पुरुषलाई पनि पीडा छ !

पुरुषलाई पनि पीडा छ !

भर्खरै नोभेम्बर १९ मा International Men’s Day मनाइयो । खासै चर्चा त यस्को भएको पाइँदैन । तर यसकै वरपर रहेर केही लेख्न मन लाग्यो । जबजब महिला अधिकारका कुरा मिडियामा छाउँछन् , धेरैले भन्ने गर्नुहुन्छ, महिला महिलामात्र कति भन्छौ तिमीहरु ? म उहाँहरुलाई भन्न चाहन्छु कि सच्चा अधिकारवादीले महिला अधिकारको कुरा गर्दा पुरुषको विरोध गरेको होइन, पितृसत्ताको विरोध गरेको हो । पुरुषहरुलाई पितृ सत्ताले कतिसम्म दु:ख दिएको छ सोच्नुस त । केही उदाहरण हेरौँ ।

मेरा एक पुरुष मित्र हुनुहुन्छ, उहाँ पढेलेखेको, कुनै संस्थामा जागिर खाने, अत्यन्त जुझारु र असल मान्छे हुनुहुन्छ । उहाँकी प्रेमिकाको घर काठमाडौं, उहाँको घर तराईमा । उहाँकी प्रेमिकाका बुवाआमा र परिवारले केटा मन पराउनु भएन । किन होला ? काठमाडौंमा घर नभाको केटो, सम्पति नभाको, सरकारी जागिर नभाको, कुनै विकसित देशको पीआर नभाको । केटा हेरेसी अनुहार मात्र हेरिस ? सम्पति हेर्न पर्दैन ? त्यस्तो लफङ्गो केटो आदि-आदि । ‘म पनि त सक्षम छु, दुवै मिलेर गर्छौँ हामी, त्यस्तो किन भन्नुहुन्छ अरुलाई ? उहाँकी प्रेमिकाको जवाफ के चित्त बुझ्थ्यो र परिवारलाई ? चुपलाग् ! डाक्टरको कुरो आइराछ, भनेको मान सिधै डाक्टर्नी हुन्छेस् । छोरीमान्छे भएर अवसरवादी हुनुपर्छ, तेरै साथीहरु हेर, राम्रै केटा रोज्याछन् त ।

‘उषाको बुढोको सरकारी जागिर छ, काठमाडौँमा त्यत्रो बडेमानको घर छ,अहिले ‘पाउनी’ छे, कति खुसी छे त्यो हेर त ।’ बाहिरबाट हेरेरै कति मज्जाले खुसी छे भनिदिनुभयो । भित्रको कुरा उहाँलाई के थाहा ? मेरा मित्र तनाव लिरहनु हुन्छ । “सुनको भाउ चुलिएको छ, बिहेमा गहना थोरै लगौँ भने पनि कुरा काट्छन । जति जे भनेनी पैसा नै ठूलो रैछ यार” , “आईईएलटीएस गरेर अस्ट्रेलिया जान पर्छ कि क्याहो” भनिरहनु हुन्छ । जान मन नभए पनि पुरुषले पैसा धेरै कमाउनु पर्छलगायतका सामाजिक मानकले गर्दा । म बुझ्छु उहाँको पीडा । उहाँकी प्रेमिकाका बा-आमालाई आफ्नी छोरीप्रति एक रत्ति विश्वास छैन र त छोरीलाई पाल्न सक्ने धनी नै हेर्नुपर्छ भन्नुहुन्छ । आफ्नो छोरीलाई पर्दैन टाढा काम गर्न जान, पाए यहीँ गर्ने, नत्र घरै बस्, तँलाई कस्ले काम गर्न जा भनेको छ र भन्नुहुँदो रहेछ । छोरालाई चैँ कमाउन पर्‍यो, परिवार हेर्न पर्‍यो भन्ने तनाव दिरहने ।

नेपाली समाजमा छोरीलाई पढाइलेखाइ सकेर राम्ररी बिहे गरेर दिने भन्ने सोच हुन्छ । तर छोराबाट पढ्ने, धन कमाउने, सहरमा घडेरी जोड्ने, बहिनी वा दिदीकै बिहेको लागि अर्थ जोड्ने भन्ने आशा धेरै नै राखिन्छ । आशा राख्नु गलत नहोला तर त्यही आशा अत्यधिक भयो भने कति छोराहरुका लागि त्यो घुटन हुन जान्छ । छोराहरुलाई अरु काम गर्ने इच्छा भए पनि पैसा कमाउन छ, सबैले आशा गर्छन, भन्ने प्रेसर भैरहन्छ । परिवारले पनि यसका छोराले यति कमायो, यति पठायो भनेर सुनाउँछन् । धनी छोरा र गरीब छोरामा बाउआमाले समेत फरक व्यवहार गरेको मैले देखेको छु । छोरा मान्छे ले धेरै पैसा कमाउनै पर्छ, घरमा सबैको आवश्यकता पूरा गर्ने प्रमुख जिम्मेवारी लिनै पर्छ भनेर कसले भनेको होला ? पितृ सत्ताले ।एउटा केटी खल्तीमा १०० रुपैयाँ बोकेर प्रेमी भेट्न जान सक्छे होला तर केटालाई पितृ सत्ताको सिकाइले गर्दा १०० रुपैयाँ मात्र बोकेर जान कन्फिडेन्स नआएको कुरा मैले मेरै साथीहरुबाट सुनेको छु

म कुनै ठाउँमा काम गर्दाको घटना । त्यहाँ कुनै दुईजना व्यक्ति फरक-फरक राजनीतिक दलमा आवद्ध रहेछन् । पहिलो व्यक्तिसङ्ग एउटै अफिसमा दोस्रो व्यक्तिकी बहिनी काम गर्ने रहिछन् । कुनै दलको कार्यक्रममा ती दुई व्यक्तिबीच हात हालाहाल पनि भएको रहेछ । प्रहरीले दुवैलाई समातेर छनबिन गर्दा गल्ती पहिलो व्यक्तिको देखियो जोसङ्ग दोस्रो व्यक्तिकी बहिनी काम गर्दथिन् । यही बीचमा त्यो व्यक्तिले व्यक्तिगत र राजनीतिक रिसीबिलाई लिएर अर्का व्यक्तिमाथि आफ्नी बहिनीलाई अफिसमा यौन दुर्व्यवहार गर्न खोजेको आरोप लाएर सिध्याइदिन्छु भनेर धम्की दिरहने रहेछ्न् । तिनका आमाबा, दाजु बहिनी सबै मिले ता कि त्यो व्यक्तिले केही त्यो किसिमको गल्ती नगरे पनि नभएको आरोप लगाएर उसको सामाजिक बेइज्जत गर्न सकियोस् र जेलमा अझै धेरै दिन राख्न सकियोस । अरु कुनै गल्ती वा झगडामा यस्ता नभएका यौनजन्य आरोप लगाउने र फसाउने वातावरण कस्ले बनाएको होला ? पितृ सत्ताले ।

श्रीमती जागिरे, श्रीमान होममेकर भए वा लोग्नेले भन्दा धेरै कमाउने स्वास्नी भए भने पनि पितृ सत्तालाई चित्त बुझ्दैन । त्यो व्यक्ति खुसी होला, तर अरुले कुरा काटिरहन्छन् । स्वास्नीको कमाइ खान्छ, नामर्द आदि भन्दछन् । श्रीमतीहरुले पनि कतिपय अवस्थामा आफुँ सक्षम तथा फुर्सदिलो भए पनि श्रीमानकै कमाइमा भर पर्ने र अनेक फर्माइस गर्ने गरेको देखिन्छ । प्रेमी प्रेमिका डेटमा जादाँ प्रेमीले नै घुमेको, खाजा खाएको आदि पैसा तिरोस भनेर आशा गर्ने केटीमान्छेहरु धेरै छन् । एउटा केटी खल्तीमा १०० रुपैयाँ बोकेर प्रेमी भेट्न जान सक्छे होला तर केटालाई पितृ सत्ताको सिकाइले गर्दा १०० रुपैयाँ मात्र बोकेर जान कन्फिडेन्स नआएको कुरा मैले मेरै साथीहरुबाट सुनेको छु । प्रेमिकाले त्यस्तो नसोचे पनि पुरुषहरुलाई मैले नै तिर्नुपर्छ खाजाको पैसा भन्ने प्रेसर कताकताबाट दिमागमा भरिएको हुदोरहेछ । यो भरिदिएको केले होला ? पितृ सत्ताले ।

श्रीमानले आफ्नी श्रीमतीले भनेको कुरा मान्दा, सुन्दा, जोइटिङ्रे नाम दिइन्छ । मेरा एक विवाहित पुरुष साथीलाई राति अबेरसम्म पार्टीमा बस्दा श्रीमतिको फोन आएछ । उहाँलाई पनि अब फर्किउँ भन्ने लागिरहेको रहेछ । तर घर जान्छु भन्यो भने अरु साथीले खिस्सी गर्ने रहेछ्न् । “बुढीको फोन नउठाइदे न । अहिले नै घर जानुपर्छ र यार । बुढीले जे भन्यो त्यै मान्छ यार यो त ।” आदि भन्दारहेछन् । सबै पुरुषलाई रातभर रक्सी खाने, पार्टी गर्ने मन नहुन पनि त सक्छ । साथीहरुले केके भन्न्छन भनेर उहाँ नचाहेर पनि अबेरसम्म बस्नुहुदो रहेछ । बाआमाले भनेको मान्दा, उहाँहरुला विचार सुन्दा त “बा-आमा टिङ्रे” भनिन्न त । श्रीमतीले श्रीमानका कुरा मान्दा, सुन्दा त पोइटिङ्रेँ भनिन्न त । तर श्रीमानले श्रीमतीका विचारलाई मान गर्दा जोइटिङ्रे भैन्छ भनेर कसले भनेको होला ? पितृ सत्ताले ।

आफूँभन्दा उमेरमा जेठी केटी मन परेर बिहे गरे भने पनि कुरा काट्ने उत्ति नै हुन्छन् । हाम्रै नेपाली चलचित्रका नायक आयुष्मान देशराज जोशीलाई हेरौँ । उनले आफूँभन्दा ५ वर्ष जेठी प्रियंका कार्कीलाई विवाह गरे । एक अर्काको प्रेममा परेको केही वर्ष भैसकेर, विवाह भैसक्दा पनि उनीहरुको जोडीलाई अझै ट्रोल बनाइन्छ, उडाइन्छ । ” भाइटीका लाइदिनुपर्नेसँग विवाह गर्‍यो, कति राम्रा तरुनी केटी भेटिन्थे, वुद्धी बिगार्‍यो, कुन दिन छुट्छ, नाटकीहरु ।” आदि भनेर मान्छेहरु थाकेका छैनन् । केटाले उमेरमा कान्छीलाई नै रोज्नुपर्छ भन्ने छ र ? उनीहरुलाई मन पर्‍यो , उनीहरु खुसी छन्, विवाह गरे । उनीहरु त एक उदाहरण भए, जेठी, बुढी केटी रोजेको भनेर अझै कति पुरुषहरुलाई खिसीटेउरी गरिन्छ । यस्ता कुरा घरबाट, समाजबाट सुन्दा, मजाकको पात्र बनाँइदा उनीहरुलाई कति मन दुख्दोहोला ? श्रीमानभन्दा श्रीमती कान्छो हुनुपर्छ कस्ले भनेको होला ? पितृ सत्ताले ।

शारीरिकरुपमा धेरै बलियो नभएका, हट्टाकट्टा नभएका पुरुषहरुलाई ‘लुते’, ‘नामर्द’ भनेको तपाईंहरुले पनि सुन्नुभएको होला । महिलारुपी गुण धेरै भएका, संवेदनशील, चिट्टिक्क परेर हिँड्न रुचाउने, सानो स्वरमा बोल्ने, आदि पुरुषलाई पुरुष भन्न हिचकिचाउँछन कतिपय । पुरुष भएर कडा, अग्रेसिभ र बलियो नै हुनपर्छ भनेर कसले भनेको होला ? पितृ सत्ताले ।

मेरो भाइ कहिलेकाहीँ रुँदा तैत “आइमाइ जस्तो रुन्छस् ” भनिन्छ । मलाई सोध्न मन लाग्छ । किन ? पुरुषहहरु रुन हुँदैन र, उनीहरुको मन ढुङ्गाको हुन्छ र, उनीहरुलाई चोट लाग्दा दुख्दैन र ? मेरा दाजु पनि धेरै संवेदनशील हुनुहुन्छ । जब कहिलेकाही उहाँले आँसु झार्नुहुन्छ, सबैले कमजोर मनको छ भनेर सोच्दछन् । छोरो मुन्छे भएर नि पिन्छे छ, आइमाइजस्तो भन्दछन् । रुनु त केवल एक मानवीय संवेदना हो नि । यसमा किन महिलाको मात्र हक ? पुरुषलाई रुन हुन्न, कमजोर र नामर्द मात्र रुन्छ भन्ने मानक कसले दिएको हो ? पितृ सत्ताले ।

यी त केही दृस्टान्त भए, पितृ सत्ताले पुरुषलाई पारेका नकारात्मक प्रभाव र उनीहरुबाट राखेर दिक्कलाग्दा आशा । यी आशा महिलाले वा पुरुषले वा कुनै लिङ्गले राखेका होइनन्, पितृ सत्ताले राखेको हो । पितृ सत्ता भनेको पुरुषलाई प्रधान मान्ने एउटा सामाजिक प्रणाली हो, जस्ले पुरुषलाई सत्ता र शक्तिको केन्द्र मान्दछ र अन्य लिङ्गलाई त्योभन्दा तल राख्छ वा सानो छ भन्ने सोच्दछ । पितृ सत्ताले नै महिलालाई वस्तु र भोग्यको मानक दिएको छ भने पुरुष चाहिँ सधैँ बलियो र हर्ताकर्ता हुनुपर्छ भनेर भन्दछ । यस्तो नसोच्ने पुरुषहहरुलाई पनि सोच्न बाध्य बनाउने सँस्कार र ‘toxic masculinity’ लाई पुरुषत्व ठान्ने पितृ सत्ताको विरोध गर्नु सबै लिङ्गीको लागि फाइदाजनक कुरा हो । हो हामी यही पितृ सत्ताको विरोधी हौँ । खासमा “Feminist” हरुलाई धेरै आरोप लाग्ने गर्छ, जस्तै ‘जैले महिला अधिकार भन्छ्न्, अधिकार दुरुपयोग गर्ने महिला भएपनि तिनकै समर्थन गर्छन्, हामी (पुरुष) लाई सधैँ दोषी देख्छन् आदि भनेर । तर पितृ सत्तात्मक सोच भएका व्यक्तिले यसो गर्ने हुन्, असली ‘Feminist’ ले त कहिल्यै पुरुषको खेदो खन्दैनन्, झन् उनीहरुप्रति लादिएका अनेक आर्थिक, सामजिक भार कम गर्ने र उनीहरुलाई बुझ्ने प्रयास गर्दछन् । त्यसैले सबै लिङ्ग पितृ सत्ताको विरुद्धमा लड्नु जरुरी छ, ताकी हरेक लिङ्गी एकअर्काको सहयोगी हुन सकियोस्, विरोधी होइन । हाम्रो लडाइँ पुरुषलाई सानो बनाएर महिलालाई शक्ति र सत्ताको केन्द्र बनाउने होइन, पितृ सत्ताको सट्टा मातृ सत्ता ल्याउने होइन्, हाम्रो लडाइँ त समानताको हो । म भन्न चाहन्छु कि, हामी तपाईंको विरोधी या कुभलो चिताउने व्यक्ति होइनौँ । हामी तपाईंका साथी हौँ, वश तपाईंसँग एउटै धरातलमा उभिन चाहन्छौँ, तपाई‌ंलाई भुईँमा राखेर हामी सिँहासन चढ्ने मुर्खता गर्यौं भने त हामी पनि “त्यै ड्याङको मुला” न भयौँ । तपाईंका र हाम्रा दुखका स्रोत एउटै हुन् । तपाईंका पीडा, जुन बाहिर बतायो, सुनायो भने कस्तो ‘आइमाइ’ जस्तो भनेर मतलब गरिन्न, ती पीडा हामी बुझ्छौँ, बुझ्न चाहन्छौँ । पितृ सत्ताले थोपरिदिएका अनेक दु:ख र अपेक्षासँग खेल्दै, जुझ्दै बाचिरहनुभएका प्रगतीशील तपाईं सबै पुरुषहरुलाई मेरो सलाम ।

Share This
  • 47
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    47
    Shares