आरोपप्रत्यारोपको घिनलाग्दो श्रृखला

आरोपप्रत्यारोपको घिनलाग्दो श्रृखला

१३ मंसिर (धनगढी)
नेपाली राजनीति आरोप प्रत्यारोपको घिनलाग्दो युगमा प्रवेश गरेको छ । जनयुद्धकालमा माओवादीले फरक विचार राख्नेलाई तथानाम आरोप लगाउँथ्यो । फरक विचार राख्नेको टाउको छिनाल्थ्यो । लगभग त्यस्तै युग नेकपाका नेताहरुले फर्काएका हुन् । तर, अहिले टाउको भने गिँडिएको छैन ।
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीले सनिबार सचिवालयमा पेश गरेकाे जवाफी पत्रले अर्का अध्यक्ष पुष्पकमल दाहाललाइ पल्कोला छेउ धकेलेकाे छ । ओलीका अक्षरअक्षरले प्रचण्डका यावत् प्रवृत्ति उजागर गरिदिएका छन् । अर्थात्, ओलीका ३८ पेजको लेखनीमा प्रचण्डको अतित र वर्तमान छ्याङगै–नाङगै पार्ने प्रयास गरेकाे छ ।
जनयुद्धकालीन उनै माओवादी नेता, हाल नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले आरोप प्रत्यारोपको घिनलाग्दो युगमा मुलुकलाई फर्काउनुभएको हो । उहाँले दुई साता अघि आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई जनयुद्धकालीन समयको झल्को दिने गरी आरोपपत्र सार्वजनिक गरेका थिए ।
प्रचण्डले लगाएका आरोपमा ओलीसँग मौन बस्ने र प्रतिवाद गर्ने दुई विकल्प थिए । मौन बस्दा आरोप स्वीकार गरेको ठहरिने, प्रतिवाद गर्दा राजनीतिक बातावरण धमिलिने । ओलीले दोस्रो बाटो रोजे । अर्थात्, प्रतिवाद गर्ने बाटो । प्रचण्डको आरोपपत्रमा सिर्फ आरोप मात्र छ तर ओलीको प्रतिवादपत्रमा आरोपको जवाफ मात्र छैन, प्रत्यारोप पनि छ । ओलीको जवाफी हमलापत्रमा इतिहासको ब्याख्या, नेपालको पछिल्लो दुई दशकको राजनीतिक इतिहास र प्रचण्डका प्रवृत्तिहरु पनि उल्लेख छ । ३८ पृष्ठको प्रतिवाद पत्रलाई पुष्पकमल दाहालको राजनीतिक जीवनको ऐना पनि भन्न सकिन्छ ।
प्रचण्ड अहिलेको राजनीतिक कोर्स कसरी अगाडि बढोस् भन्ने चाहनुहुन्छ ? यस सम्बन्धमा प्रचण्डले कहिल्यै मुख खोल्नुभएको छैन । तर, प्रचण्ड के चाहनुहुन्छ भन्ने ओलीले खोल्नुभएको छ । लिखतको बुँदा नम्बर ७ मा ओली लेख्छन्– ‘ यस संविधानको पूर्ण कार्यान्वयनमार्फत् अपेक्षित परिणाम निकाल्नेमा होइन, तपाईंको रुचि आज पनि संशोधनको नाममा निरन्तर प्रयोग एवं परिक्षण र विभिन्न बहानामा अन्ततः अस्थिरतामै रम्ने छ भन्ने कुरा धेरै तथ्यहरुले पुष्टि गर्छन् ।’
ओलीले प्रचण्डका अतितका प्रवृत्तिहरु उत्खन्न गर्नुभएको छ, अहिलेका स्वार्थहरुको पोल पनि खोलेका छन् । तर, ओलीको लिखतमा एउटा कुरा भने खासै प्रभावकारी रुपमा आएको देखिँदैन । प्रचण्डले ओलीलाई नातावादको आरोप लगाएका छन् । तर ओलीले त्यसको ठाडै प्रतिवाद गरेका छन् । उनले उल्टै प्रचण्ड कति नातावादी र परिवारवादी भन्ने पनि जिकिर गरेका छन् । अब प्रचण्डले त्यसको सामना कसरी गर्लान र घटनाक्रम कसरी अघि बढ्ला भन्ने यकिन भने आगामी बैठकहरुपछि मात्रै हुनेछ ।

Share This
  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares