जता विवाद उतै ईश्वर !

जता विवाद उतै ईश्वर !

१० भदौं (काठमाण्डौं)
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा जनताको बहुदलीय जनवाद (जबज) को धेरै वकालत गर्नेमध्येका नेता हुन्– उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल । सचिवालय सदस्य तथा नेकपाको स्कुल विभाग प्रमुखसमेत रहेका पोखरेल तिनै हुन् जो केपी ओली नेतृत्वको सरकारका मन्त्रीमध्ये विवादमा परिरहनेमा पर्दछन् ।
कोरोना महामारी नियन्त्रणका लागि गठन भएको कोभिड–१९ क्राइसिस मेनेजमेन्ट सेन्टर (सीसीएमसी)का संयोजक समेत रहेका पोखरेलका गतिविधि र निर्णय एकपछि अर्को विवादित बन्ने गरेका छन् ।
कोरोना नियन्त्रणका लागि औषधि उपकरण खरिद गर्ने विषयमा होस् वा सेनालाई लकिरका फकिर भन्दै उछितो काढेको विषयले नै किन नहोस् पोखरेल विवादबाट टाढा हुन सकेका छैनन् ।
फास्ट ट्रयाक निर्माणका सन्दर्भमा आफ्नाले ठेक्का नपाएको झोँकमा पोखरेलले एक औपचारिक कार्यक्रममै सेनालाई दोषी देखाएका थिए । त्यसले सेना र रक्षामन्त्री बीचको सम्बन्धमै दरार आएको थियो । पछि मन्त्रालयले यसबारे विज्ञप्ति नै निकालेर उक्त समाचारको खण्डन गर्नुपरेको थियो ।
पछिल्लो पटक पोखरेलले आफ्नै सम्धी उपेन्द्र कोइरालालाई राष्ट्रिय वाणिज्य बैङ्कको अध्यक्ष नियुक्ति गर्ने भएसँगै पोखरेललाई सामाजिक सञ्जाल प्रयोगकर्ता र नेकपाकै नेता कार्यकर्ताले जबजसँग तुलना गर्दै उनको धज्जी उडाएका छन् ।
आफूलाई जबजको हिमायती र केपी ओलीपछि त्यसको उत्तराधिकारी आफै हुँ भन्ठान्ने मन्त्री पोखरेलको व्यवहार भने जबजको सिद्धान्तभन्दा ठीक विपरीत भएको उनीहरुको ठहर छ ।
मदन भण्डारीकै शब्दमा भन्ने हो भने ‘सामन्तवाद साम्राज्यवाद विरोधी, आर्थिक, सामाजिक, सांस्कृतिक आधारमा उभिएको नयाँ व्यवस्था’ हो ‘जबज’ । तर त्यही जबजको वकालत गर्ने मन्त्री पोखरेलले आफ्ना सम्धी कोइरालालाई सातौँ पटक नियुक्ति दिलाएर आफ्नो चरित्र उदाङ्गो बनाएपछि उनको सामाजिक सञ्जालमा मात्रै होइन, आफ्नै कार्यकर्ता पनि विरोध गर्न बाध्य बनेका हुन् ।
नेकपाका एकजना केन्द्रीय सदस्य पोखरेलले सम्धी कोइरालालाई दिलाएको नियुक्तिको विषयलाई ‘हद’ को संज्ञा दिए ।
उनले पोखरेलले विगत एमालेमा रहँदा पनि शक्तिको दुरुपयोग गर्दै पार्टीको विधि विपरीत आफ्नाहरुलाई धेरै अवसर दिने गरेको बताए । ‘यो उहाँको पुरानै बानी हो,’ उनले रातोपाटीसँग भने, ‘हिजो एमाले पार्टी रहँदा र राजनीतिक नियुक्ति गर्दा एउटा मापदण्ड बनाइएको थियो । त्यसमा अवसर नपाएका, पार्टीको काममा निरन्तर लागेका, एक पटक पाएकालाई पुनः अर्को पटक नदिएर अर्कोलाई अवसर दिने व्यवस्था थियो । तर त्यस्तो व्यवस्था हुँदा पनि पोखरेलले निरन्तर राजनीतिक शक्तिका आडमा कोइरालालाई आयल निगमको अध्यक्षदेखि खाद्य संस्थानको अध्यक्ष र मोरङ क्याम्पसको प्रमुख समेत बनाउनुभयो ।’
त्यति मात्रै होइन पोखरेलले त्यसपछि उनै कोइरालालाई उच्च शिक्षा परिषद्को उपाध्यक्ष र अहिले पनि वाणिज्य बैङ्कको अध्यक्ष बनाएको उनको भनाइ छ ।

Share This
  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares