महामारीबीच कामको खोजीमा भारत जाने लस्कर

महामारीबीच कामको खोजीमा भारत जाने लस्कर

१८ भदौं (धनगढी)
कोरोना भाइरसको महामारीका कारण सरकारले चार्टर्ड उडानमार्फत विदेशमा रहेका नेपाली नागरिकलाई स्वदेश ल्याइरहेको छ । तर, यहीवेला सुदूरपश्चिमका बासिन्दा भने अहिले संसारमै सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण फैलिरहेको भारततर्फ जान थालेका छन् । पाँच महिनाअघि कैयौँ दिन पैदल हिँडेर घर फर्केका उनीहरू लामो लकडाउन र अहिले निषेधाज्ञाले दैनिकी चलाउन मुस्किल भएपछि बाध्य भएर भारततर्फ जान लागेको बताउँछन् ।
वैशाखको अन्तिमतिर घर फर्केका बैतडीको सिगास गाउँपालिका– ९, गन्सुरका लोकेन्द्रबहादुर धामी बुधबार बिहान कैलालीको त्रिनगर भन्सार नाका खुल्ने पर्खाइमा थिए । दैनिक एक हजारको हाराहारीमा संक्रमित देखिँदा डराएर घर फर्केका उनी अहिले दैनिक ७० हजारको हाराहारीमा संक्रमित थपिँदै गर्दा भने रोजगारीका लागि पुनः भारततिरै लागेका छन् । चार महिना गाउँमा बेरोजगार बस्दा गुजारा गर्नै अप्ठ्यारो भएपछि भारत फर्कनुपरेको उनले सुनाए ।
लोकेन्द्र पाँच वर्षदेखि भारतको राजधानी दिल्लीस्थित एक ‘सपिङ कम्प्लेक्स’मा सुरक्षागार्डको रूपमा काम गर्दै आएका छन् । ‘भारतमा कोरोना फैलन थालेपछि डरले घर फर्किएको थिएँ । अहिले त्योभन्दा झन् बढी कोरोना फैलिरहेको छ । तर, गाउँमा चार महिनासम्म केही काम पाइनँ,’ बुधबार बिहान सीमानाका काट्दै गर्दा उनले भने, ‘बेरोजगार बस्दा घरपरिवार पाल्न पनि समस्या हुन थाल्यो । त्यही भएर पुरानै काममा जान लागेको हुँ ।’ दिल्लीबाट साहुले पनि फोनमा काम गर्न आउन भनेको उनले सुनाए । निषेधाज्ञामा सार्वजनिक सवारीसाधन बन्द रहेकाले उनीसहित चारजना १० हजार रुपैयाँमा गाडी बुकिङ गरेर बैतडीबाट बुधबार बिहानै धनगढी पुगेका थिए ।
हिजोआज दैनिक ७०–८० हजार कोरोना संक्रमण देखिइरहेको समाचार रेडियोमा सुनेका कैलालीका डबलबहादुर दमाईंलाई भारत जाने इच्छा छैन । परिवार पाल्नकै लागि भारत जान लागेको उनले सुनाए । कैलालीको बर्दगोरिया गाउँपालिका–५, बैदीपुरका डबलले संसारभर कोरोना महामारीको त्रास फैलिएका वेला भारत जानु रहर नभई बाध्यता भएको बताए ।
उनी पनि कोरोना भाइरसको संक्रमण बढेपछि गत फागुनमा भारतबाट स्वदेश फर्किएका थिए । चार वर्षदेखि पन्जाबको लुधियानामा निजी गाडी चलाउँदै आएका छन् । त्यसअघि पनि भारतका विभिन्न ठाउँमा सात वर्षजति मजदुरी गरेका थिए । ‘त्यही कामका भरमा आमा–बुबा, श्रीमती, छोराछोरी, भाइबहिनीसहित १० जनाको परिवार पाल्नुपर्छ,’ नाका पार गर्ने हतारोमा रहेका डबलले भने, ‘महामारीको वेला घरमा बस्न त कसलाई मन लाग्दैन । तर, यहाँ बसेर काम पाइएलाजस्तो लागेन । कोरोनाको डर लागे पनि परिवार पाल्न भारत फर्कनैप¥यो ।’ स्वदेशमै गाडी चलाउने काम खोजेको भए पनि ६ महिनासम्म नपाएको उनले सुनाए ।
डोटीको घाङलका वीरबहादुर साउद त नाबालक छोरीसहित परिवारै लगेर भारत जान बुधबार बिहान नेपाल–भारत नाका त्रिनगर पुगेका थिए । पत्नी र छोरीलाई लिएर भारत जान लागेको उनले गाउँमा बस्दा बिहान–बेलुकाको छाक टार्नै गाह्रो भएपछि भारत फर्किन लागेको बताए । भारतको लुधियानास्थित कपडा कम्पनीमा १५ वर्षदेखि ‘सेल्सम्यान’को काम गर्दै आएका उनी वैशाखमा स्वदेश फर्किएका थिए । त्यतिवेला कोरोनाका कारण कम्पनी बन्द भएको थियो भने उनलाई पनि घर फर्किए सुरक्षित भइएला भन्ने लागेको थियो ।
यता गाउँमा केही काम नमिलेको र उता कम्पनी पनि खुलेकाले फर्किन लागेको उनले बताए । ‘कम्पनी खुलिसकेकाले आउनु भन्ने खबर आयो । यता घरमा बेरोजगार बस्नुभन्दा काम गरे दुई–चार पैसा कमाइला,’ वीरबहादुरले भने, ‘कोरोनाको डर मानेर पनि के गर्नु ? परिवार पाल्नका लागि भए पनि काम त गर्नैप¥यो ।’ स्वदेशमा जागिर नपाउँदा आम्दानीको स्रोत र कमाइखाने जग्गाजमिन पनि नभएपछि उनी डेढ दशकअघि भारत पसेका थिए । भारतको रोजगारीमै परिवार निर्भर रहेकाले कोरोनाको महामारी भए पनि उतै लाग्न बाध्य भएको उनले बताए ।
बेरोजगार बस्दा छाक टार्नसमेत गाह्रो भएपछि महामारीबीच पनि भारत फर्कनुपर्ने बाध्यता आएको उनीहरूको भनाइ छ । रोजगारीकै लागि भारत जान लागेका बझाङको केदारस्युँ गाउँपालिकाको देउराका भरत विष्टले महामारीको त्रास फैलिएका वेला काम खोज्न अर्काको देश जानु रहर नभएको बताए । ‘साँझ–बिहान छाक टार्ने समस्या नभएको भए यस्तो महामारीका वेला विदेश जाने रहर थिएन,’ भरतले भने, ‘यस्तो त्रासका वेला परिवारसँग घरमै बस्ने इच्छा कसलाई नहोला र ? स्वदेशमा सामान्य काम पनि नपाएपछि बिदेसिनुप¥यो ।’ उनी गत नौ वर्षदेखि भारतको बेंग्लोरमा निजी गाडी चलाउँदै आएका छन् ।
उनीहरूजस्तै कोरोनाका कारण गत फागुनदेखि वैशाखसम्म घर फर्किएका सुदूरपश्चिमका बासिन्दा रोजगारीका लागि फेरि भारत जान लागेका हुन् । दुई सातायता भारत फर्किनेहरूको ताँती लाग्न थालेको छ । अहिले भारतमा कोरोना संक्रमण दर बढिरहेको जानकारी भए पनि उनीहरू कामका लागि स्वदेश छोड्न विवश भइरहेका छन् । गाउँमा लामो समय बेरोजगार बस्दा दैनिक छाक टार्न पनि समस्या हुन थालेपछि महामारीकै वेला भारत फर्किन परिरहेको उनीहरूले बताउँछन् । भारत जानेहरूको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ ।
त्रिनगर नाकाबाट १३ सय नेपाली भारत गए
दुई सातायता भारत जाने क्रम बढ्न थालेको छ । त्रिनगर नाकामा ओहोरदोहोर गर्नेको विवरण संकलन गरिरहेको सशस्त्र प्रहरीका अनुसार १० असारयता यो नाकाबाट एक हजार तीन सय पाँच नेपाली भारत गएका छन् । बुधबार एक सय ८७ र मंगलबार ६ सय १० जना नेपाली त्रिनगर नाकाबाट भारत गएको सशस्त्र प्रहरीको तथ्यांक छ ।
सशस्त्र प्रहरीको तथ्यांकअनुसार नेपाली र भारतीय नागरिकसमेत गरी असारदेखि १० भदौसम्म यो नाकाबाट साढे सात हजार र जेठदेखि अहिलेसम्म गड्डाचौकी नाकाबाट सात हजारजना भारत गएका छन् । अहिले भारत जानेमध्ये अधिकांश नेपाली हुने गरेका सशस्त्र प्रहरी बल ३५ नम्बर गण कञ्चनपुरका डिएसपी देवबहादुर चन्दले बताए । सीमानाका बन्द रहेकाले कानुनतः नेपालीले भारत जान नपाइने भए पनि भारतीय परिचयपत्र खुल्ने कागजात भएका नेपाली जाने गरेका उनले बताए ।
कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर सीमानाका बन्द गरिएकाले नेपालीलाई भारत र भारतीयलाई नेपाल आउन–जान प्रतिबन्ध गरिएको छ । आधार कार्ड, रासन कार्डलगायत भारतीय परिचय खुल्ने कागजात देखाएपछि नेपालीलाई सीमामा खटिएका भारतीय सुरक्षाकर्मीले प्रवेशको अनुमति दिने गरेका छन् । एउटै ठाउँमा लामो समय काम गरेका कतिपयको काम गर्ने ठाउँको मालिकले भारतीयको परिचय खुल्ने ‘आधार कार्ड’ र ‘रासन कार्ड’ बनाइदिन्छन् । लामो समय भारतमा काम गरेका धेरैजसो नेपालीसँग यी कार्डहरू हुने गरेका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारको तथ्यांकअनुसार गत फागुनयता सुदूरपश्चिमका विभिन्न नाका भएर साढे दुई लाखभन्दा बढी नेपाली भारतबाट स्वदेश फर्किएका थिए । कतिपय कोरोनाको त्रासले तथा कतिपय कोरोनाले कार्यस्थल बन्द भएपछि रोजगारी गुमाएर फर्किएका थिए । सुदूरपश्चिमबाट भारतीय रोजगारीमा जाने संख्या ठूलो छ । उनीहरूको यकिन तथ्यांक भने सरकारसँग छैन ।
भारतमा अधिकांश नेपाली न्यून ज्यालामा कठिन काम गर्ने गरेका वैदेशिक रोजगारका क्षेत्रमा काम गर्नेहरू बताउँछन् । कुनै वेला लामो समय भारतमा काम गरेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले यहीँ रोजगारीका अवसरहरू सिर्जना गरेर मजदुरीका लागि भारत जानुपर्ने बाध्यता अन्त्य गर्ने बताउँदै आएका छन् । तर, प्रदेशमा रोजगारी सिर्जना गर्ने योजना र कार्यक्रमहरू सञ्चालन हुन सकेका छैनन् । नयाँ पत्रिकाबाट

Share This
  • 45
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    45
    Shares