ग्रीनकार्ड र पिआर

ग्रीनकार्ड र पिआर

गोमा सिटौला

दिदी विदेशमै सेटल भइसक्नुभएको थियो । म पनि श्रीमानसँग विद्यार्थी  भिसामा विदेशमै थिए। आमाबुवा विदेश घुम्न आउनुभएको थियो । सुरुसुरुमा आमाबुवा यताको सफासुग्घर वातावरणमा रमाए पनि नेपालीहरूको दुख देखेर उहाँहरूलाई पटक्कै बस्न मन लागेन । पारिवारिक भेट थियो । हामीहरू दिदीकहाँ गएका थियौं ।

आमाले भिनाजुलाई हेर्दै सोध्नुभयो, ‘पिआर भइसकेको मान्छेको पनि हातभरि पोलेको र काटेको दाग हुन्छ त ज्वाइँ नारायण ?’ 

‘पिआर भयो भन्दैमा अर्काको देशमा बसीबसी खान दिन्छ त आमा ?’ भिनाजुले भन्नुभयो ।

‘नेपालमा अधिकृतको जागिर छोडेर आउनुभएको, पढेलेखेको मान्छे,  यता पनि हेडसेफ  भन्नुहुन्थ्यो त ? ठूलो पोस्ट होइन र ?’ आमाले सोध्नुभयो ।

‘आलो घाउमा नुन नछर्किनुस्  न आमा । हेडसेफ भनेको खाना बनाउने भान्से हो ।’ अँध्यारो मुख लगाउँदै भिनाजु हाम्रो काम र पिआरको बारेमा सोध्न थाल्नुभयो।

किन हो, आमाको अनुहारमा आकाशमा काला बादल मडारिएझैं देखिन्थ्यो । मलाई औंंलाले देखाउँदै भन्नुभयो, ‘खेत बेचेर पढाएर विदेश उडाइयो, यता होटेलको बेड मिलाउदै छे ।’

 ’ अँ तिमी एज कियरमा काम गर्छु भन्थ्यौ । त्यता के काम गर्नुपर्छ ?’ दिदीलाई सोध्नुभयो ।

दिदीले भन्नुभयो, ‘बूढाबूढीको बच्चालाई झैं स्याहारसुसार गर्ने हो।’

आमाले असन्तोष ओकल्नुभयो, ‘अंश दिने सासूससुरालाई पकाएर खुवाउन परयो भनेर कति गुनासो गथ्र्यौ  । सुख खोज्न देश छोड्यौ झन् यता यस्तो पो काम ? जे होस् डलरमा शक्ति छ ।’

‘सासूससुराको खेतबारी बाँझो नै छ । आफ्नै देशको माटो खने, डोको बोके बरु इज्जत कताकता । ठेला उठाएर कमायो यतैको सरकारलाई पोस्यो ।’ आमाले मेरो हात सुम्सुम्याउँदै  सम्झाएर आफ्नै देश फर्कन कर गर्नुभयो ।

 ।’‘हुन त हो आमा तर पिआर नलिई नेपाल फर्किन लाज लाग्छ।’ म पीडा पोख्दै थिएँ ।

‘उता दाइ अमेरिकामा ग्रीनकार्ड भन्छ । बहिनीचाहिँ यता पिआर भन्छे । पिआर पाएको दिदीको हालत पनि छर्लङ्ङ देखिसकें । साँच्चै यो ग्रीनकार्ड र पिआर भनेको चाहिँ के हो ?’ आमाको प्रश्नले हल्लिखल्ली भएको कोठामा शून्यता छायो ।

सबैको चेहेरामा एक प्रकारको पीडा झल्केको आभास पाएँ । खुइय गर्दै मौनता तोडें र मैले भनें, ‘आमा, ग्रीनकार्ड र पिआर भनेको केही होइन, मात्र एउटा मानसिक रोग।’

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •