युवालाई गाउँमै रोक्न २ देखि १० लाख ऋण

युवालाई गाउँमै रोक्न २ देखि १० लाख ऋण

६ भदौं (अर्घाखाँची)
वर्षौंसम्म भारतमा रहेका युवा कोभिड–१९ ले रोजगारी गुमाएपछि स्वदेश फर्किए । गएको ५ महिनामा भारत र तेस्रो मुलुकबाट मालारानी गाउँपालिकामा मात्रै ८ सयभन्दा बढी भित्रिएका छन् । उनीहरू र जाने तयारीमा रहेका युवालाई गाउँमै रोक्न गाउँपालिकाले स्वरोजगार कार्यक्रम ल्याएको छ ।
गाउँमै कृषि उद्यम गर्ने एक व्यवसायी युवालाई २ लाखदेखि १० लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा दिने गरी मालारानीले कृषि विकास बैंकसँग सम्झौता गरेको छ । आयमूलक काम गर्न चाहने युवाले भदौ १५ देखि सहुलियत ऋण पाउनेछन् । गाउँपालिकाको २ करोड र बैंकबाट ६ करोड रुपैयाँ स्वरोजगार सुरक्षण कोषमा जम्मा भएको छ । बेरोजगार युवाले आफ्नो कृषि परियोजना बनाएर गाउँपालिकामा निवेदनसहितको फार्म दर्ता गर्नुपर्नेछ । पालिकाको सिफारिसमा बैंकले परियोजनाको सम्भाव्यता हेरी कर्जा लगानी गर्नेछ । महिला उद्यमशीलताका लागि ३ र अन्य कर्जाको हकमा ४ प्रतिशत वार्षिक ब्याजमा ऋण उपलब्ध हुनेछ । पालिकाका बासिन्दालाई बैंकले ५ प्रकारका सहुलियतमा बिनाधितो कर्जा प्रदान गर्नेछ । व्यावसायिक कृषि तथा पशुपन्छी कर्जाअन्तर्गत १० लाख, शिक्षित युवा स्वरोजगारमा ७ लाख, वैदेशिक रोजगारबाट फर्केका युवा परियोजना कर्जामा १० लाख, महिला उद्यमशीलतामा १० लाख र दलित समुदाय व्यावसायिक विकास कर्जामा १० लाख रुपैयाँसम्म दिइने कृषि विकास बैंकका प्रदेश ५ कार्यालय भैरहवाका निर्देशक चन्द्रसिंह थापाले जानकारी दिए ।
‘पालिकाले ९ वटै वडाका कति जना वैदेशिक रोजगारीमा छन्, तथ्यांक संकलन गर्दै छ,’ प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले भने, ‘प्रत्येक घरकालाई कृषि उद्यममा जोडेर वैदेशिक रोजगारमा जानेको संख्या घटाएर बेरोजगारी हल गर्ने परियोजना हो यो ।’ अहिले वडामा फार्म दर्ताको काम भइरहेको छ । वडाको सिफारिसमा पालिकाले सहुलियत ऋण उपलब्ध गराउन बैंकलाई अनुरोध गर्नेछ । ‘कोभिड–१९ का कारण भारत र तेस्रो मुलुकबाट आएका ६ जना युवालाई ऋण दिन पालिकाले बैंकलाई सिफारिस गरिसकेको छ,’ मालारानी–५ का वडाध्यक्ष शोभाखर भुसालले भने, ‘थप २५ जनाले फार्म दर्ता गरेका छन् । सहुलियत कर्जा लिन युवा उत्साहित देखिएका छन् ।’

Share This
  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares