सरकारको सहयोगमा चितवनमा रामपुर कृषि क्याम्पस स्थापना भएको नेपालले कृषि प्रविधि र कृषि प्राविधिकहरूको विकासमा उल्लेख्य काम गर्न सकेन । प्रतिभाहरूलाई मुलुकमा टिकाउने वातावरण भएन र क्रमशः हाम्रा अनुसन्धान संस्थाहरू समेत निकम्मा हुँदै गए ।

अब समय फेरिएको छ । चितवनमा ६ दशकअघि पहिचान गरिएका सम्भावनालाई अब कर्मयोगी कृषि पेशाकर्मी युवाहरूले सार्थक तुल्याउँदैछन् । अब उनीहरूका उत्पादन केन्द्र (फार्म) हरू नै सम्बन्धित कृषि उत्पादनमा काम गर्न चाहाने हरेक युवाका लागि ‘सेन्टर अफ एक्सीलेन्स’ हुन्- ज्ञान, प्रविधि र अनुभव बाँड्ने केन्द्र ।

यिनैमध्येका एक हुन्- वासुदेव ढुंगाना । रत्ननगरका वासुदेव ढुंगानाले २० वर्षअघि ५ विगाहा क्षेत्रमा माछा पालन शुरु गरेका हुन् । ‘२० वर्षअघि अन्‍न, तरकारी, फलफूल उत्पादन हुने खेत बेचेर घोल र बगर किनेर माछा पालन शुरु गरेको हुँ,’ उनले भने, ‘त्यही माछा खेतीबाट मेरो सफलता चुलिदैँ गयो । आज कृषि मात्र होइन पर्यटन र जलविद्युत्‌मा समेत लगानी विविधिकरण गरेको छु ।’

अन्य व्यवसायमा लगानी गरे पनि माछा पालनलाई भने उनले सधैँ निरन्तरता दिए । आफ्नो विशेषज्ञता माछा पालन व्यवसायमा नै रहेकाले उनले यसलाई थप विस्तार गर्दैछन् । माडीको ३५ विगाहा क्षेत्रफलमा उनको माछापालन व्यवसाय शुरु हुँदैछ, त्यसमध्ये ३० विगाह त जलाशय नै हुन्‍छ । पोल्ट्री मात्र होइन, चितवनले देशभरको माछाको मागसमेत सम्बोधन गर्न सक्ने उनको विश्वास छ । ‘पहिले कृषिमा ठूलो र व्यवसायिक लगानी हुँदैनथ्यो ।

यसले हामी कृषि प्रधान मुलुक भएर पनि निर्वाहमुखी कृषि प्रणालीमा आश्रित भयौं,’ ढुंगाना भन्‍छन्, ‘आज हाम्रो मुलुक अन्य देशका कृषि उत्पादनको बजार भएको छ । त्यो भन्दा गुणस्तरी र ताजा उत्पादनले हामी आत्मनिर्भर हुनसक्छौं । सम्भावना भएका हाम्रै उत्पादन नेपालभरका बजारमा पुर्‍याउन सकेमात्रै पनि हाम्रो व्यापार असन्तुलन केही न्यूनीकरण हुन्थ्यो ।’ उनले यही सोचका कारण अन्य इच्छुक युवाहरूलाई ज्ञान, सीप र प्रविधि हस्तान्तरण गर्ने गरेका छन् ।

उनले ज्ञान, सीप, प्रविधि सहयोग गरेका अन्य धेरै युवाहरू माछा पालनमा आएर सफल हुँदैछन् । उनलाई पनि नपुग्दो केही थिएन, तर उनी अझै आफ्नो विशिष्टता भएको क्षेत्रमा थप काम गर्न चाहन्‍छन् । माडीमा उनको आफ्नै जमिन थियो र माछापालनलाई विस्तार गर्दै उनले त्यहाँ झण्डै ५ करोड रुपैयाँ लगानीको नयाँ प्रोजेक्ट शुरु गरे । त्यसलाई उनी नमुना फार्मका रूपमा सञ्चालन गर्ने योजनामा छन् । ढुंगानाको भान्‍छामा सबै अर्ग्यानिक परिकार मात्र पाक्छन्, जुन उनी आफैँ खेती पनि गर्छन् ।

सफल उद्यमीहरूको प्रशिक्षण तथा ज्ञान, सीप र प्रविधिको हस्तान्तरणले उद्यमशीलता विकासलाई ढुंगाना महाभारतमा कृष्णले अर्जुनलाई ज्ञान र कार्यसिद्धीको मार्गमा पुर्‍याएको जस्तै टिप्पणी गर्छन् । ‘गीता सबैले पढ्न सक्छन्, गीता पढ्दैमा कोही ज्ञानी भैहाल्छ भन्‍ने छैन,’ उनी भन्‍छन्, ‘कृष्णसँगको सान्‍निध्यताले अर्जुनलाई उक्त ज्ञान र कार्यसिद्धीको मार्ग मिलेको हो । यदि सफल उद्यमीहरूले आकांक्षी नवप्रवेशी उद्यमीहरूलाई त्यसरी नै ज्ञान, सीप र प्रविधि दिएको खण्डमा उनीहरू पनि पक्कै सफल हुन्‍छन् ।’

पछिल्लो समय केरा खेतीमा चितवनले क्रान्ति नै ल्याएको छ भन्दा फरक पर्दैन । यिनै मध्येका एक हुने चितवन केरा उत्पादक संघका पूर्व अध्यक्ष विष्णुहरि पन्त । केराको घरेलु मागको आधाभन्दा बढी चितवनले आपूर्ति गर्छ । गत वर्ष मात्रै चितवनबाट झण्डै डेढ अर्बको केरा बिक्री भयो । नारायणघाटका पन्त इजरायलमा कृषि क्षेत्रमा काम गरेर फर्केका हुन् । उनी इजरायली सरकारको ‘लर्न एण्ड अर्न’ कार्यक्रमबाट फर्केपछि केराखेतीलाई व्यापकता दिए ।

‘हामीलाई इजरायली सरकारले समेत ज्ञान, सीप र प्रविधि दिएर पठाएको छ,’ उनी भन्‍छन्, ‘हामीले हाम्रा युवालाई किन नसिकाउने ।’ पन्तले सञ्चालन गरेको बी एण्ड बी बनाना फार्म आफैँमा यसको एउटा उदाहरण हो । चितवन केरा खेतीको पकेट क्षेत्र पनि घोषणा भएको छ । केराको पकेट क्षेत्रमा रत्ननगर र खैरहनी नगरपालिकाका सबै वडा तथा कालिका नगरपालिकाका वडा नं. १ देखि ८ सम्म र भरतपुर महानगरको एक नम्बर वडा समावेश छ । 
रत्ननगरबाट शुरु भएको केराखेती विस्तार भएर पिठुवा, जुटपानी, चैनपुर, पदमपुर लगायतका विभिन्‍न क्षेत्रमा विस्तार भएको छ । किसानहरूले जग्गा लिजमा लिएर केरा खेती गरिरहेका छन् । पकेट क्षेत्र बाहिर समेत गरी झण्डै ७०० विगाहा क्षेत्रफलमा केराखेती हुँदै आएकोमा विस्तार हुने क्रम तीव्र छ ।  उत्पादन, रोजगारी र बजारका दृष्टिले अझै प्रचुर सम्भावना रहेकाले जिल्लाका अन्य भागहरूमा समेत केरा खेती विस्तार भैरहेको पन्त बताउँछन् ।

अर्का उद्यमी हुन्, कालिका नगरपालिका-६ का सीपी अधिकारी । कागती खेतीलाई हरित लगानीका रूपमा अघि बढाएका अधिकारी ६ वर्षदेखि यस पेशामा सक्रिय छन् । चितवनका फाँटमा कागती खेती गरेर उनले सबैलाई अचम्मित तुल्याए । सुरुमा कागती खेतीका लागि अनुसन्धान संस्थाहरू तथा बुज्रुकहरूसँग सल्लाह लिदाँ सबैले उनलाई उडाए । कागती खेतीका लागि ५०० देखि १,५०० मिटरको उचाइमा मात्र सम्भाव्य हुन्‍छ । जब उनले राष्ट्रिय सुन्तला जात अनुसन्धान केन्द्र, धनकुटामा परामर्श गरे । उनलाई चितवनको फाँटमा कागती खेती सम्भव छैन भनिएको थियो । उनले त्यसलाई चुनौती दिए । आज उनले सञ्चालन गरेको फार्म चितवनमा कागती खेतीलाई प्रमाणित गर्ने आफैँ अनुसन्धान र विकास केन्द्र जस्तो भएको छ । कागती खेती गरेको तेश्रो वर्षदेखि नै अधिकारी चितवनका बासिन्दालाई कागती खेतीका लागि प्रेरित गर्ने अगुवा व्यवसायी बनेका छन् ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •