जसले घरबाटै स्वर्ण जितिन्

जसले घरबाटै स्वर्ण जितिन्

१३ कार्तिक (धनगढी)
कोरोनाभाइरसले प्रायः सबै सामुहिक खेल बन्द भएका बेला धनगढीकी कराते खेलाडी वर्षा साउदले स्वर्ण पदक जितेकी छन् ।
अनलाइनबाटै भएको राष्ट्रव्यापी ‘नेपाल ओपन काता च्याम्पियनसिप’मा प्रथम हुँदै वर्षाले स्वर्ण पदक र नगद पुरस्कार जितेकी हुन्।
भदौ अन्तिमतिर सामाजिक सञ्जालमा काठमाडौंमा प्रतियोगिता हुने भनेर खबर पाएपछि उनले नाम दर्ता गरेकी थिइन्।
मोहना नदी किनारको बालुवामा अभ्यास गरिरहेकी उनले घरको छतमा भाइलाई भिडिओ खिच्न भनिन् । भिडिओ मेसेन्जरमा पठाइन्।
एक महिनापछि काठमाडौंबाट फोन गरेर एक जना साथीले उनले स्वर्ण जितेको बताए। उनलाई ढुक्क भएन।
आयोजकसँग सम्पर्क गरिन्। अनलाइन प्रतियोगितामा उनले स्वर्णसँगै दस हजार नगद पुरस्कार पाएको आयोजकले बताए।
धनगढी कराते एकेडेमीकी प्रशिक्षक वर्षा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रव्यापी ‘नेपाल ओपन काता च्याम्पियनसिप’ सहभागी भएकी थिइन्।
प्रतियोगिताका निर्णायक आठौं दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता तथा १३ औं दक्षिण एसियाली खेलकुदमा नेपाली राष्ट्रिय कराते टोलीका प्रशिक्षक गंगाराम महर्जन र १३ औं दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण पदक विजेता मण्डेकाजी श्रेष्ठ थिए।
विजेतालाई दिइने नगद पुरस्कारको प्रायोजन पूर्वराष्ट्रिय कराते च्याम्पियन विजय लामा गरेका थिए।
काता र कुमिते दुबै स्पर्धामा सुदूरपश्चिम प्रदेशकी च्याम्पियन वर्षाले राष्ट्रिय खेलकुद परिषदद्वारा हालका वर्षमा आयोजित सबै राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै आएकी छन्।
लकडाउनपछिका सात महिना उनी अभ्यास र प्रतियोगितामा सहभागि हुन कभर्ड हल पुगेकी छैनन्। घरबाटै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइरहेकी छन्।
धनगढी उपमहानगरपालिका(३ बोराडाडीकी २२ वर्षीया वर्षा जन्मे(हुर्केको दार्चुलामा कराते खेलेको देख्न पाएकी थिइनन्।
बुबा जागिरे हुनाले बैतडीमा बस्न थालेकी उनले त्यहीँ स्कुलका चौरमा सेतै पहिरनमा अनुशासन र साहसको खेल देखेर रूची जागेको बताइन्।
‘बैतडीमा बुबाको क्वाटरमा हुँदा अरूले कराते खेलेको देखेपछि मलाई खेल्न मन लागेको थियो,’ उनले भनिन्।
त्यसबेला उनले खेलमा कसरी सहभागी हुने थाहा पाइनन्। बुबालाई खेल्न मन छ भन्न पनि सकिनन्।
कैलाली झरेपछि उनी धनगढीको एक सरकारी स्कुलमा पढ्न थालिन्। त्यहाँ उनको कक्षाका केटीहरू कराते खेल्थे।
उनले साथीहरूबाट कराते सिकिन्। घरमा पनि कराते खेल्न इच्छा रहेको र आर्मीमा जान चाहेको सुनाइन्।
‘एसएलसीको तयारी गर, करातेका लागि फ्लेक्जिवल शरिर चाहिन्छ तिमी ठूली भइसक्यौ भनेर मनाही गरे,’ उनले भनिन्।
एसएलसी दिएपछि फेरि बुबासँग जिद्दी गरेर उनी धनगढी कभर्ड हलमा प्रशिक्षण लिन थालिन्। केटीहरूलाई निःशुल्क कराते सिकाउने व्यवस्था भएकाले उनलाई सहज भयो।
बुवा बरिष्ठ अधिवक्ता राजेन्द्र बहादुर साउदको प्रेरणा तथा प्रोत्साहनले पनि खेलमा छुट्टै स्थान बनाउन सहयोग मिलेको उनी बताउँछिन्।
खेल्न सुरू गरेको ६ महिनामै लुम्बिनीमा भएको प्रतियोगितामा उनी सहभागी हुन गइन्। त्यहाँ उनले जित्न सकिनन्।
पहिलो पटक सहभागी भएको प्रत्योगितामा हार व्यहोर्नु पर्दा उनलाई नरमाइलो लाग्यो।
‘करातेमा अभ्यास निरन्तर चाहिन्छ,’ उनले भनिन्।
खेल्न ठूलो झोला र त्यसमा ड्रेस, ग्लभ्स, प्याड आदि बोकेर हिँड्नु पर्छ। त्यो देखेर समाजका मान्छेले उनका बारे ‘वकिलकी छोरी झोला बोकेर कता जान्छे?’ भनेर सुनाए पनि।
‘मेडल जितेर मिडियामा नआएसम्म त कसैसँग पोइल जान्छ अब यो भनेर खुब भने,’ उनले भनिन्।
अरूले घरमा यस्ता कुरा सुनाएपछि परिवारले फेरि उनलाई खेल्नबाट रोक्न प्रयास गरेका थिए।
‘यति मेहेनत गरेर बल्ल त खेलमा स्थापित हुन थालेकी छु, समाजका कुरा सुनेर खेल्न छोड्दिनँ भनेर झन कस्सिएँ,’ उनले भनिन्।
साना ठूला प्रतियोगितामा भाग लिँदै गएपछि मेडल जित्न थालिन्।
२०७३ मा भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएर उनले कातामा थर्ड मेडल जितिन्। २०७६ मा भएको आठौं राष्ट्रिय खेलकुदमा भने फाइटमा उनले थर्ड मेडल जितेकी थिइन्।
उनले राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी भएर २ स्वर्णसहित १८ अन्य पदक जितेकी छन्। देशबाहिरका प्रतियोगितामा पनि उनी सहभागी हुने गरेकी छन्।
जापानमा सन् २०१९ मा भएको कोफोकोन अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा कातामा उनले थर्ड मेडल प्राप्त गरेकी थिइन्।
सोही वर्ष जापानमै भएको केयुकाई कन्टोरी कपमा पनि उनले फाइटमा दोस्रो पदक जितेकी थिइन्।
एकपछि अर्काे गर्दै लगातार मेडल हात पार्न थालेपछि घरबाट पनि उनलाई बढी ‘सपोर्ट’ हुन थालेको छ।
प्रशिक्षक तथा खेलाडी ललित खत्री आफ्ना प्रेरणाका स्रोत भएको उनी बताउँछिन्।
मेडल ल्याउन नसके परिवार र समाजमा खेलिरहन गाह्रो हुने गरेको उनको अनुभव छ।
‘करातेमा मेडल जित्न फलामको चिउरा चपाएजस्तो गाह्रो छ,’ वर्षाले भनिन्।
मेडल खेल जितेरमात्र भन्दा पनि तेरो(मेरो, आफ्नालाई प्राथमिकता दिने गरिएकाले करातेमा समस्या छ।
खेलेर कमाइ गर्न पनि सहज छैन। सरकारी बजेट खेलाडीसम्म बिरलै पुग्ने गरेको उनले बताइन्।
‘जापान जाँदा साढे २ लाख चाहिएपछि मलाई एकदमै गाह्रो भयो, घरबाट आधा, गुरूसँग आधा, सरसापट गरेर गएँ,’उनले भनिन्।
त्यहाँबाट मेडल जितेर नेपाल फर्केपछि भने सहयोग पाएकी थिइन्।
उनलाई खेलकुद विकास समिति कैलालीका तत्कालीन अध्यक्ष दिपक सिंहले ४० हजार रुपैयाँ सहयोग गरे।
प्रदेश सरकारले पनि एक लाख रुपैयाँ दियो।
अहिले आफैं प्रशिक्षण गर्न थालेपछि खेल्नकै लागि बुबासँग पैसा माग्नु परेको छैन। बाहिर जानुपर्दा समस्या उस्तै छ।
‘म एक बोर्डिङ स्कुलमा पनि प्रशिक्षण गर्छु, त्यहाँबाट महिनाको १० हजार आउँछ,’ उनले भनिन्।
अहिले उनको डोजोमा आत्मरक्षाका लागि पनि कराते खेल्न आउन थालेका छन्। छोरी मान्छेले कराते खेलेपछि आत्मरक्षाका सीप जान्ने उनको भनाइ छ।
‘आफूमाथि कसैले आक्रमण वा दुर्व्यवहार गर्न खोजे सहनु पर्छ भन्ने हुँदैन, गेम खेलेकाका हातखुट्टा आवश्यकता अनुसार आफैं चल्छन्,’ उनले भनिन्।
यसले आफूमाथि आइपरेको अवस्थामा प्रतिकार गर्नसक्ने वर्षाको भनाइ छ।
केही बोर्डिङ स्कुलले अहिले मार्सलआर्टका कक्षा चलाएका छन्। सरकारी स्कुलमा पनि यो हुनु पर्ने उनको सुझाव छ ।

Share This
  • 303
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    303
    Shares