प्रतिपक्षीले छलफलमा भाग नलिएपनि सुदूरपश्चिमको बजेट पारित
२४ असार (धनगढी)
बिपक्षी दलका सांसदहरुको नाराबाजीसहितको विरोधलाई वेवास्ता गर्दै बुधबार सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक २०७७/०७८ का लागि प्रस्तुत बजेट पारित गरेको छ । प्रतिपक्षी दलहरु नेपाली कांग्रेस र राजपाका सांसदहरु बजेटमाथिको छलफलमा सहभागी भएनन् । आगामी बर्षका लागि ३३ अर्ब बढिकाे बजेट छ ।
बजेट पारित गर्ने क्रममा प्रकृया पुरा गर्नका लागि बुधबार एकै दनि तीन वटा बैठक सञ्चालन गरिएका थिए । ती बैठकमा प्रतिपक्षी सांसदहरुले अघिल्ला दि नझै भ्रष्ट्राचारी सरकार मुर्दावाद, अधिनायकवादी सरकार मुर्दावाद, कोरोनाको खर्च सार्वजनिक गरलगायतका नारावाजी गरेका थिए । नारावाजीकैबीच आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले प्रस्तुत गरेको ०७७÷०७८ को राजश्व र व्ययको अनुमान बजेट र ०७७/०७८ को सेवा र कार्यको लागि प्रदेश संचित कोषबाट केही रकम खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्ने सम्बन्धि विधेयकसमेत सामान्य छलफलपछि पारित भएको हो । प्रतिपक्षी दलहरुले सरकारद्धारा कोरोना रोकथाम र नियन्त्रणमा ठोस कार्य गर्न नसकेको भन्दै सुरुदेखि नै अवरोध जारी राखेका थिए । विरोध नरोकिएपछि सरकारले बजेटमाथिको सामान्य छलफल तथा प्रकृया मात्र पुरा गरेर बजेट पारित गरेको हो ।