नाटकीय ढंगबाट टर्यो नेकपामा फुटको खतरा

नाटकीय ढंगबाट टर्यो नेकपामा फुटको खतरा

२८ असार (काठमाण्डौं)
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र शक्तिसंघर्षका कारण उत्पन्न फुटको अवस्था तत्कालका लागि टरेको छ । शनिवार आफ्नो गृहजिल्ला चितवन पुगेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने स्थिति नआओस् भन्नेमा आफू सचेत रहेको बताएका थिए ।
बाढी पहिरोको अवस्था अवलोकन गर्न चितवन पुगेका प्रचण्डले भने, ‘मैले हतार गर्न खोजेको भए अर्को दुर्घटना वा के हुन्थ्यो म अहिले भन्न सक्दिनँ । कुनै न कुनै समझदारी, सहमतिबाट हल निस्कन्छ । पछिल्लो पटक अर्का अध्यक्षसँग भएका कुराहरुको संकेत पनि हल गर्नुपर्छ भन्नेतिर नै छ ।’
अध्यक्ष प्रचण्डको यस वक्तव्यसँगै नेकपाभित्रको फुट तत्कालका लागि टरेको बुझ्न सकिन्छ । अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शुक्रवार राष्ट्रको नाममा सम्बोधन गर्दै राजनीतिक दलभित्र हुने विवाद र बहस आन्तरिक भएकाले निष्कर्षमा पुर्याउने जिम्मा नेताहरूको नै हुने भन्दै सहमतितर्फ संकेत गरेका थिए ।
वर्षाका कारण देशका विभिन्न ठाउँहरूमा आइपरेका प्राकृतिक विपत्तिमा ध्यान केन्द्रित गर्दै राष्ट्रका नाममा सम्बोधन गरेका प्रधानमन्त्री ओलीले पार्टीभित्रको आन्तरिक संघर्षका बारेमा कडाइका साथ वक्तव्य दिने अनुमान गरिएको थियो ।
उक्त अनुमानविपरित ओलीले भने, ‘पार्टीभित्र हुने यस्ता बहस, छलफल र विमतिहरू तिनका नितान्त आन्तरिक र कतिपय अवस्थामा नियमित प्रक्रिया पनि हुन् । यस्ता विषयहरू सम्बन्धित दल र तिनका नेताहरूले आपसी छलफलबाटै टुंग्याउनेछन् । यसका लागि धैर्यता र संयम आवश्यक हुन्छ ।’
केही दिन अघिसम्म नितान्त विपरित ध्रुवमा उभिएका अध्यक्षद्वय ओली र प्रचण्डले पार्टीको आन्तरिक विवादमाथि दिएको प्रतिक्रिया एउटै देखिएको छ । दुवै अध्यक्षमा आएको नाटकीय परिवर्तन पछाडिको ‘फ्याक्टर’ भने अहिलेसम्म सार्वजनिक भएको छैन ।
गत असार १० गतेबाट शुरू भएको नेकपा स्थायी कमिटीको पाचौं बैठकमा बहुसंख्यक स्थायी कमिटीका सदस्यहरूले ओलीको राजीनामा माग गरेका थिए । वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाललाई साथमा लिएर प्रचण्डले ओलीको राजीनामाबाट टसको मस नहुने अडानमा थिए ।
नेकपाभित्रको शक्तिसंघर्षले नाटकीय मोड लिएर सुखद अवतरण गर्नमा दोस्रो पुस्ताका नेताहरूको पनि हात रहेको छ । स्थायी कमिटी सदस्यसमेत रहेका कृषिमन्त्री घनश्याम भुसालको पहलमा दोस्रो पुस्ताका नेताहरू बारम्बार छलफलमा जुटेका थिए । उनीहरूले पार्टी फुट कुनै पनि हालतमा क्षम्य नहुने भन्दै शीर्ष नेताहरूलाई सहमतिका साथ संकट टार्न पटक पटक आग्रह गरेका थिए ।
दुवै अध्यक्षनिकट नेताहरूले तत्कालका लागि पार्टी विभाजनबाट जोगिएको भन्दै खुसी प्रकट गरेका छन् । कतिपय स्थायी कमिटी सदस्यहरूले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत पार्टीको विवाद सहमतिका साथ हल भएकोतर्फ संकेत गर्दै विभिन्न सन्देशहरू दिने गरेका थिए ।
प्रदेश ५ का मुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य शंकर पोखरेलले शुक्रवार साँझ फेसबूकमा लेखेका थिए, ‘पार्टी एकताको चुड्न लागेको डोरी अध्यक्षद्वयले जोड्ने र त्यसमा अन्य सबै कमरेडहरुको सकारात्मक साथ सहयोग रहने विश्वासका साथ म आजै कार्यक्षेत्रमा(वुटवल) फर्किएको छु । पार्टी एकतालाई दुर्घटनामा पर्नबाट जोगाउँदै संवादको प्रक्रियालाई अघि बढाउन भूमिका खेल्नु हुने सबै धन्यवादको पात्र हुनुहुन्छ ।’
नेकपामा दुई अध्यक्षबीच सहमति भइसकेको सन्देश पोखरेलले शुक्रवार नै फेसबूकमार्फत दिइसकेका थिए । पोखरेल स्थायी कमिटी बैठक शुरू हुनुभन्दा अघिदेखि राजधानी आएर नेकपाभित्रको संकट समाधानका लागि पहल गर्ने नेता हुन् ।
विवाद समाधानका लागि डटेर लागिपरेका प्रचण्डनिकट मानिने स्थायी कमिटी सदस्य जनार्दन शर्मा प्रभाकरले शुक्रवार बिहान एक ट्वीट लेखेर पार्टीको संकट टरेको सन्देश दिएका थिए । ‘आज फेरि अध्यारो पन्छिएर बिहानी झुल्किएको छ । पार्टीभित्रको किचलो अन्धकारसँगै भुलिदिँउ । अतिवृष्टि र कोरोनाको महामारीको विपद्बाट पार पाउन नयाँ सिराबाट काम थालौं, शुभ प्रभात,’ उनले लेखेका थिए ।
प्रधानमन्त्री ओलीले अध्यक्ष या प्रधानमन्त्रीबाट कुनै पनि हालतमा राजीनामा नदिने बरू पार्टी फुटाएर जाने अडान लिएपछि प्रचण्ड(माधव समूह पार्टी विभाजनले कम्युनिस्ट आन्दोलनलाई नै ठूलो धक्का पर्ने भन्दै बरू समय लिएर सहमति नै खोज्नुपर्ने निष्कर्षमा पुगेको थियो ।
दुईअध्यक्षबीच के सहमति भयो भन्ने विषय बाहिर आइसकेको छैन तर ओलीको राजीनामा लाई बटमलाइन मान्दै आएको प्रचण्ड(नेपाल समूह गत मङ्सिर ४ गते दुई अध्यक्षबीच भएको कार्यविभाजनलाई थप व्याख्या गरेर अघि जान सहमत भएको विभिन्न स्रोतहरूले दाबी गरेका छन् ।
अध्यक्षद्वयका हिजो र आजका वक्तव्यहरू दुर्घटना टार्ने खालको भएको भन्दै नेकपाका कतिपय स्थायी कमिटी सदस्यहरू खुसी भएका छन् । पार्टी विभाजनतिर नलैजान खबरदारी गरिरहेका एक स्थायी कमिटी सदस्यले भने, ‘हाम्रो मेहेनेतले रंग ल्याएको छ । पार्टी विभाजन तत्कालका लागि टर्यो भन्दा हुन्छ ।’

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •