सधैँ सत्ताको वरिपरि रहने ईश्वरको शक्ति !

सधैँ सत्ताको वरिपरि रहने ईश्वरको शक्ति !

१० भदौं (काठमाण्डौं)
०६२,०६३ को जनआन्दोलनपछि प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइराला बिरामी थिए । उनी सार्वजनिक कार्यक्रममा निकै कम उपस्थित हुन्थे । त्यसबाट फाइदा पुगेको थियो तत्कालीन सभामुख सुवास नेम्वाङलाई ।
प्रधानमन्त्री जाने अधिकांश कार्यक्रममा नेम्वाङ जाने गर्थे । अहिले स्थिति त्यही छ तर व्यक्ति भने फरक । अहिले प्रधानमन्त्री केपी ओली छन्, तर बिरामी, उनी अहिले कुनै पनि कार्यक्रममा सहभागी हुने अवस्थामा छैनन् । त्यसको सीधा फाइदा छ, उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई ।
मुलुक कोरोना भाइरस कोभिड–१९ को त्रासले आक्रान्त छ । पोखरेल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको संयोजक पनि छन् । प्रधानमन्त्री देशभित्रै भएकाले कार्यवाहक प्रधानमन्त्री दिने प्रावधान नभएकाले औपचारिक रूपमा पोखरेलले त्यो जिम्मेवारी पाएका त छैनन् । यद्यपि संयोजकका हैसियतमा मन्त्रिपरिषदले गर्ने सम्पूर्ण काम उनले गरिरहेका छन् ।
प्रधानमन्त्री बिरामी हुनु, यही समयमा कोरोनाको त्रासले मुलुक आक्रान्त हुनु सुखद् होइन । तर पनि यसबाट मुलुकलाई पार लगाउनु त पर्छ नै । यसको जिम्मेवारी पोखरेलको काँधमा आइपुगेको छ । अप्ठ्यारो परिस्थितिमा नै नेतृत्वको क्षमता देखिने हो । त्यो अवसर पोखरेललाई छ ।
अब प्रश्न उठ्छ, नकारात्मक परिस्थिति नै सही, यसलाई मौकाका रूपमा लिने हो भने त्यसको सदुपयोग पोखरेलले गरेका छन् त ? पोखरेल नौ जना वरिष्ठ मन्त्रीहरु सदस्य रहेको उच्च स्तरीय समन्वय समितिको संयोजक छन् फागुन १८ गतेदेखि । त्यसयता समितिले कोरोना भाइरस रोकथामका लागि प्रशस्तै निर्णय ग¥यो पनि । तर कार्यान्वयनमा निकै ढिला भएको आम गुनासो छ । समिति बनेको एक महिनासम्म स्वास्थ्य सामग्री केही पनि नआउनु सबैभन्दा आलोचनाको विषय बनेको छ । यसको जवाफ सहज छ, विश्व नै कोरोनाको आक्रान्त भइरहेका बेला सामान कहाँबाट ल्याउने ? प्रश्न सत्य हो, त्यत्तिकै अर्को सत्य पनि हो ।
ईश्वर पोखरलेमा दुई किसिमका विशेषता छन् । सुरुदेखिकै पोखरेलको प्रमुख विशेषता हो– सत्ता र शक्ति चिन्ने र जहिले पनि त्यसैको वरिपरि रहिरहने । हिजो मदन भण्डारी पार्टी नेतृत्वमा आउँदा होस् या माधव नेपाल वा केपी ओली नै किन नहुन् सत्ता नेतृत्वको वरिपरि घुमिरहे । जब मदन भण्डारीको निधन भयो, त्यसपछि माधव नेपाल पार्टी नेतृत्वमा आए । पोखरेल त्यस्ता व्यक्ति हुन् जसले माधव नेपालबाट सबभन्दा बढी लाभ लिन पुगे । तत्कालीन एमाले वृत्तमा अहिले पनि माधवकुमार नेपालको पालामा सबैभन्दा बढी लाभ लिने नेतामा पोखरेल भएको चर्चा हुन छाडेको छैन ।
हुन पनि माधव नेपाल नेतृत्वमा रहेका बेला पोखरेलले कुनै पद बाँकी राखेनन् । त्यसबेला सङ्गठन विभाग प्रमुख, प्रचार विभाग प्रमुख, सचिवालयको सचिव, मध्यमाञ्चलको प्रमुख, उपत्यकाको इन्चार्ज र केन्द्रीय कार्यालयको सचिव समेत भइसकेका पोखरेल प्रधानमन्त्रीको प्रमुख सल्लाहकार समेत हुन भ्याए ।
तत्कालीन एमाले वृत्तमा अहिले एउटा घटनाको चर्चा हुने गर्छ । २०५६ सालको चुनावपछि संसदको सार्वजनिक लेखा समितिमा एउटा मुद्दा आयो । त्यसबेला लेखा समितिका सभापति थिए–सुवासचन्द्र नेम्वाङ । प्रकरण थियो– साउथ चाइना प्रकरण । लेखा समितिले छानबिन गर्दै जाँदा भीम रावलको कमजोरी देखियो । पछि अदालतले भने ठहरेन । त्यसको पार्टीमा आलोचना पनि भयो । त्यसबेला यस्तो समय पनि आयो, पार्टीको बैठकमा स्थायी समिति सदस्य ईश्वर पोखरेलले अब आफू आइन्दा सार्वजनिक लेखा समितिमा नबस्ने इच्छा व्यक्त गरे भन्ने वक्तव्य आयो । यसको अर्थ उहाँले इच्छा व्यक्त गरेको कुरा पनि पार्टीको अफिसियल दस्तावेजमा आउँथ्यो । जब माधव नेपाल नेतृत्वमा रहँदैनन् र झलनाथ खनालको नेतृत्वमा पार्टी पुग्छ भन्ने भयो त्यसपछि पोखरेल सबभन्दा पहिला खनालका नजिक भएर उनको दायाँ हात बन्न पुगे ।
त्यसपछि झलनाथकै कोटाबाट पार्टी महासचिव पनि पोखरेल बने । राजनीतिमा कोही कसैको टिममा पुग्छ भने त्यो टिमको कार्यकाल सफल पार्ने दायित्व हुन्छ । तर पोखरेलमा त्यो विशेषता देखिँदैन । जब खनाल अब पावरमा नआउने बुझियो भित्रभित्रै उनले केपी ओलीसँग नजिक हुने सुरुङ खनिसकेका थिए । र, अहिलेसम्म पनि उपप्रधानमन्त्री समेत बनेका छन् । यसले उनी सदाबहार सत्ताको वरिपरि घुम्न चाहन्छन् भन्ने धेरै कुरालाई पुष्टि गर्छ । अब पनि अर्को कोही मानिस नेतृत्वमा आउने सङ्केत भएमा पोखरेलको त्यसैसँग कोलिसन बन्छ ।
दोस्रो कुरा पोखरेल कहिल्यै पनि अवसरबाट वञ्चित भएनन् । २०४८ सालमा चुनाव लडेका पोखरेल पराजित बने । तर उनी चुनाव हार्ने वित्तिकै राष्ट्रिय सभामा आए । फेरि दोहोर्याएर पनि राष्ट्रिय सभामा बसे ।
राष्ट्रिय सभामा आउनुअघि प्रधानमन्त्रीको सल्लाहकार भए । त्यसपछि राष्ट्रिय सभाको सदस्य हुँदाहुँदै प्रतिनिधि सभा सदस्य पदमा चुनाव लडे । यो सुविधा पार्टीमा कमैले मात्र पाउँछन् । उनले चुनाव जिते । २०६४ र ७० को चुनावमा भने उनले हारे । त्यो बीचमा पनि बाबुराम र देउवा नेतृत्वको सरकारमा गए । रोचक कुरा त के छ भने २०६४ को चुनाव हारे पनि ०७० सम्म लगातार मन्त्री स्तरको शान्ति समितिको सदस्य भए । यसरी मिलाउन सक्ने खुबी उनमा देखिन्छ ।
यो बाहेका पोखरेलको अर्को पनि विशेषता छ । त्यसमा हरेक जिम्मेवारी लिने तर पूरा नगर्ने । यसमा दुईवटा उदाहरण भए पुग्छ । उनी महासचिव भएका बेला बल्खुमा पार्टी कार्यालय बनाउने भनेर नक्सा टाँसियो ।
पोखरेलकै नेतृत्वमा भवन निर्माण कार्यदल बन्यो । शिलान्यास पनि भयो तर भवन बनेन । पार्टीका नेता कार्यकर्ताको उपचारका लागि पार्टीमा कोष बनाउने कुरा उनकै नेतृत्वमा भयो तर उनले एउटा पनि बैठक राख्न सकेनन् ।
तत्कालीन एमाले पार्टी सचिवालयको सचिव भए तर कहिल्यै बैठक बोलाएनन् । किनभने त्यो कमिटीमा घनश्याम भुसाल लगायतका नेता थिए । यसको अर्थ पाएको जिम्मेवारी पूरा गर्ने कुरामा धेरै पटक असफल भएको इतिहास छ । तर चाहिने सधैँ शक्तिशाली पद । स्कुल विभाग, प्रचार विभाग, सङ्गठन विभाग लगायतका विभाग उनलाई नै चाहिने ।
चौथो महत्त्वपूर्ण विशेषता उनमा छ । अहिले उनी केपी ओलीको लिगेसी आफूले पछ्याएको उनको दाबी छ ।
‘माधव नेपाल, प्रचण्ड र केपी ओली पार्टीमा अलग अलग हो,’ शक्ति केन्द्रहरुमा पोखरेलले भन्ने गरेका छन् । केपी ओलीका कारण भारतको नाकाबन्दीविरुद्ध जुधियो, उनकै कारण चीनसँग पारवहन सम्झौता भयो भने ओलीकै कारण पार्टी एकता भएर दुई तिहाइ आयो । त्यस्तै ओलीकै कारण चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण भयो र अब पार्टीमा ओलीको यो लिगेसी म बोक्छु भन्ने उनको भनाइ छ ।
तर उनी केपी ओलीसँग कहिलेबाट आए भन्दा जब सत्तामा ओली आए (२०७१) त्यसपछि मात्रै पछि लागे । त्योभन्दा अघिसम्म उनी ओलीलाई कस्तो वचन र शब्द प्रयोग गर्थे भन्ने कुरा तत्कालीन एमालेका नेताहरु जानकार नै छन् । पाँचौँ विशेषतामा पोखरेल कार्यकर्ता पङ्क्तिमा लोकप्रिय हुन सकेका छैन ।
तत्कालीन एमालेको पाँचौँ महाधिवेशनमा निर्वाचन भएन । त्यसयता लगातार निर्वाचनको प्रक्रियाबाटै नेतृत्व चयन भएको छ । ती सबै निर्वाचनमा सबैभन्दा अन्तिम मत ल्याउने ईश्वर पोखरेल नै हुन् ।
जनकपुर महाधिवेशनमा पनि पोखरेल कार्यकर्ताको रूचिमा परेनन् । उनी र प्रदीप नेपाल सँगसँगै जस्तो रहे । पार्टीमा सुरेन्द्र पाण्डे पोखरेलभन्दा धेरै जुनियर नेता हुन् । जम्मा १५ भोटले मात्रै पाण्डेलाई जिते । यी घटनाक्रमले पोखरेल पार्टी कार्यकर्तामा लोकप्रिय छैनन् भन्ने देखाउँछ । उदाहरणका लागि इन्स्पेक्टरमा भर्ना भएको पुलिस, बढुवा हुँदै डीआईजीसम्म भए जस्तै गरी उनी नेता बने ।
पोखरेलको अर्को विशेषता नेताहरुमा मेलमिलाप भन्दा पनि चिढ्याउन र फटाउनमा पोख्त हुनु हो । त्यसो गर्दा उनी आफैलाई भने फाइदा पुग्छ । जस्तो केपी ओली, माधव नेपाल मिलेर केन्द्रीय र स्थायी समिति तय गरे, त्यसमा उनको पुछताछ हुँदैन । उनीहरु मिलेर एकताका काम गर्दा ईश्वर पोखरलको कहीँकतै अन्तरवार्ता समेत आएन । यसले उनी पार्टी एकताप्रति पनि असन्तुष्ट थिए भन्ने देखिन्छ । चुनाव हारिन्छ कि भनेर उनी नबोलेका मात्रै हुन् ।
घटनाक्रमले जब माधव र केपीबीच दूरी अलि बढ्छ तब उनको सास आएजस्तो हुन्छ, सक्रियता पनि देखिन्छ । यसका साथै सार्वजनिक छवि पनि पोखरेलको राम्रो मानिँदैन । एउटा नेतामा हुनुपर्ने छवि उनमा नभएको कुरा त ट्याङ्की प्रकरणदेखि धेरै कुरा बाहिर आएबाटै थाहा हुन्छ । सार्वजनिक रूपमा बोल्दा पनि नोटेबल छैनन् यी देखिएकै विशेषता हुन् ।
नेकपाका कोर नेता र भविष्य
नेकपाका एउटा कोर नेता भइरहने मध्येका एक हुन् पोखरेल । चाहे त्यो तीन चार वा आठ नौ जनाको समूहमै किन नपरून् । कोरमध्येमा लामै समय रहन सक्ने सम्भावना बोकेका नेता हुन् उनी । तर नेतृत्व भने उनले कहिल्यै गर्न सक्दैनन् । नेतृत्व गर्ने कौशलता पोखरेलका ५ प्रतिशत पनि देखिँदैन ।
तर यत्रो विशाल पार्टीको ६ जना नेताभित्रमा पोखरेल अनिवार्य पर्छन् । यो चानचुने कुरा होइन । अहिले पनि पोजिसन हाई नै छ । योभन्दा अझ उच्च पोजिसनमा पनि पुग्नुहोला तर पार्टी नेतृत्व गर्ने सामर्थ्य उनमा छैन । पार्टी नेतृत्व गर्न एउटा मात्रै गुण भएर पुग्दैन ।
सिद्धान्तको कुरा फरर भट्याएर पनि हुँदैन । जनतामा गएर मीठो भाषण गरेर मात्रै पनि हुँदैन । सङ्गठन विस्तारदेखि सबै कुरालाई एकसाथ मिलाएर लैजान सक्ने क्यारेक्टर, प्रस्तुति, बानीबेहोरा, साँघुरो घेरा त्यसका बाधक मानिन्छन् । यसबारेमा पोखरेललाई मानिसहरुले आलोचना पनि गर्ने गरेका छन् ।
उनले लिएको बाटोले उनलाई नेतृत्वमा नपुर्याउने प्रस्टै छ । पार्टीभित्रै पनि उनले ‘एन्टी माओवादी सेन्टिमेन्ट’ बनाउन सक्छु कि भनेर कोसिस गरिरहेका छन् । माओवादीलाई मन नपराउने, पीडित भएको पङ्क्ति पनि पूर्व एमाले कित्तामा अझै ठूलो पङ्क्ति छ । त्यसको पकेट बनाउन सक्छु कि भन्ने चाहना उनमा छ । नेकपामा गुट उपगुट (माधव, केपी, प्रचण्ड) छाड्दा पनि नेकपामा अझै विभिन्न पकेट कायमै छन् ।
उदाहरणकै लागि पूर्व जनमोर्चाबाट नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, वामदेव गौतम, विष्णु पौडेल अर्को पकेट मानिन्छन् । बरु वामदेव त्यसमध्ये शक्तिशाली पकेट मानिन्छन् । किनभने झलनाथ र केपी ओलीलाई गौतमले नै जिताएका हुन् । किसान महासङ्घको अध्यक्ष भएकाले पनि उनको पक्षमा बढीकै साथ रहने गर्छ । तर त्यही सोचेर ईश्वरले पकेट बनाउने काम गरे, त्यो उनका लागि आत्मघाती हुने देखिन्छ । जस्तो जबजको कुरा नै उदाहरण हुनसक्छ ।
जब जबज स्थगित गर्ने कुरा भयो, एकता संयोजन समितिमा पोखरेल आफै थिए, निर्णय त्यहाँ गराउनुपथ्र्यो । तर उनले बाहिर आएर जबज नै हुने, सूर्य चिन्ह नै हुने भनेर बोलिदिए । भित्र हस्ताक्षर गरेर आउने अनि बाहिर हुँदैन भन्ने राजनीतिक इमान कमी देखियो र पछि व्याक फायर नै भयो । त्यो सबै नेता कार्यकर्ताले महसुस गरिसकेका छन् । जसले गर्दा कति निर्णय प्रक्रिया नै प्रभावित हुन पुगेको सबैलाई थाहा छ ।
केपी ओलीपछि विद्या भण्डारीको इसारामा आफू नै पार्टीको उत्तराधिकारी हुने सोच पनि पोखरेलले राखेको पाइन्छ । तर त्यो सम्भव देखिन्न । किनभने पार्टी एकताको स्प्रिट अनुसार एउटा पद प्रचण्डले अनिवार्य पाउँछन् । या त प्रधानमन्त्री या पार्टी अध्यक्ष प्रचण्ड नै हुन् । कि त त्यही दिन पार्टी विभाजन हुनुपर्यो, योबाहेक विकल्प छैन ।
यस्तो अवस्थामा नेकपामा अहिले भएका तीनवटा समूह केपी ओली, माधव नेपाल र प्रचण्ड । उनीहरु दुई तीन प्रतिशत बाहेक हाराहारीजस्तै मानिन्छन् । तीनमध्ये एकको अनुपस्थितिमा प्रचण्डले एउटा पाएपछि माधव नेपाल हातमा दही जमाएर बस्न रुचाउँदैनन् ।

Share This
  • 14
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares